बसको झ्यालबाट ओर्लिंदा ‘दश नम्बर’को याद

 असोज ११, २०७५ बिहिबार १२:३२:११ | बेदानन्द जाेशी
unn.prixa.net

झन्डै तीन वर्ष अगाडिको कुरा हो, म काठमाडौंमा नयाँ थिएँ, भर्खरै आएको । सुनधारामा गाडी पर्खिरहेको थिएँ । एकजना मेरो गाउँको साथीले मलाई देखेछ । उसले टाढैबाट बोलायो, ‘ओई बेदु कहाँ हो यार ?’ 

एक्कासी उसलार्ई मेरो सामु पाउँदा म खुसीले गदगद भएँ । मैले हालचाल सोध्नुभन्दा पनि पहिले उसको प्रश्नको उत्तर दिन जरुरी ठानें, ‘यतैतिर आएको थिएँ । कोठा जाने भनेको गाडी नै आउँदैन यार ।’

उसले त्यतिबेला फूर्तिका साथ भनेको थियो, ‘काठमाडौंमा गाडी कुरेर बस्ने होइन ब्रो । दश नम्बरको बसमा हुइँकिने हो ।’

मलाई अचम्म लाग्यो । सोचें, यो दश नम्बरको बस कुन रुटमा चल्दो रैछ ? मैले सोधें, ‘ओई यो दश नम्बरको बस कहाँबाट आउँछ यार, नयाँ बसपार्कसम्म जान्छ त ?’
उसले आफ्नो खुट्टातिर इसारा गर्दै भन्यो, ‘जिन्दावाद !’

यातायातको कुरा गर्दा काठमाडौंले उहिलेका साझा बसदेखि अहिलेका साझा बससम्मको लामो कालखण्ड पार गरिसकेको छ । 

दुई रुपैयाँमा चढ्न मिल्ने साझा यातायातको भाडादर अहिले पन्ध्र रुपैयाँ पुगिसक्यो । त्यतिबेला सडकमा फाट्फुट्ट बसहरु देखिन्थे । अहिले काठमाडौंका सडक बसहरुले खचाखच हुने गर्छन् । तर आवतजावत गर्न चौडा बाटा नहुँदा यात्रुहरु गाडी जामकोे समस्याबाट पीडित हुनु, समयमै गाडी नपाउनु र पाए पनि खचाखच भरिएर यात्रा गर्नु सामान्य भैसक्यो ।

भनेको ठाउँमा कसरी पुग्ने र कसरी फर्कने भन्ने चिन्ता सधैं भैरहन्छ । विद्यार्थी हुन् या कर्मचारी सबैको एउटै चाहना हुने गर्छ, समयमै गाडी पाइयोस् र बेलैमा गन्तव्यमा पुगियोस् ।

सबैको साझा समस्याबाट म अछुतो रहने कुरै भएन । साँझको ६ बज्यो । आधा घण्टा भइसक्यो गाडी नआउँदा म वाक्क थिएँ । सुन्धारा अगाडिको धुलो धुवाँ र गाडीको ट्याँट्याँ आवाज । ट्राफिकले हर्न बजाउन नपाइने नियम लगाए के भो ? सवारी चालकले पालना गरे पो ।

एकछिनपछि बालाजु, नयाँ बसपार्क, बाइपास, नेपालटार, फुटुङ भन्दै सहचालकले कराएको आवाज मेरो कानसम्म गुञ्जियो । यसो गाडीमा हेरें । गाडीको अन्तिममा एक, दुईटा सिट खाली देखें र भित्र गएर सरासर त्यही सिटमा बसें । सिट पाइएकोमा म ढुक्क थिएँ । यात्रुहरु थपिंदै थिए । सहचालक आफ्नै सुरमा भन्दै थियो – बालाजु, नेपालटार....फुटुङ । एकछिनमै बस यात्रुहरुले भरियो । गाडी अझैपनि त्यहाँबाट गुड्न मानेको थिएन । सहचालक झ्यालबाट उक्लेर भन्न थाल्यो, ‘दायाँ बायाँ भएर उभिनुस्, दाइ तपाई अलि पर सर्नुुस्, लास्टमा जानुस् ।’ 

उभिनेहरु पनि खचाखच भएपछि गाडी बल्ल त्यहाँबाट हिड्यो । जमलमा पनि केही यात्रु चढे । यस्तो लाग्दै थियो बस ट्राफिक प्रहरीलाई गिज्याउँदै गइरहेको छ । उनीहरुलाई के मतलव भयो र बसभित्र यात्रुहरुले कति दुःख पाइरहेका छन् ? बढी यात्रु नराख भनेर भन्दैनन् । केही समय पहिले माइक्रोमा त यस्तो नियम लगाएको थियो, तर त्यो दुईचार दिन पनि टिक्न सकेन । 

सवारी साधनको अवस्था, यात्रुहरुको चाप र सडकको वैज्ञानिक अध्ययन नै नगरी यसो गरे कसो होला भनेर लगाएका ट्राफिक नियमहरु टिक्थे पो कसरी ?

जाम र धुलोधुवाँ छिचोल्दै बस आफ्नै गतिमा गुड्दै थियो । ठमेल सोह्रखुट्टे बालाजुमा पनि यात्रुहरु चढ्दै उत्रिंदै थिए । उत्रिने भन्दा चढ्ने धेरै भएकाले माछापोखरी पुग्नसम्म गाडीभित्र हावा पास हुने पनि ठाउँ थिएन । मेरो छेउमा बस्नुभएकी एकजना दिदीलाई माछापोखरीमा झर्नुपर्ने रहेछ । तर झर्ने कसरी उहाँ आत्तिन थाल्नुभयो । बसको ग्यालरीमा मुसो छिर्ने ठाउँ समेत थिएन । उहाँसँग अलि ठूलो झोला थियो ।

मैले त्यो  झोला झ्यालबाट दिउँला तपाईं जानुस भनेपछि उहाँ जसोतसो गरि त्यहाँबाट ओर्लिनुभयो, मैले भित्रबाट उहाँलाई झोला दिएँ । त्यहाँ पनि ठेलाम्ठेल बसमा यात्रु चढे । रात परिसक्यो आफ्नो  गन्तव्यमा पुग्नकोे लागि आखिर जसरी भएपनि जानै पर्यो । 

केही छिनपछि बस फेरि त्यहाँबाट हिँड्यो । बाइपास नेपालटारमा पनि यात्रुहरु चढ्दै थिए । सहचालक सहित चार, पाँच जना यात्रुहरु त बसको ढोकामै भुण्डिएका थिए । नेपालटारमा केहीबेर बस रोकियो । केही यात्रु झरे भने केही चढे । छेउको पसलमा मान्छेहरु कुरा गर्दै थिए, ‘यो बसले त दिनमै लाखौं कमाउँछ होला ।’ 

नेपालटारको सडकका खाल्डाहरुमा बसका पांग्रा फस्दा लाग्थ्यो, अब बस गुल्टिन्छ । बसभित्रका सबै यात्रुहरु डराउन थाले । साँघुरा पहाडी सडकमा यात्रा गर्दा मलाई यति डर लागेको थिएन जति डर काठमाडौं भित्रकै सडकमा एउटा बसमा यात्रा गर्दा लागेको थियो । बिस्तारै बस नेपालटारको उकालो भएर डाँडागाउँ पुग्यो । मैले ओर्लिनुपर्ने गाविस भवनमा थियो । त्यहाँबाट तल झरेर म मेरो डेरामा पुग्न सकेँ । खासमा त म मनमैजुको माइक्रोमा आउने जाने गर्थें, तर त्यो दिन आधा घण्टा पर्खिंदा पनि माइक्रो नपाएपछि म त्यही फुटुङको बसमा चढेर आएको थिएँ ।

बस रोकियो । सहचालक कराउन थाल्यो, ‘गाविस झर्ने ओर्लिनुस, गाविस भवन आइपग्यो ।’ त्यहाँ ओर्लिने मान्छे एकदुई जना मात्र थिए । ढोका नजिक भएकाहरु त ओर्लिए । तर म भने गाडीको अन्तिममा थिएँ । म सिटबाट उठेर अगाडि बढ्न थालेँ । तर खुट्टा समेत छिराउन नसकिने देखिएपछि मैले सहचालकलाई भित्रैबाट ठूलो स्वरले बोलाएँ, ‘ब्रो अब कसरी आर्लिने ?’

छेउमा बसेका एक दाइले अब झ्यालबाटै ओर्लेउ बाबु भन्नुभयो । तर यसरी ओर्लिदां सहचालकले गाली गर्छ कि भन्ने डर लागेर म ओर्लिनँ । किनकी उनीहरुको जिब्रोमै गाली झुण्डिएको हुन्छ । हल्का केही भयो भने प्याच्च बोलिहाल्ने । पछि ऊ आफै झ्याल नजिक आएर भन्न थाल्यो, ‘पछाडि कोही झर्ने भए झ्यालबाट सकिने भए ओर्लिनुस् है ।’

त्यसपछि म झ्यालबाट ओर्लिएँ । भित्रबाट अँकल भन्दैहुनुहुन्थ्यो, यस्तै हो बाबु यसरी नै ओर्लिनुपर्छ । 

बसको झ्यालबाट ओर्लेको जिन्दगीको पहिलो अनुभव थियो त्यो । सुन्धाराबाट हिँडेरै मेरो कोठसम्म आइपुग्न सवा घण्टा जति लाग्थ्यो । म एकपटक हिँडेरै आएको पनि थिएँ । तर बसमा आउँदा  दुई घण्टा लागेछ । म मनमनै हाँसें । साथीले भन्ने गर्थ्याे  ‘दश नम्बरको बसमा हुईंकिनुपर्छ’ भनेर । मलाई त्यही कुरा याद आयो । उसले आफ्नो दश नम्बरको चप्पललाई विश्वास गर्ने कारण पनि यही रहेछ ।

बसबाट ओर्लेर कोठातिर जाँदै गर्दा मेरो मनमा अनेकथरि कुरा खेल्न थाले । के चक्रपथमा मोनोरेल चलाउँदैमा काठमाडौंका बाहिरी सडकहरु चौडा होलान् त ? के काठमाडौंको फुटुङमा बस्ने मान्छेलाई चक्रपथमा गुड्ने मोनोरेलले उसको यात्रा सहज गरिदेला र ? 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया