बुढीगण्डकी आयोजना चिनियाँ कम्पनीलाई दिन बाध्य छैनौं : उर्जा मन्त्री पुन

 असोज ९, २०७५ मंगलबार १८:८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई दिने सरकारको निर्णयबाट पछि हट्न सकिने संकेत गर्नु भएको छ ।

राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनी गेजुवालाई निर्माण गर्न दिने निर्णयको चर्को आलोचना भइरहेका बेला उहाँले त्यो निर्णयबाट सरकार पछि हट्न सक्ने बताउनुभएको हो ।

मंगलबार प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री पुनले बुढीगण्डकी जलविद्युत आयोजना विदेशी कम्पनीलाई दिनु नेपालको बाध्यता भएको स्मरण गराउनुभयो ।

उहाँले राष्ट्रहित प्रतिकूल हुने गरी कुनै काम गर्न परे सरकार बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई दिने निर्णय मान्न बाध्य नहुने पनि स्पष्ट पार्नुभयो ।

मन्त्री पुनले सरकारले आफ्नो स्रोत र साधनले धान्न नसक्ने परियोजनामा मात्रै विदेशी ऋण लिने नीति लिएको पनि समितिलाई जानकारी दिनुभयो । सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माणका लागि चिनियाँ कम्पनी गेजुवालाई २ खर्ब ६३ अर्बमा ठेक्का दिने निर्णय गरेको थियो ।

मन्त्री पुनले आयोजनामा राष्ट्रिय हित विपरितका गतिविधि हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया