वाइडबडी विमान खरिदमा ठूलो आर्थिक घोटाला भएको छ, छानबिन हुनुपर्छ: चापागाईं

 असोज ११, २०७५ बिहिबार १४:३८:५३ | उज्यालो सहकर्मी

काठमाडाैं - संघीय संसदको सार्वजनिक लेखा समितिले लेखा परीक्षणमा गम्भीर असहमति जनाउँदै महालेखा परीक्षकको कार्यालयसँग विस्तृत छलफल गर्ने भएको छ ।

समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमाथि गम्भीर प्रश्न उठाउँदै त्यस सम्बन्धमा महालेखा परीक्षक टंकमणि शर्मासँग विस्तृत छलफल गर्ने निर्णय गरेको हो । महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमाथि समितिका सदस्यहरुले गम्भीर प्रश्न उठाएपछि महालेखा परीक्षक शर्मासँग शुक्रबार छलफल गर्ने निर्णय गरिएको समितिका सभापति भरतकुमार शाहले जानकारी दिनुभयो ।

कतिपय सरकारी संस्थाहरुले लेखा परीक्षणसमेत नगरेको पाइएपछि समितिले त्यस सम्बन्धमा महालेखा परीक्षक शर्मासँग आवश्यक छलफल गर्ने निर्णय गरेको हो ।

बैठकमा समितिका सदस्य हृदयश त्रिपाठीले विश्वविद्यालय अन्तरगतका कतिपय निकायमा लेखा परीक्षण नगरेको पाइएको उल्लेख गर्दै त्यस सम्बन्धमा महालेखा परीक्षकको कार्यालयको धारणा माग गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भएको थियो ।

उहाँले कतिपय सरकारी संस्थाहरुलेसमेत लेखा परीक्षण गर्न नचाहेको पनि महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमै उल्लेख गरिएको भन्दै आपत्ति जनाउनु भयो ।

समितिका अर्का सदस्य धर्माशीला चापागाईंले दुईवटा वाईडबडी विमान खरिदमा ठूलो आर्थिक घोटाला भएको आशंका गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र मातहतका सबै निकायलाई छानबिन गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

त्यसैगरी अर्का सदस्य विशाल भट्टराईले सरकारी निकायमा हुने गरेको भ्रष्टाचारसम्बन्धी विषयलाई छानबिन गर्न विभिन्न उपसमिति बनाउनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

समितिले मुख्य सचिव, सबै मन्त्रालयका सचिवहरुसँग आवश्यक छलफल गरी बेरुजु हुन नदिन प्रभावकारी कदम चाल्ने निर्णय पनि गरेको छ । समितिका सभापति शाहले आर्थिक अनियमितता हुन नदिने गरी समितिको कामलाई अघि बढाउने निर्णय गरिएको जानकारी दिनुभयो ।

 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया