निजगढ विमानस्थल निर्माणको विषयमा अनावश्यक बखेडा नझिक्न नेता नेपालको आग्रह

 असोज ११, २०७५ बिहिबार १५:१५:४ | उज्यालो सहकर्मी

काठमाडौं – नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले निजगढ विमानस्थल निर्माण हुन नदिन रुख कटानको हल्ला चलाइएको बताउनुभएको छ । 

संसदमा दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावमाथि आफ्नो धारणा राख्दै नेता नेपालले बाहिर प्रचार गरिएजस्तो रुख कटान नहुने आफूले बुझेको बताउनुभयो ।   
भौतिक निर्माणका लागि जति क्षेत्रको रुख कटान गर्न पर्ने हो त्यो भन्दा एउटा पनि बढी रुख काट्न नहुने उहाँले बताउनुभयो । 

नेपालले भन्नुभयो, ‘रुखजम्मै कटान गरेर सखापै पार्ने भयो भन्ने अहिले जुनप्रकारको प्रचार गरिएको छ यो भनेको नेपालमा कुनै पनि काम गर्न नदिने षड्यन्त्र स्वरुप आएको हो ।’ 

निजगढमा बन्न लागेको अन्तरर्राष्ट्रिय विमानस्थल सबै भन्दा उपयुक्त ठाउँ रहेको पनि उहाँले बताउनुभयो ।  

‘विभिन्न बखेडा झिकेर उद्योग धन्दा खोल्नै नदिने, विमानस्थल बनाउन नदिने, नदीनाला उपयोग गर्न नदिने, बिजुली उत्पादन गर्न नदिने भनेको नेपालमा कुनै पनि काम गर्न नदिने षड्यन्त्र भइरहेको हो । यो हामी सबैले बुझ्नु आवश्यक छ’, उहाँले भन्नुभयो । 

नेता नेपालले जुन कुराको निर्णय भइसकेको छ त्यसलाई कुनै हालतमा नरोकी अगाडि बढाउन सम्बन्धित मन्त्रालयलाई आग्रह गर्नुभयो । 

त्यस्तै उहाँले दुईतिहाईको सरकारबाट जनताले ठूलो आशा र अपेक्षा राखेको भन्दै उहाँले मुलुकको हर समस्या समाधान गर्ने संकल्प र आँटका साथ अघि बढ्न सरकारलाई सुझाव दिनुभयो ।


 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया