प्रतिनिधिसभाको दोस्रो अधिवेशन बिहीबार रातिदेखि अन्त्य हुने सभामुखको घोषणा

 असोज ११, २०७५ बिहिबार १६:१७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – संघीय संसदको दोश्रो अधिवेशन बिहीबार मध्यरातिदेखि समाप्त हुँदैछ । 

बिहीबारको प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै आजै बिहीबार राती देखि संघीय संसद अन्र्तगत प्रतिनिधिसभाको दोश्रो अधिवेशन अन्त्य हुने घोषणा गर्नुभएको हो । नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ ।

दोश्रो अधिवेशन अन्र्तगत २०७५ वैशाख २३ गते आइतबार पहिलो बैठक बसेको प्रतिनधिसभा बैठक असोज ११ गते सम्म गरी जम्मा १ सय ३५ दिन चालु रह्यो । यो अवधिमा संसदको ६९ दिनमा ७९ पटक बैठक बसेको थियो । यो अधिवेशनले चालु आर्थिक २०७५/७६ को सरकारको नीति तथा कार्यक्रम पास गर्नुको साथै कर प्रस्तावबाहेक विनियोजन विधेयक माथि छलफल गरी सर्वसम्मपति पास गरेको थियो ।

यो अधिवेशनमा विभिन्न २६ वटा सरकारी विधेयक दर्ता भएकोमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ सम्बन्धित मन्त्रालयमा फिर्ता भएको छ । । दर्ता भएका विधेयकमध्ये १८ वटा विधेयक संघीय संसदका दुवै सदनबाट पास भैसकेका छन् । 

त्यसैगरी ६ वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन छन् भने राहदानी विधेयक प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा सन्देश पठाइएको छ । राष्ट्रियसभामा उत्पत्ति भई प्रतिनिधिसभामा पेस भएका विभिन्न ७ वटा विधेयकमध्ये ५ वटा विधेयक पारित भैसकेको छ । बाँकी दुई विधेयक राष्टियसभाबाट प्राप्त सन्देश टेबल भएको छ ।

प्रतिनिधिसभामा नियमावलीमा भएको व्यवस्था अनुसार गएको भदौ १८ गतेदेखि मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सुरु गरेको थियो । यो अधिवेशनले केही अध्यादेशलाई स्वीकृत गर्नुको साथै विभिन्न अन्तराष्ट्रिय सम्झौतासम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको छ । त्यसैगरी विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदन पनि यो अधिवेशनमा बैठकमा पेस भएका छन् ।

यो अधिवेशनमा प्रतिनिधिसभाले महिला हिंसा विरुद्धको संकल्प प्रस्ताव सर्वसम्मतिले पास गरेको थियो ।
 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया