‘प्रधानमन्त्रीले श्री ३ को शैलीमा चाइना गेजुवा कम्पनीलाई बुढीगण्डकी आयोजना बनाउन हुकुम गरिबक्सियो’

 असोज १०, २०७५ बुधबार १७:४०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सांसदहरुले निर्मला पन्त हत्या, निजगढ विमानस्थल निर्माण, बुढीगण्डकी आयोजना बनाउन चिनियाँ कम्पनीलाई दिने सरकारी निर्णयलगायतका विषयमा सांसदले आवाज उठाएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सांसद गगन थापाले चाइना गेजुवा ग्रुप कम्पनीलाई बुढीगण्डकी आयोजना बनाउन दिने सरकारको निर्णयप्रति गम्भिर आपत्ति जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले श्री ३ को शैलीमा चाइना गेजुवा कम्पनीलाई बुढीगण्डकी आयोजना बनाउन हुकुम गरिबक्स्यो र प्रधानमन्त्रीको हुकुमलाई शिरोधार्य गर्दै तामेली गर्न तालुकवाला मन्त्रालय र मन्त्री बाध्य हुन्छ । हाम्रो पनि त्यस्तै अनुभव रह्यो ।  सभामुख महोदय, के सदन पनि प्रधानमन्त्रीको हुकुमको छाँया हुन सक्छ ?’

विगतमा बुढीगण्डकी आयोजना निर्माणको जिम्मा दिने सम्बन्धमा भएका निर्णयको स्मरण गराउँदै उहाँले सरकारले विधि र विधान तथा सुशासनको उलंघन मात्रै नभइ सदनलाई पनि हेप्ने काम गरेको दाबी गर्नुभयो ।

सांसद विरोध खतिवडाले निजगढ विमानस्थल निर्माणको नाममा पूर्वाधार बिना नै रुख कट्न गर्न हतार गरिएको भन्दै गम्भिर आपत्ति जनाउनुभयो । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको डीपीआर तयार नहुँदै, निर्माण लागत, खर्च कसले व्यहोर्ने टुंगो नभई रुख काट्न सरकारलाई हतार भएको खतिवडाले आरोप लगाउनुभयो ।

‘दौरा न सौराको खल्ती भनेको यही हो । रुख चाहिँ अहिले काटेर बेचिहाल्ने’, खतिवडाले भन्नुभयो, ‘अहिलेको आधुनिक युगमा सबैसँग सम्झौता गर्नुहोस् दुई महिनामा ती सग्ला रुखहरु त्यहाँबाट हटाइदिन म सक्छु । लाज भन्ने कुरो हुँदैन अलिकति ?, शरम हुँदैन ?, दिन दहाडै डाँकागिरि ?, म खबरदारी गर्छु । सम्झौता र लगानीकर्ताकोे अन्तिम टुंगो नहुन्जेल र डीपीआर तयार नहुन्जेल जसले त्यो रुखमा हात हाल्छ त्यो हत्यारा ठहर्छ ।’

उहाँले निर्मला पन्तको हत्या छानबिन गर्न आयोगको प्रतिवेदन आउनुपर्छ भन्नु लज्जास्पद भएको भन्दै गम्भिर आपत्ति जनाउनुभयो । ‘हरेक घटनामा आयोग बनाउनुपर्छ भने राज्यको स्थायी संयन्त्रलाई तलब खुवाएर किन पालेको ?’, सांसद खतिवडाले भन्नुभयो, ‘मुख देखाएर हिँड्न लाज हुने अवस्था श्रृजना भयो ।’  
चिनी माफियाले उखु किसानको पैसा भुक्तानी गर्ने नाममा चिनी आयात रोकेर खुलमखुला चिनीमा कालोबजारी गरेको भन्दै त्यसतर्फ सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।

सांसद प्रेम सुवालले पुराना र नयाँ आवास क्षेत्रमा ठूला सवारी साधन सञ्चालन बन्द गर्न र राजमार्गको दायाँबायाँमा बजार विकास नगर्न तथा संसद अधिवेशन टुंग्याएर कुनै पनि अध्यादेश ल्याउने निरंकुश काम नगर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । रक्सी–जाँडका कारण महिला हिंसाको घटना बढेको बताउने सरकारले रक्सी–जाँड पसल खोल्न किन दिएको भन्दै सांसद सुवालले प्रश्न गर्नुभयो ।

सांसद अमरेशकुमार सिंहले वर्तमान सरकारको नेतृत्वसँगै मुलुकभर हत्या हिंसाका घटनामा वृद्धि भएको र सुशासनको नाममा भ्रष्टाचार बढेको दाबी गर्नुभयो ।
विमानस्थल निर्माणको नाममा ठूलो क्षेत्रफलको महत्वपूर्ण जंगल फडानी गर्न लागिएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । उहाँले डाक्टर गोविन्द केसीसँगको सहमति अनुसार सरकारले चिकित्साशास्त्र विधेयक नल्याएको भन्दै आपत्ति जनाउनुभयो ।

सांसद सिंहले मुलुकभरका हत्या हिंसाको घटनको यथार्थ छानबिन गर्न संसदीय छानबिन समिति गठन हुन नसकेको बताउनुभयो । ‘सरकारको पुच्छर संसद हुन सक्दैन’, उहाँले भन्नुभयो । उहाँले बिचौलियाले सरकार चलाइरहेको दाबी गर्नुभयो ।

सांसद चन्दा चौधरीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछिको हत्या पछि निरन्तर महिला हिंसाका घटना बढ्दै जाँदा पनि सरकार मौन बसेको भन्दै गृहमन्त्रीसँग दोषीलाई कठघरामा ल्याउन नसक्नुको कारण माग गर्नुभयो ।

सांसद हृदयेश त्रिपाठीले सरकारले सदनलाई छलेर अध्यादेश मार्फत निजामती सेवा ऐनमा संसोधन गर्न लागेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले निजामती सेवाका कर्मचारीको सेवा अवधिको विषयमा  देशलाई प्रयोगशाला बनाउने काम भएको भन्दै हचुवाको भरमा कर्मचारी मिलान गर्न खोजिएकोमा आपत्ती जनाउनुभयो ।

अध्यादेश मार्फत निजामती सेवा ऐन संसोधन गरिएमा संसदको स्वायक्ततामाथि प्रश्न उठ्ने भन्दै त्रिपाठीले सभामुखको गम्भिर ध्यानकर्षण गराउनुभयो ।
सांसद लक्षमणलाल कर्णले सरकारले विद्यालय कर्मचारीको श्रम शोषण गरेको दाबी गर्नुभयो । उहाँले आन्दोलनमा रहेका विद्यालय कर्मचारीको माग अबिलम्बन सम्बोधन गर्न सरकारलाई निर्देशित गर्न सभामुखसँग माग गर्नुभयो ।

सांसद अग्निप्रसाद सापकोटाले मुलुकभर वृद्धि हुँदै गएका महिला हिंसाका घटनाप्रति गम्भिर हुन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले मंहगी, मलखाद्य, यातायातमा ठगी, मूल्यवृद्धि लगायतमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया