उज्यालोकर्मी अधिकारीले १५ वर्षअघि खिचेको तस्बिरले बाजी मार्‍याे

 असोज ११, २०७५ बिहिबार २१:१५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

पुरस्कृत फोटो

धादिङ – जिल्लामा आयोजित प्रथम फोटो प्रतियोगितामा उज्यालोकर्मी सीताराम अधिकारीले खिच्नु भएको फोटोले पहिलो पुरस्कार हात पारेको छ । 

नेपाल फोटो पत्रकार संघ जिल्ला शाखा धादिङले आयोजना गरेको प्रतियोगितामा समावेश भएका ८३ जनाको १ सय ५८ फोटो मध्ये अधिकारीले १५ वर्षअघि खिचेको काठेकोलमा तेल पेल्दै गरेको फोटोले प्रथम स्थान हासिल गरेको हो । 

प्रतियोगितामा गणेश ढुङ्गाना द्वितीय र प्रमिला गिरी तृतीय भएका छन् । प्रतियाेिगतामा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले क्रमश: २५ हजार, २० हजार र १५ हजार नगदसहित ट्रफी, र प्रमाणपत्र प्रदान गर्नुभयो । 

कृषि, पर्यटन, मानवीय संवेदना, शिक्षा, स्वास्थ्य, साहित्य, संस्कृति, खेलकुद र जिल्लाका ऐतिहासिक महत्व बोकेका दृष्यहरुका आधारमा उत्कृष्ट फोटो छनोट गरिएको निर्णायक मण्डलका सदस्य राजन काफ्लेले जानकारी दिनुभयो । 

राससका फोटो पत्रकार प्रदिपराज वन्त, स्वतन्त्र फोटो पत्रकार राजन काफ्ले र कान्तिपुर दैनिकका वरिष्ठ फोटो पत्रकार शालिकग्राम तिवारी रहेको निर्णायक मण्डलले प्रतियोगितामा उत्कृष्ठ फोटो छनोट गरेको हो ।

कार्यक्रमको अवसरमा जिल्लामा पहिलो पटक प्रयोग गरिएको डीएसएलआर मोडलको क्यामराको प्रदर्शनी गरिएको थियो । जिल्लाका पहिलो फोटोग्राफर लेख श्रेष्ठ र पहिलो फोटो पत्रकारका रुपमा राजेन्द्रप्रताप शाहलाई पनि सम्मान गरिएको थियो ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया