विदेशमा पढाई, स्वदेशमा उद्यम: अर्जुन भन्छन्, ‘विदेशको कमाई भलपानी न हो’

 असोज १०, २०७५ बुधबार १४:३०:८ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – २०६५ सालमा होटल म्यानेजमेन्ट पढ्न साइप्रस हानिनुभयो, राइनास नगरपालिका–८, तार्कुघाटका अर्जुन रानाभाट ।

स्नातक तहसम्मको पढाई उतैबाट पूरा गर्नुभयो उहाँले, होटल म्यानेजमेन्टमा । स्नातक सम्मको पढाई पूरा गरेपछि उहाँले चाहेको भए उतै काम गर्न सक्नुहुन्थ्यो । राम्रो कमाई पनि गर्न सक्नुहुन्थ्यो । तर उहाँले विदेशमा काम गर्नुभएन । विदेशमा आर्जन गरेको ज्ञान, सीप देशकै माटोमा पोख्नुपर्छ भनी २०७० सालमा उहाँ स्वेदश फिर्ता हुनुभयो । 

‘विदेशको कमाई भलपानी न हो । उमेर भइञ्जेल विदेशमा घोटियो । पछि आफ्नै देश फर्कनुपर्छ । आफ्नो जोसजाँगर, रगतपसिना देशकै माटोमा बगाउनुपर्छ भन्ने सोचका साथ स्वदेश फर्किएँ । यतै केही उद्यम गर्ने लक्ष्य राखेँ’, अर्जुनले भन्नुभयो ।   

विदेशबाट फर्केपछि केही समय उहाँले काठमाडौंको एक रिसोर्टमा काम पनि गर्नुभयो । हातमा सीप छ । मनमा जोस जाँगर । आफ्नै लगानीमा किन केही नगर्ने ? उहाँको मनमा कुरा खेल्यो । त्यसपछि, उहाँले तार्कुघाटमै ‘आमाको भान्छाघर’ चलाउनुभयो । व्यवसाय राम्रै चल्यो पनि ।  

२५ लाखको लगानीमा ग्रीनफिल्ड कटेज सञ्चालन   

यतिमै उहाँको चित्त बुझेन । त्यसैले अहिले ठूलै लगानीमा ‘ग्रीनफिल्ड कटेज’ सञ्चालनमा ल्याउनुभएको छ । उहाँले असोज ६ गतेबाट कटेज सञ्चालनमा ल्याउनुभएको हो । उहाँको ग्रीनफिल्ड कटेज बेसीशहर–डुम्रे सडकखण्डको आडैमा पर्ने तनहुँको भानु नगरपालिका–१०, रोयलवे भन्ने ठाउँमा छ । 
उहाँले २५ लाख बढीको लगानीमा ग्रीनफिल्ड कटेज सञ्चालनमा ल्याउनुभएको हो । ‘सुरुकै चरणमा २५ लाख बढी लगानी भइसकेको छ । अहिले सुरुवातकै चरणमा छु । बिस्तारै थप सेवासुविधाका साथ यो व्यवसायलाई अघि बढाउँदै लैजाने योजनामा छु’, आफ्नै ग्रीनफिल्ड कटेजमा भेटिनुभएका अर्जुनले हँसिलो अनुहार पार्दै आफ्नो योजना सुनाउनुभयो ।   

चार रोपनी जग्गामा व्यवसाय     

४ रोपनी जग्गामा १० वर्षका लागि भाडामा लिई उहाँले व्यवसाय सुरु गर्नुभएको हो । ‘जग्गाको मासिक भाडा ३ हजार रुपैयाँ छ । १० वर्षको लागि ४ रोपनी जग्गा भाडामा लिएको छु’, उहाँले भन्नुभयो । तल सुसाउँदै बगेको मस्र्याङ्दी । माथि जंगल । बीचैमा सडक । निकै शान्त, मनोरम वातावरणमा रहेको छ, उहाँको कटेज । 
आफ्नै लगानीमै स्वेदशमै उद्यम गर्न पाउँदा उहाँलाई निकै खुसी मिलेको छ । 
‘चाहेको भए विदेश जान सक्थेँ । सायद कमाई पनि राम्रै हुन्थ्यो होला । तर विदेश गइनँ । परिवारकै साथमा बसी स्वेदशमै आफ्नै लगानीमा व्यावसाय गरेँ । यसमा म निकै खुशी छु’, उहाँले खुशी व्यक्त गर्नुभयो । 


उहाँले चार वटा कटेज निर्माण गर्नुभएको छ । किचन र एउटा सेमिनार हल बनाउनुभएको छ । पार्किङस्थल पनि बनाउनुभएको छ । निकट भविष्यमै पाहुना घर समेत बनाउने उहाँको योजना छ । 

मासिक डेढ लाख कमाई हुने आशा  

   

सुरुवातकै चरणमा मासिक झण्डै डेढ लाख कमाई हुने उहाँको आशा छ । ‘२५ लाख लगानी भइसकेको छ । मासिक झण्डै डेढ लाख आम्दानी होला की भन्ने आशा छ’, उहाँले मासिक आम्दानी अड्कल गर्नुभयो ।  

उहाँका अनुसार आफ्नो कटेजबाट ग्राहकले हाँसको छोइला, बट्टाई चराको मासुको विभिन्न परिकारको समेत स्वाद लिन पाउनेछन् । कटेज परिसरमै उहाँले पोखरी बनाई हाँस पाल्नुभएको छ । खोर बनाई बट्टाई चरा समेत पाल्नुभएको छ ।         

घरपरिवारको साथ  

उहाँको एकल चाहनाले मात्र व्यावसाय सुरु भएको होइन । बुबाआमासँगै श्रीमतीको पनि साथसहयोग मिलेको छ’, ३१ वर्षे अर्जुनलाई । अर्जुनकी श्रीमती अनिता गिरी पेशाले सरकारी स्टाफ नर्स हुनुहुन्छ । 

अर्जुनको आमाले तार्कुघाटमै रहेको ‘आमाको भान्छाघर’ सम्हाल्नुभएको छ । छोराले आफ्नै काखापोल्टामा बसी गाउँघरमै उद्यम गरेकोमा अर्जुनका बुबाआमा निकै खुसी हुनुहुन्छ ।      

‘छोरा अर्जुनले गाउँघरमै बसी उद्यम गरेको छ । ऊ पक्कै सफल हुन्छ भन्नेमा म ढुक्क छु । विदेश जान पनि आखिर खर्च भइहाल्छ । त्यो पैसा बरु देशमै लगानी गर्न सके राम्रो हुन्छ जस्तो मलाई लाग्छ । छोराको उद्यममा हामी खुसी छौँ’, अर्जुनका बुवा रामबहादुर राभानाटले भन्नुभयो ।  
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया