प्रधानमन्त्रीले मुलुकलाई फेरि मुठभेडमा धकेल्न खोजेको हो ?: गच्छदार

 असोज ११, २०७५ बिहिबार १६:३३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको टिप्पणी गरेको छ ।

पछिल्लो समय मुलुकभर बढ्दै गएको महिला हिंसा, हत्या, बलात्कारजस्ता घटना बढ्दै जाँदा त्यसप्रति गृहमन्त्री संवेदनशील नभएको आरोप कांग्रेसले लगाएको हो ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै प्रमुख कांग्रेसका उपनेता बिजयकुमार गच्छदारले कानुन कार्यान्वयन गर्न नसकेर राज्यले नीरिहता देखाएको टिप्पणी गर्नुभयो ।

‘विगतमा पनि यस्ता घटना हुन्थे’ भनी गृहमन्त्रीले जिम्मेवारीबाट पन्छिने काम गरेको भन्दै उहाँले आपत्ति जनाउनुभयो । बालिका बलात्कार र हत्या गर्ने अपराधीलाई कारबाही गर्नुको सट्टा घटनाको अध्ययन गर्न आयोग बनाउने काम गरेर सरकारले कानुनी राज्यको स्थापना गर्न नसकेको बताउनुभयो ।

उहाँले प्रधानमन्त्रीले संसदीय दलको बैठकमा आफ्ना सांसदहरुसँग गुहार माग्ने गरेको तथा सरकारको बचाउका लागि प्रतिपक्षीमाथि अरिंगाल जस्तो खनिन उत्प्रेरित गरेको प्रसंग कोट्याउदै भन्नुभयो, ‘यस्तो प्रधानमन्त्रीहरुले बोल्ने गरेको मैले कहिल्यै सुनेको थिइनँ । यसरी राज्य चल्छ ? प्रधानमन्त्रीले के मुलुकलाई फेरि मुठभेडमा धकेल्न खोजेको हो ?’  

उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावना अनुसार राज्य अघि बढ्न नसकेको टिप्पणी गर्नुभयो । संघीयता कमजोर पार्ने सरकारको कार्यशैलीका कारण  प्रदेश सरकारका मुख्य मन्त्री र केन्द्र सरकारका प्रधानमन्त्री बीच द्वन्द्व बढेको टिप्पणी उहाँले गर्नुभयो ।

संघीयता आफ्नो प्राथमिकतामा नरहेको अभिव्यक्ति दिँदै आएका प्रधानमन्त्रीको कार्यशैलीले कतै संघीय शासन प्रणाली असफल हुने त हाेइन ? भन्ने शंका उब्जाएको तर्क उहाँले गर्नुभयो ।

उहाँले डाक्टर गोविन्द केसीसँग भएको सहमति अनुसार सरकारले चिकित्सा शिक्षा विधेयक सदनमा नल्याएकामा पनि आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो ‘डाक्टर केसी फेरी भोक हड्तालमा उत्रिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ ।’

दशै‌ंं तिहारको मुखमा बजारमूल्य बढ्दै जाँदा त्यसतर्फ पनि सरकारले चासो नदेखाएको आरोप उहाँले लगाउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया