फ्राइडे रिलिज : ‘कथा काठमाण्डु’ ‘अनुराग’ र ‘छिरिङ’ प्रदर्शनमा

 असोज १२, २०७५ शुक्रबार १०:३६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

यो हप्ता फ्राइडे रिलिज अन्तर्गत तीन चलचित्रहरु फ्लोरमा आएका छन् । आजबाट रिलिज भएका तीन चलचित्रहरु हुन् कथा काठमाण्डु, अनुराग र छिरिङ । चलचित्र ‘कथा काठमाण्डु’लाई ‘अनुराग’ र ‘छिरिङ्ग’को तुलनामा केही विशेष रुपमा हेरिएको छ । 

चलचित्रमा समावेश ‘रातको कुरा’ बोलको गीतले चलचित्र नगरीमा अझ धेरै चर्चा पायो । यो गीत सार्वजनिक भए सँगै नायिका प्रियंका कार्कीको तारिफ र आलोचना दुबै भयो । 

तर आलोचनालाई ख्याल नगरि आफ्नो इन्स्टाग्राममा चलचित्रको ट्रेलरका केही दृश्यहरु शेयर गर्दै  चलचित्र ‘कथा काठमाण्डु’ सँग आवद्ध हुन पाएकोमा आफूलाई गौरवान्वित महशुश भएको प्रियंकाले उल्लेख गरेकी थिइन् । ‘कथा काठमाण्डु’ मा महिला हिंसा, लागूऔषद दुव्र्यसनी, जबरजस्ती करणीलगायतका कुराहरुबारे सन्देश दिने प्रयास गरिएको बताइएको छ । 

चलचित्र ‘कथा काठमाण्डु’ मा संगीता श्रेष्ठको निर्देशन रहेको छ । काठमाण्डौमा बसोबास गर्ने ३ जोडीको जिवनमा आइ परेका समस्या र संघर्षका कथालाई चलचित्रमा उतार्ने प्रयास गरिएको छ । चलचित्रमा प्रियंका कार्की , प्रमोद अग्रहरी, सञ्जोग कोइराला, सन्ध्या केसी, आयुष्मान देशराज जोशी, प्रेक्षा अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा छायांकन लुज सिंहको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका छन् । विजय राईको लगानी रहेको चलचित्र आजबाट अल नेपाल प्रदर्शनमा आएको छ । 

यस्तै आजैबाट प्रदर्शनमाआएको अर्को चलचित्रहो अनुराग । पत्रकार ऋषिधमलाको प्रस्तुती रहेको चलचित्र अनुराग पनि यति बेलाचर्चा मै छ । ‘अनुराग’को आधिकारिक ट्रेलर सार्वजनिक भए सँगै चलचित्र चर्चामा आएको थियो । चलचित्रमा अभिनेता समुन्द्र पण्डित र अभिनेत्री एलिजा गौतमले डेव्यू गरेका छन् । 

एलिजा गौतम पत्रकार ऋषि धमलाकी पत्नी हुन् । समुन्द्र पण्डित चलचित्र अनुरागमा गायकको भुमिकामा प्रस्तुत भएका छन् ।  चलचित्रकी मुख्य अभिनेत्री एलिजा गौतम पनि संगीतमा रुचि रुाख्ने गर्छिन् र उनी  रागकहाँ संगीत सिक्न पुग्छिन् । 

एरिका फिल्म्स प्रोडक्शनको ब्यानरमा निर्माण भएको यस चलचित्रमा ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत रहेको छ ।  चलचित्रका गीतमा सत्यराज चौलागाईँ र ममता गुरुङको शब्द रहेका छन् ।

चलचित्रमा एलिस कार्कीको ब्याकग्राउण्ड स्कोर, पारु अधिकारीको कस्ट्युम, विक्रम स्वाँर र  प्रविण सिंहको कोरियोग्राफी,  शानथापा र विजय बस्यालको पब्लिसिटी डिजाईन किरण दाहालको कथा रहेको छ ।

सत्यराज चौलागाईँको  निर्देशन रहेको यस चलचित्रलाई गीता भेटुवालले निर्माण गरेकी हुन् । यो चलचित्रले विषेश त पत्रकार ऋषि धमलाका कारण पनि राम्रै चर्चा पाएको छ ।

आजैबाट प्रदर्शनमा आएको तेस्रो चलचित्र हो ‘छिरिङ’ । चलचित्र गायक तथा नायकद्वय यश कुमार र निमा रुम्बाका कारण चर्चामा छ  । चलचित्रमा गायक तथा नायक द्वय यशकुमार र निमा रुम्बाका साथ कामना भुजेल नायिकाको रुपमा प्रस्तुत भएकी छिन् । चलचित्रले हिजो मात्र प्रिमियर सो को आयोजना गरेको थियो । सोबाट राम्रै वर्ड अफ माउथ पाएका कारण गायक तथा नायक यशकुमार र निमा रुम्बा उत्साहित छन् ।

उपल्लो मुस्ताङको कथावस्तुलाई दर्शाएको चलचित्रले त्यहाँ चल्तीमा रहेको बहुपति प्रथाको कथाको प्रस्तुतिकरण गर्छ । अविकसीत गाउँका कारण आइ पर्ने भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्वन्द्व चलचित्रको कथा वस्तुमा प्रस्तुत गर्ने प्रयास गरिएको छ । ‘छिरिङ’ मा मानकृष्ण महर्जनको छायांकन, चन्द्र पन्तको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन रहेको छ । 

चलचित्र ‘छिरिङ्ग’मा यश कुमारको निर्देशन रहेको छ ।  सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको चलचित्रलाई यशकुमार र याम थापाले मिलेर लेखेका हुन् ।

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया