दश वर्षीया बालिका बलात्कारपछि हत्याका अाराेपी सार्वजनिक

 असोज १०, २०७५ बुधबार १५:४३:३५ | सुमन गुरुङ
unn.prixa.net

कास्की - पोखरा २२ पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रेया सुनारको बलात्कारपछि हत्या गर्ने कुसुम पौडेल पक्राउ परेका छन् । 

घटनाको २४ घण्टाभित्रै कास्की प्रहरीले मंगलबार राति ११ बजे २७ वर्षीय कुसुम पौडललाई पक्राउ गरेको हो । 

पक्राउ परेका उनलाई बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीको कार्यालयमै पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । उनी श्रेयाका छिमेकी हुन् । 

बालिका हत्यामा संलग्न रहेको आंशकामा प्रहरीले कुसुमसहित पाँच जनालाई पक्राउ गरेकोमा पौडेलमात्र दोषी देखिएको कास्की प्रहरीका प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिनुभयो ।

पौडेलले घटनामा आफू संलग्न भएको स्वीकार गरिसकेका छन् । उनले रक्सी र गाँजाको सुरमा यस्तो काम भएको बयान दिएका छन् । घरमा श्रीमती र छोरा रहेका कुसुम बुबा आमासँग छुट्टै बस्दै आएका थिए । उनी मलेसिया र कतारमा काम गरेर फर्केपछि डेढ वर्ष अघिदेखि घरमै थिए ।

कन्स्ट्रक्शन लेबरमा काम गर्ने उनले श्रीमतीले छोराको पढाई खर्चका लागि ऋण मार्फत जोहो गरेको ५० हजार भन्दा बढी पैसा लिएर हिँडेकोमा तीन साता अघि मात्रै घर फर्केका थिए । उनलाई कानुन अनुसार कार्बाही हुने कास्की प्रहरी प्रमुख एसपी ओम रानाले बताउनुभयो । 

सोमबार साँझ ६ बजे घरदेखि ५ मिनेटको दूरीमा पर्ने पसलमा ५ रुपैयाँ बोकेर बिस्कुट लिन गएकी श्रेया मंगलबार बिहान ८ बजे घर र पसलबीचको कोदीको झाडीमा मृत भेटिएकी थिईन् । बालिकाको शव रगताम्मे अवस्थामा भेटिएपछि प्रहरीले हत्याराको खोजी गर्न तालिम प्राप्त कुकुर परिचालन गरेकोमा कुकुर शव भेटिएको एक सय मिटर पर पुगेर अल्मलिएको थियो ।

त्यसैले प्रहरीले छिमेकी नै संलग्न भएको निचोडमा पुगेर खोजी तीव्र पारेको थियो । घटनास्थलबाट श्रेयाको मामाघर २ मिनेट जति र अभियुक्त पौडेलको घर ५ मिनेट दुरीमा पर्दछ ।

मामाघर नै बसेर स्थानीय लीला आधारभूत माविमा ३ कक्षामा पढ्ने श्रेया मंगलबार स्कुलबाट आएपछि हजुरआमासँग ५ रुपैयाँ मागेर पसल गएकी थिईन् । टिभी हेरेर बस भनेर मामा र हजुरआमा घाँस काट्न गएपछि पसल हिँडेकी श्रेया घाँस काटेर घर आउँदा नदेखेपछि हजुरआमा, मामा लगायत छिमेकीले खोजी गरेका थिए । 

झाडीमा माथिको कपडा घाँटीसम्म सोहोरिएको, तल घुँडामुनि सुरुवाल झरेको अर्धनग्न अवस्थामा भेटिएकी श्रेयाको बलात्कारपछि नै हत्या भएको भन्दै स्थानीयले मंगलबार नै प्रहरीसमक्ष दोषीलाई कार्बाही गर्नुपर्ने तथा घटनामा संलग्नलाई ढाकछोप नगर्न अनुरोध गरेका थिए ।

कञ्चनपुरको जस्तो घटना दोहोरिने भन्दै शव पोखरा झार्न नदिएका स्थानीयले चिनेकै चिकित्सक समावेश गरी स्थानीयको रोहवरमा पोष्टमार्टम हुनुपर्ने शर्तमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव ल्याउन दिएका थिए । चिकित्सकले बलात्कार भएको घटनास्थलमै स्थानीयलाई बताएका थिए । पोष्टमार्टम रिर्पोट भने आउन बाँकी नै छ । 

श्रेयाकी आमा बेली विक बिरामी छन् । लामो समय अस्पताल बसेकी बेली पूर्ण रुपमा स्वस्थ्य नहुँदै फेरि अर्काे बज्रपात बेहोर्नु परेको छ ।

श्रेयाका आमाछोरीलाई छोडेर कान्छी श्रीमती भित्र्याएका श्रेयाका बाबुले उनीहरुलाई वास्ता गर्न छोडेको धेरै भइसकेको छ । श्रीमानको हेपाई सहन नसकेर बेलीले छोरी श्रेयालाई साथमै लिएर माइत बस्दै आएकी थिइन् ।

यसैबीच श्रेया सुनारको बलात्कारपछि हत्या भएको भन्दै स्थानीयले बृहत जुलुससहित विरोध जनाएका छन् । पुम्दीभुम्दीको कोदीबाट निस्किएको जुलुुुस जिल्ला प्रहरी कार्यालय कास्की आइपुगेको थियो ।

उनीहरुले हत्यारालाई कारबाहीको माग गरेका छन् भने महिला हिंसा अन्त्यका लागि दवावमुलक नाराबाजी गरेका छन् । 

साथै हत्यारा उम्कन नदिन स्थानीय बासिन्दाले दबाब समूह पनि गठन गरेका छन् । अपराधीलाई कानुनी कठघरामा ल्याउन दबाब दिन बालिकाका ठुलोबुबा मिनबहादुर बिकको संयोजकत्वमा २१ सदस्यीय शान्तिपूर्ण दबाब समूह गठन गरिएको हो ।

समूहमा स्थानीय आमा समूह, क्लब, टोलसुधार समितिका प्रतिनिधि रहेका छन् ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया