विदेश जान हिँडेका ढकाल आधा बाटोबाटै फर्किए, भैंसी पालेर टन्न कमाई

 असोज १०, २०७५ बुधबार ९:५६:४० | मुना हमाल
unn.prixa.net

सुर्खेत – घर व्यवहार चलाउन समस्या भएपछि लेकवेशी नगरपालिका ९ खारखोलाका ४३ वर्षीय चुणामणि ढकालले १५ वर्षअघि विदेश जाने योजना बनाउनुभयो । आफूसँग हातमा केही सीप थिएन । पढाई लेखाई नभएकाले जागिर पाउने सम्भावना पनि भएन  । 

२०६० सालमा ढकालले कतारको लागि भिसा लगाउनुभयो । भिसा आयो पनि । परिवार र आफन्तसँग बिदा भएर विदेशको यात्रामा निस्कनुभयो । विदेश जाने प्रक्रियामा उहाँले विदेशबाट आएकाहरुलाई सोध्नुहुन्थ्यो, काम के गर्नुपर्छ, कस्तो ठाउँ छ भनेर । विदेशबाट फर्किएकाहरुले दुःख पाएको मात्र कुरा सुनाए । 

त्यतिबेलासम्म उहाँको करिब १ लाख रुपैयाँ खर्च भइसकेको थियो । विदेश जानका लागि मेनपावरले साढे ३ लाख खर्च चाहिन्छ भनेको थियो । पैसा अझै खोज्न बाँकी थियो । विदेशबाट फर्किएकाहरुको कुरा सुनेर उहाँको पाइला एकाएक रोकियो । दुःख त आफ्नै ठाउँमा गरे पनि हुन्छ भन्ने सोचले उहाँ नेपालगञ्जबाट घर फर्किनुभयो र व्यवसायिक भैंसी पालन सुरु गर्नुभयो ।

‘विदेश जाने भनेर घरबाट बिदा लिएर नेपालगञ्जसम्म पुगिसकेको थिए’ उहाँले भन्नुभयो, ‘पछि मन एक्कासी परिवर्तन भयो । विदेशमा पनि त्यसै पैसा आउँदैन भन्ने लाग्यो । विदेशमा पनि गएर दुःख गर्नुपर्छ भनेर आफ्नै ठाउँमा गर्दा पनि हुन्छ भन्ने सोचले घर फर्किएर आएँ । ’ 

विदेश हिँडेका श्रीमान बाटोबाटै घर फर्किएपछि पार्वती ढकाललाई पनि औधी खुशी लाग्यो । ‘छोराछोरीको बिचल्ली हुने भयो भनेर चिन्ता लागेको थियो, उहाँ आधा बाटोबाट फर्केपछि मैले भनेको जस्तै भयो । सबै एकै ठाउँमा बस्ने इच्छा पूरा भयो’ उहाँले भन्नुभयो, ‘अहिले राम्रो छ । ’

घर फर्किएपछि चुडामणिसँग लगानी गर्न ठूलो पूँजी थिएन् । १२ हजार र १५ हजार रुपैयाँ हालेर दुईवटा भैंसी किनेर पाल्न सुरु गर्नुभयो । सुरुमा उहाँले घरदेखि बोकेर नै दुध बेच्नका लागि वीरेन्द्रनगर बजार पुग्नुहुन्थ्यो । पहिला पहिला उहाँलाई अप्ठ्यारो लाग्थ्यो । ‘चिनेका मान्छेले के भन्नलान्, यसरी दुध बोकेर आएको छ भन्नेर केही भन्छन् कि भनेर सुरुमा चिनेका मान्छे देख्दा लुकीलुकी दुध बेच्न हिँड्थे’ उहाँले भन्नुभयो, ‘घरबाट सवा घण्टा लाग्थ्यो वीरेन्द्रनगर पुग्न । सुरुमा  २० लिटर जति  दुध बेच्थें । केही समयपछि सुरुमा साइकल किनेपछि मोटरसाइकल किनें । पछि दुध उत्पादन बढ्दै गयो । आम्दानी पनि राम्रो भयो । अहिले उहाँले २५ लाख रुपैयाँमा दुध बोक्ने गाडी किनेको छु ।’ 

अहिले उहाँ गाउँभरीको दुध संकलन गरेर बेच्नुहुन्छ । आफ्नै मात्र दैनिक ८० लिटर दुध हुन्छ ।  

उहाँ आफू मात्र रोजगार बन्नु भएको छैन । सँगै ४ जनालाई प्रत्यक्ष रुपमा रोजगारी समेत दिनुभएको छ । अप्रत्यक्ष रुमा करिब १० जनाले रोजगारी पाएका छन् । उहाँले अहिले वार्षिक १६ लाख रुपैयाँसम्म कमाउनुहुन्छ । उहाँसँग अहिले ७० लाख रुपैयाँसम्मको पूँजी छ । १४ भंैसी र १ वटा गाई छन् ।  दुध बेचेर उहाँले वीरेन्द्रनगरमा घडेरी समेत किन्नु भएको छ  ।

ढकाल आफ्नो व्यवसाय प्रति सन्तुष्ट हुनुहुन्छ । कहिलेकाहीँ आफैं गाडी चलाएर पनि वीरेन्द्रनगर दुध पु¥याउन पुग्नुहुन्छ । ‘विदेश गएको भए यति कमाई पनि हुँदैनथियो होला । परिवारको बिचल्ली हुन्थ्यो होला’उहाँले भन्नुभयो, ‘मैले बेलैमा होस पु¥याएर ठिक गरेको छु ।’ 

छोराछोरी काठमाडौंमा पढ्दै 

ढकाललका दुई छोरी र एक छोरा काठमाडौंमा पढ्दैछन् । आफूले पढ्न नपाएकोमा उहाँलाई ठूलो पछुतो छ । त्यसैले छोराछोरीलाई पढाएर उज्वल भविष्य बनाउने उहाँको सपना छ । ‘मलाई जागिर खान नपाएको भन्दा पनि पढ्न नपाएको ठूलो पछुतो छ’ उहाँले भन्नुुभयो, ‘छोराछोरी अझै पनि पढ्दै छन् । दुःख गरेर पनि पढाउँछौँ ।’ 

गाउँकै अगुवा किसान

ढकालले व्यवासाय सुरु गर्नुभन्दा पहिले गाउँमा कसैले पनि व्यवसायिक रुपमा भैंसी पाल्दैन थिए । अहिले धेरैले व्यसायिक रुपमा गाईभैंसी पाल्न थालेका छन् ।  गाउँका किसानको दुध ढकालकै गाडीले बोक्छ । 


गाउँका यामप्रसाद आचार्यले ढकालकै प्रेरणाले गाई फर्म खोलेर  पाल्न सुरु गरेको बताउनुभयो । ‘मैले पनि व्यवसायिक रुपमा गाई पालन गर्न थालेको पाँच वर्ष भयो । कृषि पेशा नै गरेको समान्वय रुपमा उहाँले गरेको देखेपछि व्यवासायिक रुपमा पाल्न सुरु गरें′ उहाँले भन्नुभयो । 

सामाजिक काममा पनि उत्तिकै सक्रिय

ढकाल कृषि पेशासंगै गाउँघरमा हुने सामाजिक काममा पनि उत्तिकै सक्रिय हुनुहन्छ । उहाँको गाउँसम्म २०६४ सालसम्म बाटो पुगेको थिएन् । उहाँकै पहलमा उहाँको गाउँमा बाटो गयो । उहाँलाई गाउँमा पण्डित भनेर चिन्छन् । पण्डितले नै गराइदिएको बाटो भनेर भन्छन् । अहिले यो बाटो  दैलेख जोडिदैछ । 

नगरपालिकाले पनि यो बाटोमा चासो देखाएको छ । सडक बनाउँदा उहाँ आफैं अध्यक्ष बन्नुुभयो । अहिले पनि उहाँ नै अध्यक्ष हुनुहुन्छ । बाटो बिग्रियो भनेर मर्मत सुधार गर्न उहाँ आफै अघि सर्नुहुन्छ । 

स्कुल बनाउने सपना

ढकालले आफू एउटा अगुवा किसान बन्ने सपना पूरा गरिसक्नु भएको छ । उहाँसँग अझै पनि धेरै सपना छन् । आफ्ना छोराछोरीलाई खुट्टामा उभ्भाएर व्यवस्थित स्कुल बनाउने उहाँको सपना छ ।

‘गाउँघरमा व्यवस्थित स्कुल छैनन् । विद्यालय बनाउने इच्छा हो । विद्यार्थीहरुलाई सहज रुपमा पढ्ने वातावरण गराउने विद्यालय बनाउनेछ’ उहाँले भन्नुभयो, ‘पहिला छोराछोरीलाई पढाएर उनीहरुको भविष्य बनाउँछु ।’ 

अन्तिम अपडेट: बैशाख ७, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया