मलेसियामा विषाक्त रक्सी : बाबुको अनुहार समेत देख्न नपाएकी छोरी मलामी

 असोज ११, २०७५ बिहिबार १९:५५:१४ | उज्यालो सहकर्मी

रीतु थेबे/सन्जिता देवकोटा । 

काठमाडौं – मलेसियाको सेलेङ्गरमा विषाक्त रक्सी खाँदा ज्यान गुमाएका नवलपरासीका दुर्गा सिंह रानाको शव बिहीबार दिउँसो थाइ एयरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उतारिदियो । त्यसबेला शव बुझ्न विमानस्थलमा कोही पुगेका थिएनन् । 

जतिबेला दुर्गाको शव बोकेको जहाज विमानस्थलमा अवतरण गरेको थियो, त्यसबेला आफन्त भने वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा पशुपति आर्यघाटसम्म शव पुर्‍याइदिने गाडीका लागि निवेदन गर्दै थिए ।

अलिनो खाएर बुधबार मध्यरातमा काठमाडौं हिँडेका दुर्गाका परिवार र आफन्त बिहान अबेर मात्रै काठमाडौं आइपुगे । धार्के-कलंकीको जामले उनीहरुलाई अल्मल्याइदियो । मलेसियाबाट ठेगानको खबर नआएपछि उनीहरु रातसाँझ नभनी काठमाडौं आएका थिए । 

चार वर्षकी छोरी लिएर श्रीमानको शव बुझ्न विमानस्थल

नवलपरासीको देउराली ८ बाट रातारात गरेर काठमाडौं आइपुगेका आफन्त बिहीबार पौने एक बजे विमानस्थलमा भेटिँदा उनीहरुले शव पाएका थिएनन् । दुर्गा सिंहकी श्रीमती हेममती राना आफन्तको सहयोगमा ४ वर्षकी छोरी काखी च्यापेर विमानस्थल पुग्नु भएको थियो । 

विमानस्थलमा खुशी लिएर फर्किनेको भिडभाडै छ । खुशी खोज्दै परदेश हिँडेकाहरु परिवारसँग विदा मागिरहेका थिए । त्यही भिडमा हुनुहुन्थ्यो हेममती र उहाँको आफन्त । 

एक घण्टा अघि नै आइसकेको श्रीमानको शव बुझ्न २७ वर्षिया हेममती आफन्तको साथ लागेर भन्सार तर्फ लाग्नुभयो । थाकेका आँखा । रुँदा रुँदा आँशु रित्तिएका झैं लाग्थ्यो । 

पतिको शव बुझ्न हेममती आफन्तको पछिपछि भन्सार भित्र छिर्नुभयो । शव बुझ्न भन्सारको काम सकेर हेममती र आफन्त तीनकुनेमा रहेको कार्गो तिर लागे ।

दिउँसो २ बजेतिर कार्गोमा भिडभाड छ । कर्मचारीको खाजा खाने समय भएकाले मानिसहरु यताउता भैतारिदिँदै छन् । खाजा खाएर कर्मचारी फर्किए । हेममतीले शव बुझ्न सही गर्नुभयो । र कागजपत्र मिलाएर शव निकालियो । 

सेतो कपडाले बेरेको लामो बाकस । बाकसमा हेममती र दुर्गा सिंहको नाम । शववाहन तयार थियो । बाकस गाडीमा राखेपछि पशुपति तिर गाडी हुँइकियो । अगाडि सिटमा बसेकी हेममतीले श्रीमानको शव राखिएको बाकसतिर फर्किएर हेर्नुभयो । र पशुपति आर्यघाट परिसरमा रहेको विद्युतीय शव दाह गृहमा दुर्गा सिंहको शव दाहसंस्कार गरियो । 

सँगै रक्सी खाएका भान्जा बाँचे 

मृतकका भिनाजु दुर्गाबहादुर सोमाई मगरका अनुसार दुर्गा र उनका दुई जना भान्जा एउटै कम्पनीमा काम गर्थे । बिदाका बेला मामाभान्जा बसेर कोठामा रक्सी खाएका थिए । एक जना भान्जा भने रक्सी नखाने थिए । 

रक्सी खाएर बिरामी परेपछि दुवैजना अस्पताल भर्ना भएका थिए । भान्जा केही दिन उपचार गरेपछि निको भएर कोठा फर्के । तर दुर्गालाई उपचार लागेन । गएको असोज ३ गते उपचारका क्रममा उनको प्राण गएको थियो । 

सालोको अनुहार अन्तिम पटक हेर्न आएका दुर्गाबहादुरले शवको बाकस हेर्दै भन्नुभयो, ‘त्यहाँ गएर मर्न त कसले रुचाएको थियो होला र । छोराछोरीको भविष्य हेरेरै गएको थियो होला । घरमा मर्नु लेखेको थिएन होला । सँगै बसेर खाने यौटा बाँच्ने यौटा मर्ने । रक्सीले मात्रै हो भने त दुवै मर्नु पर्ने । यो मलाई कन्फ्युज भइरहेको छ ।’ 

हो, ३० वर्षे दुर्गा सिंह छोराछोरीको भविष्य सोचेरै विदेश गएका थिए । गाउँमा हुँदा बेलाबेला रक्सी खाने गरेकै हो । तर मलेसियामा खाएको रक्सीले ज्यानै लग्यो । दुर्गाबहादुरलाई भन्दा धेरै ‘कन्फ्युज’ त श्रीमती हेममती र तिनका लालाबालालाई पो बनाएर गए त दुर्गा सिंहले । 

कहिल्यै नब्युँझिने गरी बाकसमा निदाइरहेका श्रीमानलाई फर्किएर हेर्दा हेममतीलाई लाग्दो हो, छोराछोरी पढाउनु पर्छ, बढाउनुपर्छ भनेर परदेश हिँडेका मान्छेले किन बेवास्ता गरेका होलान् । १० वर्षपछि मात्रै फर्किन्छु भन्दै जिस्कने श्रीमान् किन बाकस भित्र सुतेर फर्किए होलान् । तीन छोराछोरीका भविष्यका लागि सात समुन्द्र पारी उडेर गएका श्रीमान् कस्ता निष्ठुरी होलान् । चित्त नबुझेर त होला नि हेममतीले फर्की फर्की हेर्नुभएको । 

प्रत्येक आइतबार फोन गर्थे दुर्गा सिंहले हेममतीलाई । तर गएको हप्ताको आइतबार फोन गरेनन् । मोबाइलमा पैसा पो थिएन कि भनेर चित्त बुझाउनुभयो ।

‘आइतबार फोन गरेनन्, सोमबार एकैपटक भाइहरुले अस्पताल लगेको छ भने, मंगलबार त छैन रे भन्ने खबर आयो,’ हेममतीले श्रीमान् स्वर्गे भएको खबर सुनेको क्षण सुनाउनु भयो । 

श्रीमानले संसार छाडेको खबर सुनेदेखि नै हेममतीका आँखा ओभाएनन् । ९ वर्षका छोराको पनि आँखा ओभाएन । 

आमा रुँदा ७ वर्षकी छोरी पनि सँगै रोइन्, तर बुवाले सधैका लागि छाडेर गए भनेर पत्तो पाएकी छैनन् । बुवा विदेश जाँदा गर्भमा रहेकी कान्छी छोरी आमासँगै बुवाको मलामी बन्न आइन । 

खेतीपातिले ६ महिनाको छाक टार्न पनि नपुग्ने भएपछि युएई गएका दुर्गा ३ वर्ष बसेर फर्किए । युएई बसुन्जेल घरमा सुखैको आगो बल्यो तर पछिका लागि बचत भएन । 

२०७० साल पुसमा फेरि दुर्गा सिंह मलेसिया जानुभयो । आल्मोनियम कम्पनीमा काम गर्छु भन्थे घरमा । ‘कमाइ छैन भन्थे खाली, कमाएर १० वर्षपछि मात्रै फर्कने भन्ने, कहिलेकाही १०-१२ हजार रुपैयाँ जस्तो पठाउँथे खर्च,’ हेममती केही बेर निशब्द हुनुभयो र बोल्नुभयो, ‘दसैँ मान्न पैसा पठाउँछु भन्नुभएको थियो ।’ श्रीमान् सुतेकै बाकस हेर्दै बोल्नुभयो हेममती । 

एकैछिनमा खरानी हुने शरीरसित के गुनासो 

गाडीले शव पशुपतिसम्म पुर्‍याइदियो । श्रीमानले संसार छाडेको खबर सुनेको एक हप्ता कसरी बित्यो होला । तर निष्प्राण श्रीमानको अगाडि उहाँले भिजेका परेली देखाउनु भएन । यिनको श्रीमती मै हुँ भनेर कसैलाई देखाउनु थिएन । देखाउँदा पनि ‘बिचरा’ भन्ने बाहेक को नै हुन्थे होला र । 

रक्सीको कारणले परिवारको मियो ढल्दाको पीडा उहाँले श्रीमानको अघि आँशुमा बगाउनु भएन । विद्युतीय शव दाह गृह अगाडि श्रीमान् सुतेको बाकस दाउले काँटी झिकेर उघार्दै गर्दा हेममतीले टाढैबाट हेरिरहनुभयो । 

सबैले फोटो खिचे, कतिले सेते लुगामा लागेको रगतको टाटो देखेर बिचरा भने । श्रीमानको निष्प्राण देहलाई एक छिन भएपनि हेरौं त उहाँलाई पनि लाग्यो होला । तर नजिक जानुभएन । परैबाट मनमनै बिदा दिनुभयो । 

दुई वटा शव दाहसंस्कारका लागि पालाेमा थिए । ती शवभन्दा अघि नै पालो थियो दुर्गा सिंहको । छिनमै जलेर सकिने श्रीमानको शरीरिसँग के गुनासो । शव गृहका कामदारले हुत्याउँदै दुर्गा सिंहको शव भित्र हाल्दा बेरिएको सेतो लुगा ह्वारर्र बल्यो । र ढोका ढ्याप्प लाग्यो । सिसा बाहिरबाट हेरिरहेकी हेममती आँखा चिम्म गरेर अर्कातिर फर्कनु भयो । 

याे पनि पढ्नुहाेस् 

दुई जनाको शव आयो, नेपाली दूतावासले समन्वय नगर्दा शव ल्याउन समस्या

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया