दसैँ-तिहारका लागि सुपथ मूल्य पसल असोज १५ गतेदेखि मात्रै

 असोज १०, २०७५ बुधबार १८:३६:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल खाद्य संस्थानले चाडपर्वलाई लक्षित गर्दै यही असोज १५ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । 

यसअघि १२ गतेदेखि सञ्चालन गर्ने भन्दै आएको संस्थानको बुधबार बसेको बैठकले १५ गतेदेखि मात्रै सुपथ मूल्य पसल खुलाउने निर्णय गरेको हो । 

चाडपर्वमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तुमा राहत दिन असोज १५ गतेदेखि कात्तिक २७ गतेसम्म यस्तो पसल सञ्चालन गरिने निर्णय भएको संस्थानका सूचना अधिकारी शंकर सापकोटाले जानकारी दिनुभयो ।  

संस्थानले आफ्नो शाखा रामशाहपथ, थापाथली र नख्खुबाट दैनिक उपभोग्य सामग्री बिक्री वितरण गर्ने छ । बुधबार बसेको बैठकले संस्थानले बिक्री गर्ने खाद्यान्नको मूल्य समेत निर्धारण गरेको छ । 

संस्थानले सोना मन्सुली चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएर ४० रुपैयाँ प्रतिकिलो मूल्य निर्धाण गरेको छ । 

यस्तै जीरा मसिनो चामलमा पनि प्रतिकिलो ५ रुपैयाँ छुट दिएर ५५ रुपैयाँ, जापानी चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएर ७५ रुपैयाँ ७५ पैसा बनाइएको छ । 

यस्तै बास्मती चामलमा र गोरखनाथ चामलमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर क्रमशः ८१ रुपैयाँ र ३८ रुपैयाँ कायम गरिएको छ । यस्तै संस्थानले जुम्ली सिमी र जुम्ली फापरमा पनि प्रतिकिलो १० रुपैयाँ छुट दिएर क्रमशः १ सय २० रुपैयाँ र ७० रुपैयाँ मूल्य निर्धारण गरेको छ ।  

यस्तै साल्ट ट्रेडिङले पनि आफ्ना बस्तुमा छुट दिएको छ । साल्ट ट्रेडिङले नुनमा २ रुपैयाँ छुट गरेर प्रतिकिलो १८ रुपैयाँ, चिनीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिने भएको छ । 

यस्तै दुग्ध विकास संस्थानले पनि आफ्ना उत्पादनमा छुट दिने भएको छ । दुग्ध संस्थानबाट उत्पादित घ्यूमा ५० रुपैयाँ छुट दिँदै ८ सय ५० रुपैयाँ प्रतिकिलो मूलय कायम गरिएको छ । यसअघि घ्यूको प्रतिकिलो मूल्य ९ सय रुपैयाँ थियो । यस्तै पनिरमा पनि १० रुपैयाँ छुट दिँदै ६ सय १० रुपैयाँ प्रतिकिलो मूल्य कायम गरिएको छ । बटर, दही, चिज, लस्सी, आइसक्रिमलगायतका उत्पादनमा पनि छुटको व्यवस्था गरिएको संस्थानले जनाएको छ ।

बुधबार बसेको बैठकले सहकारीमार्फत बिक्री वितरण गर्ने भनिए पनि सहकारीको छनौट भने गर्न नसकेको सापकोटाले बताउनुभयो । 

काठमाडौँ उपत्यकामा झण्डै १२ सहकारी संस्थालाई संस्थानबाट खाद्यान्न उपलब्ध गराई पसल सञ्चालनको जिम्मा दिइने तयारी भए पनि अझै सम्म छनोट भने भइनसकेको उहाँको भनाई छ ।  

अघिल्लो वर्ष संस्थानले उपत्यकाका आठ ठाउँमा दसैँ, तिहार र छठका लागि सुपथ मूल्य पसल सञ्चालन गरेको थियो ।  

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया