महिला हिंसाका नब्बे प्रतिशत दोषीमाथि कारबाही भैसक्यो : गृहमन्त्री थापा

 असोज ११, २०७५ बिहिबार १५:५७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं –गृहमन्त्री रामबहादुर थापाले महिला हिंसासँग सम्बन्धित नब्बे प्रतिशत घटनाका दोषीलाई कारबाही गरिएको दावी गर्नु भएको छ । 

गृहमन्त्री थापाले बलात्कार, हत्यालगायतका महिला हिंसासँग सम्बन्धित नब्बे प्रतिशत घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई कारबाही गरिएको बताउनु भएको हो । बिहीबार महिला हिंसा न्यूनिकरणसम्बन्धि सरकारको काम कारबाहीबारे संघीय संसदको महिला तथा सामाजिक समितिलाई जानकारी गराउँदै उहाँले त्यससँग सम्बन्धित बाँकी १० प्रतिशत घटनाका दोषीलाई पनि छिट्टै कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता दोहोर्‍याउनु भयो ।

गृहमन्त्री थापाले बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न ढिलाई नहुने आश्वासन पनि दिनु भयो । उहाँले घटनाको तथ्य बाहिर ल्याउन सरकारले छानबिनमा त्रुटि गर्नेमाथि कारबाही गरेको पनि समितिलाई स्मरण गराउनुभयो । गृहमन्त्री थापाले महिला हिंसाको घटनालाई राजनीतिकरण नगर्न पनि सबैलाई आग्रह गर्नुभयो ।

गृहमन्त्री थापाले समिति समक्ष गएको ५ महिनायता ७ सय १० वटा जब्बरजस्ती करणीको घटना  घटेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकारले मदिरा सेवन, लागुऔषध सेवनलगायतको कामलाई निष्तेज पार्न प्रभावकारी कदम चालिरहेको दावी पनि गर्नुभयो ।

बैठकमा समितिका सदस्यहरुले बढ्दो महिला हिंसा नियन्त्रण गर्न  जनचेतनामूलक कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न सरकारलाई सुझाव दिनु भएको थियो । समितिकी सदस्य गंगा चौधरीले फाँसीको सजाय दिएर मात्रै महिला हिंसा नियन्त्रण हुन नसकेको दृष्टान्त पेस गर्दै त्यसलाई नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यक्ता औँल्याउनुभयो ।

बैठकमा समितिका सदस्यहरुले महिला हिंसाका दोषीलाई कारबाहीको दायरामा ल्याउने काममा गम्भीर बन्न पनि गृहमन्त्री थापाको ध्यानाकर्षण गराएका थिए । विगत ५ महिनायता नेपालमा महिला घरेलु हिंसाका घटना मात्रै ५ हजार ४ सय १७ वटा घटेको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया