दुई जनाको शव आयो, नेपाली दूतावासले समन्वय नगर्दा शव ल्याउन समस्या

 असोज ११, २०७५ बिहिबार १२:५१:३९ | मोहन पौडेल
unn.prixa.net

काठमाडौं–मलेसियास्थित नेपाली दूतावासले समन्वय नगरिदिँदा मलेसियामा विषाक्त रक्सीका कारण ज्यान गुमाएकाको शव नेपाल ल्याउन समस्या परेको छ । 

मृतकमध्ये दुई जनाको शव बिहीबार दिउँसो १२ बजे थाइ एयरको उडानबाट नेपाल ल्याइएको छ । तर शव बुझ्न परिवारका सदस्य विमानस्थल पुगेका छैनन् । दूतावासले समयमै जानकारी नगराइदिँदा शव बुझ्न परिवार समयमै आउन नसकेका हुन् । 

शव ल्याउन समन्वय गरिरहेको प्रवासी नेपाली समन्वय समितिका अनुसार आइतसिंह गोलेका परिवारले शव बुझ्न भर्खरै मात्रै प्रक्रिया थालेको छ । धार्केदेखि कलङ्कीसम्म गाडी जाम भएपछि नवलपरासीका दुर्गासिंह रानाका परिवार त्यही जाममा परेका छन् । 

विषाक्त रक्सीका कारण ज्यान गुमाउने १० जनामध्ये सर्लाहीका आइतसिंह गोले र नवलपरासीका दुर्गासिंह रानाको शव बिहीबार नेपाल आएको छ । विषाक्त रक्सीका कारण पछिल्लोपटक इलामका विमल कार्कीको ज्यान गएपछि मृत्यु हुनेको सङ्ख्या १० पुगेको हो ।  

यसअघि उपचारको क्रममा सर्लाहीका शेरबहादुर ठकुरी, ठेगाना नखुलेका शुकुबल घिसिङ र नवलपरासी देउराली ८ का दुर्गा सिंह रानाको ज्यान गएको थियो । यस्तै धादिङ बसेरीका मिमबहादुर घले, रुपन्देही मसिनाका रामकुमार यादव, डढेलधुरा अमरगढीका विशाल बुढाथोकी, सुनसरी पश्चिम कुसाहाका सञ्जय उराव, इलाम सिद्धिथुम्काका बलबहादुर कुलुङ र सर्लाहीका आइतसिंह गोलेको पनि ज्यान गएको थियो ।

विषाक्त रक्सीका कारण बिरामी भएका ९ जना नेपालीको मलेसियामा रहेको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । 

शेरबहादुरको शव ल्याउन ३८ सय रिंगिट तिर्नुपर्ने 

विषाक्त रक्सीका कारण मलेसियामा ज्यान गुमाएका सर्लाहीका शेरबहादुर ठकुरीको शव नेपाल ल्याउन समस्या भएको छ ।  शेरबहादुर मलेसियामा अवैधानिक हैसियतमा रहेका उहाँको शव ल्याउन समस्या भएको हो । अवैधानिक भएकाले शेरबहादुरको शव पठाउन लाग्ने खर्च बेहोर्ने कोही छैनन् ।

परिवारका अनुसार शव ल्याउन ३८ सय रिंगिट तिर्नुपर्ने भएको छ । शेरबहादुरका ठूलो बुवाका छोरा मलेसियामै भएकाले उनले शव पठाउन लाग्ने ३८ सय रिंगिटका लागि सहयोग सङ्कलन गरिरहेको शेरबहादुरका दाइ शिलबहादुर ठकुरीले उज्यालोलाई जानकारी दिनुभयो । 

हिजोसम्म ३ हजार रिंगिट सङ्कलन भइसकेकाले अब एकदुई दिनमै पैसा सङ्कलन गरेर शव पठाउन प्रक्रिया थाल्ने उनले जानकारी दिएको शिलबहादुरले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

मोहन पौडेल

मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।    

तपाईको प्रतिक्रिया