दसैँमा दुई हजार खसीबोका र च्यांग्रा काठमाडौँ ल्याइँदै

 असोज १०, २०७५ बुधबार १८:३८:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - नेपाल खाद्य संस्थानले दसैंमा काठमाडौंका उपत्यकामा मासुको आपूर्तिका लागि दुई हजार खसीबोका र च्यांग्रा खरिद गरेर ल्याउने भएको छ ।  

संस्थानका सूचना अधिकारी शंकर सापकोटाले एक हजार खसीबोका र एक हजार च्यांग्रा ल्याउने तयारी गरिएको बताउनुभयो । संस्थानले मुस्ताङबाट च्यांग्रा खरिद गरेर काठमाडौं ल्याउने छ ।

संस्थानको शाखा कार्यालय मुस्ताङले खरिद गरेको च्यांग्रा काठमाडौंसम्म ल्याउन संस्थानले ढुवानी दरभाउपत्र आव्हान समेत गरिसकेको छ । म्याग्दीको बेनीबाट काठमाडौंसम्म ल्याउन यही १६ गते विहानसम्ममा इच्छुक फर्म वा कम्पनीहरुले दरभाउपत्र दाखिला गर्न सक्ने संस्थानले सूचना प्रकाशित गरी जानकारी दिएको छ ।  

संस्थानले घटस्थापना भन्दाअघि खसीबोका र च्यांग्रा काठमाडौं ल्याइपुर्‍याउने सूचना अधिकारी शंकर सापकोटाले बताउनुभयो । उहाँका अनुसार संस्थानले खसीबोका दाङको तुलसीपुरस्थित अञ्चल कार्यालयबाट पाँच सय र मकवानपुरको हेटौँडाबाट पाँच सय खरिद गर्ने छ । 

खाद्य संस्थानले खसीबोका र च्याङ्ग्राको खरिदका लागि  तीन करोड ४९ लाख रुपैयाँ विनियोजन गरेको छ । संस्थानले ल्याएको खसीबोका र च्यांग्रा बजार मूल्यभन्दा १० रुपैयाँ कम मूल्यमा बिक्री गर्ने निर्णय गरिएको पनि उहाँले बताउनुभयो । 

गत वर्ष सस्थानले पच्चीस सय खसीबोका र च्यांग्रा माग गरेकोमा १८ सयभन्दा बढी नआएकाले यसपटक संस्थानले दुई हजार मात्रै ल्याउने लक्ष्य लिएको पनि सापकोटाले जानकारी दिनुभयो ।  खसी र च्याङ्ग्रा थापाथलीस्थित अञ्चल कार्यालयबाट वितरण गरिनेछ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया