भद्रपुरका मेयरका हातमा अब मुसा छैनन् !

 असोज ९, २०७५ मंगलबार १२:३४:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – झापाको भद्रपुर नगरपालिकाको फेसबुक पेजमा सार्वजनिक गरिएको सूचना अनुसार भद्रपुरका मेयरका हातमा अब मुसा छैनन् । मेयरका हातमा आएका मुसा शल्यक्रिया गरेर हटाइएको नगरपालिकाले जनाएको हो । फेसबुक पेजमा मेयरका हातका मुसाको शल्यक्रिया मेची अञ्चल अस्पतालका डाक्टर रामबाबु खड्का र डाक्टर दीपक सिंहको टिमले गरेको हो ।  

पछिल्लो समय स्थानीय तहले आफ्ना कामकारबाहीलाई फेसबुक र ट्विटरमार्फत सार्वजनिक गर्ने गरेका छन् । तर भद्रपुर नगरपालिकाले भने मेयरका हातमा पलाएको मुसा हटाइएको खबरलाई प्राथमिकताका साथ सार्वजनिक गरेको छ । 

यो खबर भद्रपुर नगरपालिकाकै आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न खालका टिप्पणी आएका छन् । 

पत्रकार राजेन्द्र दाहाल ट्विटरमा टिप्पणी गर्नुहुन्छ, ‘मेयरको हातमा पलाएका मुसा काटेर फालेकोमा नगरपालिकाको यत्रो विज्ञप्ति ? यो चाकरी हेर्दा त संघीयताले गाउँ गाउँमा सिंहदरबार होइन नारायणहिटी दरबार चाहिँ पुर्याएको भान हुन्छ ।’

दाहालले सरकारले गाउँगाउँमा सिंहदरबार  होइन, नारायणहिटी पुर्याएको महसुस हुन लागेको टिप्पणी गर्नुभएको छ । त्यस्तै लेखक रामेश व्यङ्ग्य गर्दै लेख्नुहुन्छ, ‘मेरो नगरपालिकाले औपचारिक रुपमै जानकारी दिएअनुसार अब मेरा मेयरका मुसा छैनन् । तपाईँका मेयरका नि?’

त्यस्तै लेखक केदार शर्मा भन्नुहुन्छ, ‘महिनाको सर्वश्रेष्ठ टिप्पणी,गाउँगाउँमा नारायणहिटी ।’

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया