कुलमान घिसिङ पुगे कालिगण्डकी, कात्तिक १२ गतेसम्म जसरी पनि मर्मत सक्न निर्देशन

 असोज ९, २०७५ मंगलबार १८:३५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

स्याङ्जा – एक सय ४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रको विद्युत गृहमा रहेको इन्लेट भल्ब तथा युनिट २ को बृहत मर्मत सुरु भएको छ । 

नेपाल विद्युत प्राधिकरणको स्वामित्वको आयोजनामा डिजाइन त्रुटीका कारण भल्बमा समस्या देखिएपछि प्राधिकरणले आइतबारबाट विद्युत गृह पूर्ण रुपमा बन्द गरी मर्मत सुरु गरेको हो । भल्बबाट पानी चुहिने लगायतका समस्याबाट विद्युत गृहमा आउनसक्ने सम्भावित दुर्घटना टार्न र ठूलो विद्युत गृह हिउँदमा बन्द गर्नु पर्ने अवस्था आउन नदिन अहिले नै मर्मत सुरु गरिएको प्राधिकरणले जनाएको छ । 

डिजाइनमा त्रुटी देखिएपछि सामान निर्माता तथा आपूर्तिकर्ता जापानिज कम्पनी तोसिवाले मर्मत निःशुल्क गर्ने प्रतिबद्धता जनाएको थियो । कम्पनीले  निःशुल्क मर्मतका लागि दिएको अन्तिम पटकको म्याद १४ असोजमा सकिंदैछ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सञ्चालकहरु उमेशप्रसाद थानी, चन्द्र टण्डन, चेतराज जोशी तथा भक्तबहादुर पुनले विद्युत गृहको स्थलगत निरीक्षण गरी तोकिएको समयभन्दा अघि नै मर्मत सक्न निर्देशन दिनुभएको छ । ‘विद्युत गृह बन्द हुँदा अहिले दैनिक रुपमा करिब साढे तीन कराेड आम्दानी गुमाइरहेका छौं, एक दिन अगाडि काम सकियो भने त्यो आम्दानी नगुम्ने भएकाले सोही अनुसार काम गर्नुहोस्’, घिसिङले केन्द्र प्रमुख लगायत मर्मतमा संलग्न प्राविधिकलाई निर्देशन दिनुभयो । 

मर्मतमा तोसिवाका र प्राधिकरणका प्राविधिकहरु खटिएका छन् । केन्द्र प्रमुख राजेशकुमार पाण्डेयले तोकिएको समयभन्दा एक दिन भए पनि अगाडि सक्ने गरी काम भइरहेको जानकारी दिनुभयो । 

सोमबारबाट सुरु भएको मर्मत १२ कात्तिकभित्रमा सक्ने लक्ष्य राखिएको छ । केन्द्रमा ४८/४८ मेगावाटका तीन युनिट छन् । समस्यामा देखिएको भल्ब खोल्नका लागि बिहीबारसम्म केन्द्रबाट विद्युत उत्पादन बन्द हुने छ । त्यसपछि २५ दिनसम्म मर्मत गर्ने एक युनिट ४८ मेगावाट मात्रै बन्द रहने छ ।

युनिट २ को मर्मत सकिएपछि तीनवटै युनिट चलाउनका लागि सात दिन विद्युत उत्पादन पूर्ण रुपमा बन्द रहने प्राधिकरणले जनाएको छ । निर्माणका वेला भएको डिजाइन त्रुटीका कारण मर्मतका लागि ६ किलोमिटर सुरुङको पानी सुकाउनु बाध्यता छ । यसले पानी हटाउन र काम सकिएपछि सुरुङमा पानी भर्न समय लाग्दा मर्मतमा बढी समय लागेको हो । 

दसैँमा उद्योग कलकारखाना बन्द हुँदा विद्युतको माग काम हुने र अन्य विद्युत गृह पनि पूर्ण क्षमतामा चलाउन सकिने भएकाले अहिले मर्मतका लागि उपयुक्त समय भएको घिसिङले बताउनुभयो । ‘हिउँदमा विद्युतको माग बढी हुन्थ्यो, कालीगण्डकीबाट विद्युत आपूर्ति हुने नारायणघाट पश्चिम र पोखरा क्षेत्रमा १५ घण्टाभन्दा बढी लोडसेडिङ गर्नु पर्ने अवस्था आउनसक्थ्यो’, उहाँले भन्नुभयो । 

कालीगण्डकी अर्धजलाशययुक्त आयोजना भएकाले हिउँदमा बढी विद्युत माग हुने पिक समयमा पूर्ण क्षमतामा चलाउन सकिन्छ । 
 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया