करण जोहरको चर्चित शो ‘कफी विथ करण’ को नयाँ सिजन सुरु हुँदै, पाहुनाको चर्चा

 असोज १०, २०७५ बुधबार ११:१५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

करण जोहरको चर्चित शो ‘कफी विथ करण’ को नयाँ सिजन छिट्टै नै सुरु हुन लागेको छ । करण जोहर यस शोका लागि निकै मेहनतका साथ तयारी गरिरहेका छन् । यस पटकको शोमा आउन लागेका पाहुनाहरुको पनि यति बेला चर्चा हुन लागेको छ ।

शोमा यस पटक स्टार किडहरुलाई पनि बोलाउने कुराको निकै चर्चा भइरहेको छ । शाहरुख खानकी छोरी सुहाना खान पनि यस शोमार्फत दर्शक माझ आउने चर्चा भइरहेको छ भने केही समय अघिमात्रै बैवाहिक जीवन सुरु गरेका अनुष्का शर्मा र विराट कोहली आउने कुराको पनि चर्चा भइरहेको छ । 

यसैबीच यस शोको विशेष पाहुनाको रुपमा एक अर्को जोडीको नाम पनि आएको छ । खबरहरुका अनुसार बोनी कपूरका छोरा अर्जुन कपूर र जान्हवी कपूर यस शोमा एक साथ उपस्थित हुने कुरा सार्वजनिक भएको छ । अर्जुन र जान्हवी सौतेला दाइ बहिनी हुन् । अर्जुन बोनी कपूरकी जेठी श्रीमती मोनाका जेठा छोरा हुन् भने जान्हवी श्रीदेवी र बोनी कपूरकी छोरी हुन् ।

बोनी कपूरले श्रीदेवीका साथ विवाह गरेपछि आमाका साथ छुट्टै बस्न थालेका अर्जुन र श्रीदेवीको परिवार कहिले पनि एक साथ देखिएको थिएन । दुवै परिवार बीचको सम्बन्ध बिग्रिएको थियो । तर श्रीदेवीको अचानक निधन भएपछि अर्जुन कपूरले सबै कुरा बिर्सिएर बहिनीहरु जान्हवी र खुशीलाई साथ दिँदै आइरहेका छन् । 

जान्हवी कपूरको बलिउड डेब्यूदेखि लिएर जान्हवीको हरेक कुरामा अर्जुनले एक जिम्मेवार दाइको रुपमा साथ दिँदै आइरहेका छन् । जान्हवी कपूर पनि अर्जुनलाई जेठो दाइको रुपमा माया र सम्मान दिन कुनै मौका छुटाउँदिनन् । तसर्थ यस पटकको करण जोहरको शो ‘कफि विद करण’ मा जान्हवी र अर्जुनको उपस्थिति निकै बिशेष बन्नेछ । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया