पन्त हत्याकाण्डको छानबिन प्रतिवेदन छिट्टै सार्वजनिक गर्न पौडेलको माग

 असोज ११, २०७५ बिहिबार १३:०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – निर्मला पन्त हत्याकाण्डको छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारसँग माग गर्नु भएको छ ।

वरिष्ठ नेता पौडेलले निर्मला पन्त हत्याकाण्डको छानवीन प्रतिवेदन सार्वजनिक नगरेर सरकारले सो हत्याकाण्डलाई ढाकछोप गर्ने प्रयास गरिरहेको गम्भीर आरोप समेत लगाउनु भयो । निर्मला हत्याकाण्डका दोषीलाई कानुनी दायरामा ल्याएर मुलुकमा शान्ति, सुरक्षा कायम गर्न सरकार गम्भीर नदेखिएको वरिष्ठ नेता पौडेलको दावी छ ।

युरोपका विभिन्न मुलुकस्थित पार्टी संगठनको कार्यक्रममा सहभागी भएर विहीबार स्वदेश फर्कनु भएको वरिष्ठ नेता पौडेलले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ बुढिगण्डकी जलविद्युत आयोजना चीनको गेजुवा कम्पनीलाई निर्माण गर्न दिने सरकारको निर्णयप्रति पनि आपत्ति जनाउनु भयो । 

फरक प्रसंगमा वरिष्ठ नेता पौडेलले पार्टीका सबै निकायमा विदेशस्थित पार्टी संगठनहरुको प्रतिनिधित्व सुनिश्चित हुनेगरी विधान बनाउन पनि पार्टी नेतृत्वसँग माग गर्नुभयो ।

वरिष्ठ नेता पौडेलले प्रवासमा रहेका नेपालीहरुलाई पनि मतदानको व्यवस्था गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै पार्टीका प्रवासमा रहेका संगठनहरुको भूमिका र महत्व झनै बढेर गएको पनि स्मरण गराउनुभयो । १० दिन लामो युरोपको बसाईका क्रममा उहाँले त्यहाँस्थित पार्टी मातहतमा रहेका नेपाली जनसम्पर्क समितिको कार्यक्रममा सहभागी हुनु भएको थियो ।
 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया