बिस्कुट किन्न पसल गएकी १० वर्षीया बालिकाको हत्या

 असोज ९, २०७५ मंगलबार १६:९:११ | उज्यालो सहकर्मी

कास्की – पोखरा महानरगपालिका–२२, पुम्दीभुम्दीको कोदी भन्ने स्थानमा एक बालिकाको हत्या भएको छ । सोमबार साँझ ६ बजेदेखि हराएकी १० वर्षीया श्रेया बिकको हत्या भएको हो । 

आफन्तले रातिसम्म खोजी गर्दा नभेटिएकोमा मंगलबार बिहान ८ बजे श्रेया मृत अवस्थामा भेटिएकी हुन् । 

स्थानीयका अनुसार बिस्कुट किन्न भनेर पसलतिर गएकी श्रेयाको शव, मामा घरबाट पसल जाने बाटोमा पर्ने खोल्सा छेउको झाडीमा घोप्टो परेको अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । 

बालिकाको निधारमा ढुंगाले हानेर हत्या गरिएको देखिएको छ । शवको छेउमै रगत लागेको ढुंगा पनि भेटिएको प्रहरीले जनाएको छ । तलको कपडा खोलिएको र माथिल्लो भागको कपडा घाँटीसम्मै सोहोरिएको छ । 

बाबुले दोस्रो बिहे गरेपछि उनी आमासँगै मामाघरमा बस्दै आएकी थिइन् । श्रेया स्थानीय लीला आधारभूत विद्यालयमा कक्षा ३ मा पढ्दै आएकी थिइन् ।

स्थानीयले खबर गर्नेबित्तिकै प्रहरी घटनास्थल पुगेको प्रहरीले शव पोष्टमार्टमका लागि अस्पताल ल्याएको छ । वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी नवीन कार्कीले हत्या भएको देखिए पनि अरु कुरा पोष्टमार्टम रिपोर्टपछि नै थाहा हुने बताउनुभयो । 

स्थानीयले बालिकाको बलात्कार गरेर हत्या गरेको हुनसक्ने अनुमान गरेका छन् । 

हत्यारालाई तुरुन्त पक्राउ गर्नुपर्ने र पोष्टमार्टमका लागि शव लैजान नदिन भन्दै स्थानीयले धेरैबेर प्रहरीलाई शव उठाउन समेत दिएको थिएन । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया