नेकपाकै सांसद भन्छन् : तिम्रा घरमा कम्युनिष्ट पसोस् भन्दै सराप्ने दिन नआओस्

 असोज १०, २०७५ बुधबार १६:२३:२१ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाडौं –भ्रष्टाचार, महंगी, बलात्कार हत्या हिंसालगायतका घटना बढेको भन्दै विपक्षी मात्र होइन, सत्ताधारी दलले नै सरकारको विरोध गर्न थालेका छन् ।

खासगरी दसैं तिहार जस्ता ठूला चाडबाडको मुखमा सरकारले यातायातको भाडा बढाएको, पेट्रोलियम पदार्थको भाडा बढाएको, सिन्डिकेट हटाएको मात्रै नाटक गरेको, बजारमा मनलाग्दी भाउ हुँदा पनि नियन्त्रण गर्न नसकेको, व्यापारीले सरकार चलाएको लगायतका आरोप सत्ताधारी सांसदले नै लगाउन थालेका छन् । 

बुधबारको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा नेकपाका सांसदहरुले नै सरकारले महंगी मात्रै उपहार दिएको भन्दै आपत्ति जनाएका हुन् । बैठकमा बोल्दै नेकपाका सांसद रामवीर मानन्धरले अब जनताका घरमा कम्युनिष्ट पसोस् भनेर श्राप दिने दिन नआओस् भन्ने कामना गरेको बताउनुभयो । उहाँले बैठकमा उपस्थित मन्त्री मातृका यादवको अघि नै २ तिहाइको सरकार भए पनि नागरिकले त्यसको कुनै अनुभव गर्न नसकेको आरोप लगाउनुभयो । 

यसलाई अन्यथा नलिनुहोला भन्दै सांसद मानन्धरले भन्नुभयो, ‘कुनै बेला धादिङतिर खुकुरी दलले आतंक मच्याएको रहेछ, खाली आतंक मच्याउने  र नागरिकलाई महंगी मात्रै बढाउने गरेछ, कांग्रेसले साह्रै दुःख दिएको भएर अहिले पनि त्यो ठाउँमा बुढापुरानाले तेरो घरमा कांग्रेस पसोस् भन्ने श्राप दिन्छन्, ४ जना सांसद बाहेक अरु जम्मै कांग्रेसका सांसद रहेछन्, तर सरकारले केही गरेनछ, त्यसरी नै अहिले कम्युनिष्टले जितेको छ तर महंगी अत्ति भएको छ, भोलि जनताले तेरो घरमा कांग्रेस होइन कम्युनिष्ट पसोस् भनेर सराप्छन ।’

उहाँले सरकारले चिनी आयात रोकेर नागरिकलाई ७२ रुपैयाँ किलो चिनी किन्न बाध्य पारेको भन्दै सांसद मानन्धरले कि सस्तोमा स्वदेशी चिनी बेच्नुपर्ने नत्र चिनी आयात खुला गर्नुपर्ने बताउनुभयो । 

बजार छोइसक्नु छैन, कसरी बाँच्ने हो ?

बैठकमा सांसदहरुले सरकारको उपस्थिति कतै पनि नदेखिएकाले भन्दै बजारमा देखिने गरी हस्तक्षेप गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । नेकपाकी सांसद दिल कुमारीले रातारात खाद्यान्न र तरकारीको भाउ बढेको भन्दै सरकारको आलोचना गर्नुभयो । 

‘चाडबाड आउँदा सधैंभरि यस्तै हुन्छ, अस्तिसम्म १ सय ८० रुपैयाँ ढक रहेको आलु अहिले २ सय ८० पुग्न थाल्यो के तपाईँहरुको अनुगमन यही हो ?’ सांसद दिलकुमारीले प्रश्न गर्नुभयो, ‘बजार अनुमगन गरेको भए यस्तै हुन्थ्यो ?’

बैठकमा कांग्रेसका सांसद प्रकाश रसाइली स्नेहीले सरकारले अनुगमन गरेको भने पनि अनुगमनअघि नै अनुगमनमा आउँदैछौँ भनेर मन्त्रालयका कर्मचारीले नै सूचना दिने गरेको आरोप लगाउनुभयो । 

देशमा शासक कमजोर भए, नागरिकलाई दुर्भाग्य भयो

बुधबारको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा एकजना सांसदले पनि सरकारले राम्रो काम गरेको भनेनन् । २४ जना सांसद सदस्य रहेको उद्योग समितिमा १५ जना नेकपामा सांसद छन्, तर उनीहरु सबैले सरकारको आलोचना गरे, प्रतिपक्षीले त झन नगर्ने कुरै भएन । 

बैठकमा राजपाकी सांसद अमृतादेवी अग्रहरीले देशमा सरकार हुँदा सुख पाउनुपर्नेमा नेपालका नागरिकले भने उल्टै दुख पाएको बताउनुभयो । 

‘यो देशमा के–के भैरहेको छ, मन्त्रीलाई नै थाहा छैन, जब शासक कमजोर हुन्छ नि तब नागरिकलाई ठूलो दुर्भाग्य हुन्छ, मैले त शासक कमजोर भएमा प्रशासक कमजोर हुन्छ भन्ने सोचेकी थिएँ तर यहाँ शासक कमजोर छन्, कर्मचारी बलिया छन्, उनैको मनोमानी चलेको छ’, अग्रहरीले भन्नुभयो ।

अहिले बजारमा कालोबजारी र कृतिम मूल्यवृद्धि भैरहेको भन्दै सांसद अग्रहरीले भन्नुभयो, ‘जता गए पनि बिचौलिया छन्, करैकर छ, तर यहाँ त न देश धनी भएको छ, न जनता धनी भएका छन्, यहाँ त व्यापारी मात्रै मोटाएका छन् ।’

हाम्रा पेट्रोलका खानी किन नखन्ने ?

उद्योग समितिको बैठकमा सांसदहरुले सरकारले समस्या पर्दा मात्रै विभिन्न विकासका मुद्दा उठाउने तर समस्या एकपटकलाई समाधान भएपछि अर्कोपटक समस्या आउँदैन भन्दै ढुक्क भएर बसेको आरोप लगाएका छन् । ‘हाम्रो देशमा पनि पेट्रोलका खानी छन् भन्ने सुनिएको छ, आजसम्म किन उत्खनन भएनन् त ? विदेशीले नखन्दिएसम्म हामीले चाहिँ केही गर्न नसक्ने हो ?’, सांसद दूर्गाकुमारी विश्वकर्माले भन्नुभयो, ‘विदेशीले नगरेसम्म हाम्रोमा केही नहुने के हो यस्तो, अलि अलि त हामीले पनि प्रयास गनुपर्‍यो नि ।’

अन्तिम अपडेट: बैशाख ६, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया