नैकाप चोकमा भेटियो किशोरीको कपडा र ब्याग !

 असोज १२, २०७५ शुक्रबार ११:३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं –  नैकापको व्यस्त चोकबाट विष्णुदेवी मन्दिर जाने बाटोको छेउमा एकाबिहानै कपडा र ब्याग देख्दा बटुवाहरु झसँग भए । नियालेर हेर्दा कलेज पढ्ने किशोरीको सर्ट, पाइन्ट, टाइ र ब्याग रहेछ । देख्नेहरुले नजिकै रहेका प्रहरीलाई खबर गरे । 

प्रहरी आएर हेर्दा ब्यागमा लिपिस्टिक र गाजल मात्रै भेटियो । टाईमा ज्ञानकुञ्ज कलेज भनेर लेखिएको रहेछ । त्यहीबेला ज्ञानकुञ्ज कलेजकै बस नैकाप चोकमा आइपुग्यो । प्रहरीले बस रोकेर चालकलाई बोलाए । चालकले कपडा र ब्याग हेरे । 

‘यो त हाम्रै कलेजको ड्रेस हो, यो चोकबाट चारजना गाडी चढ्ने गरेकोमा दुईजनालाई बिहानै कलेज पुर्याएँ, अरु दुईजना चाहिँ आएनन् । अरुबेला पनि सबै सधैं आउँदैनन्’ गाडी चालकले भने । त्यसपछि उनले कलेजमा फोन गरेर नैकापबाट आउनेमध्ये को–को आएका छैनन् बुझ्नु भने । 

कलेजमा सोधीखोजी भैरहँदा चोकमा भिड थपिंदै गयो । ‘हैन यो देशमा के मात्रै हुन लागेको ? छोरी चेली कसरी जोगाउने होला ?’ एकजना अधवैंशे महिलाले भनिन् । 

‘छोरी स्कुल नपुग्दासम्म र स्कुलबाट नफर्किएसम्म पिर मात्रै हुने भयो’ छोरीलाई स्कुल पुर्याउन हिँडेकी अर्की महिलाले भनिन् ।

‘हैन मान्छेलाई झाडीतिर फालेका छन् कि’ अर्की महिलाले शंका गरिन् ।

‘आ केही भएको होइन, यो केटी नै खराब हुनुपर्छ, नत्र कलेज जाँदा लिपिस्टिक बोक्नुपर्छ त ? जे जे लाउने हो घरमै लाउँछन् नि, मान्छे नै उस्तै हो । यहाँसम्म कलेजको लुगा लगाएर आई, अनि अर्को लुगा लगाएर कोसँग कता गई’ अर्की महिलाले अर्कै आशंका गरिन् ।

सबैले आ–आफ्नै तरिकाले आशंका गरे । त्यहीबेला छेउको पसलका मान्छे आइपुगे । उनले भने, ‘यो केही पनि होइनन्, मान्छेलाई झुक्याउन भनेर कुन चाहिँ उल्लुले यसो गरेको हो । पहिले पनि यहाँ यस्तै यस्तै गरेर धेरैले दुःख दिन्थे ।’

उनले भनेको पो हो कि जस्तो पनि केहीलाई लाग्यो । तर कुरो के हो भनेर त बुझ्नै पर्यो । पहिलेदेखि नै रहेका दुईजना प्रहरीले सोधीखोजी गरिरहे । तीन घण्टासम्म पनि केही पत्तो लागेन । अन्तिममा थाहा भयो, मानसिक सन्तुलन ठीक नभएका मान्छेले कपडा राखेर गएका रहेछन् ।

त्यस क्षेत्रबाट कोही पनि किशोरी हराएको भन्ने सूचना नआएको र भेटिएको कपडा चौकीमा रहेको बलम्बु प्रहरीले जनाएको छ ।


 
 

अन्तिम अपडेट: चैत २९, २०८०

1 Comments

  • Bikram Ojha

    May 21, 2020, 8:20 p.m.

    उज्यालो जस्तोले यस्तो खबर लेख्ने??? स्तर खस्किँदो छ, आजभोलि।

  •  0 Reply

तपाईको प्रतिक्रिया