किन ढिला आएको भनेर प्रश्न गर्दा श्रीमतीको हत्या

 असोज ११, २०७५ बिहिबार १५:४:४९ | उज्यालो सहकर्मी

कास्की – कास्कीको लेखनाथ, खुदीखोलामा श्रीमतीको हत्या गर्ने श्रीमानलाई कास्की प्रहरीले पक्राउ गरेको छ । 

पोखरा महानगरपालिका वडा नम्बर– ३२, खुदीखोलामा रहेको सुकुम्बासी बस्तीमा गएराति श्रीमतीको हत्या गर्ने ५२ वर्षका ऐनबहादुर गुरुङ बिहीबार बिहान पक्राउ परेका हुन् । 

६० वर्षीया श्रीमती श्रीमाया गुरुङको आफूले हत्या गरेको छिमेकीलाई बताएर भागेका उनलाई हत्याको जानकारी पाएको २ घण्टाभित्रै पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिनुभयो । उनले मदिराको नशामा श्रीमतीको हत्या गर्न पुगेको प्रहरीसमक्ष प्रारम्भिक बयानमा बताएको रानाको भनाई छ । नियन्त्रणमा रहेका उनीमाथि थप अनुसन्धान अगाडि बढाइएकोे छ ।

गएराति रक्सी खाएर १० बजे घर पुगेका उनलाई श्रीमतीले किन ढिला आएको भनी गाली गरेपछि ढुंगाले टाउकोमा ३ पटक प्रहार गरेको र पानी खुवाएको समेत उनले बताएका छन् । रातभर घरमै सुतेका उनी बिहान भने पक्राउ पर्ने डरले श्रीमतीको शव बोरामा बाँधेर भागेका थिए । 

हत्या गर्नुपर्ने खासै ठूलो कारण नदेखिएको घटनास्थल पुगेको प्रहरीले जनाएको छ । कास्की प्रहरीका असई सन्तोष सुवेदी र संघीय इकाई प्रहरीका असई भद्रकृष्ण पौडेलले घटनास्थल भन्दा अलि पर डिलमुनि लुकेर हेरिरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।     

ऐनबहादुरले धेरै वर्ष पहिले अर्कैकी श्रीमती श्रीमायालाई भगाएर बिहे गरेका थिए । त्यसपछि सुकुम्बासी बस्तीमा श्रीमायाका दाइले टहरो बनाएर राखिदिएका थिए । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया