बुद्धको जन्मस्थलको प्रमाण बोकेको अशोक स्तम्भ अलपत्र अवस्थामा (फोटोसहित)

 असोज १२, २०७५ शुक्रबार १३:७:५२ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – क्रकछन्द बुद्धको जन्मस्थलको प्रमाणस्वरुप ऐतिहासिक महत्व बोकेकोे अशोक स्तम्भ अलपत्र अवस्थामा रहेको छ । अशोक स्तम्भ यसरी अलपत्र हुँदै जाँदा यो क्षेत्रको पुरातात्विक महत्वसमेत संकटमा पर्दै जान लागेको छ ।  

अहिलेको कपिलवस्तु नगरपालिका वडा नं. ५ गोटिहवा गाउँमा क्रकछन्द बुद्धको जन्म भएको प्रमाणित आधार पनि यो अशोक स्तम्भ रहेको लुम्बिनी विकास कोषका पुरातत्वविद् ध्रुव पाण्डेयले बताउनुभयो । यस क्षेत्रमा इसापूर्वदेखि चौथो शताब्दीसम्म मानव बस्ती रहेको प्रमाण यसै क्षेत्रबाट उत्खनन् गरिएका अवशेषहरुबाट प्रमाणित भएको पुरातत्वविद् पाण्डेयले बताउनुभयो ।

गोटिहवा क्रकछन्द बुद्धको जन्मस्थल, ज्ञान प्राप्त भए पछि पहिलो पटक आफ्ना पितालाई भेट गरेको स्थलको रुपमा परिचित छ । स्थायी जगमा अडिएको यस स्तम्भको माथिल्लो भाग भाँचिएर हालसम्म फेला परेको छैन । जगदेखि भाँचिएको टुप्पोसम्मको उचाइ ३ मिटर २५ सेन्टिमिटर रहेको छ । जग र टुप्पोमा  गोलाइ क्रमशः ८३ सेन्टिमिटर र ७९ सेन्टिमिटर रहको छ । 

गोटिहवा गाउँको बीचमा एउटा प्राचीन इनार रहेको छ । दक्षिणतर्फ एउटा प्राचीन पोखरी समेत रहेको छ । विख्यात चिनियाँ यात्री फा शियन (५औं शताब्दी) र  ह्युमन साङ्ग (७औं शताब्दी) ले आफ्नो यात्रा वर्णनमा गोटिहवा पुगेको उल्लेख गरेका छन् । ह्युमन साङ्गको यात्रा विवरणका अनुसार अशोक स्तम्भको टुप्पोमा सिंहको आकृति रहेको र त्यो शिलालेखमा यो ठाउँ क्रकछन्द बुद्धको जन्म तथा बुद्धत्व प्राप्ति भएको स्थलको रुपमा व्याख्या गरिएको छ ।

अनुसन्धानकर्ता डा. एल. ए. वाडेलको उत्खनन्बाट स्तुप २२ मिटर ब्याससहितको गोलाकार भएको उल्लेख छ । स्तुपको वरिपरि परिक्रमा मार्ग पनि रहेको पाइएको छ । 

अति महत्वपूर्ण यो बौद्धस्थलको संरक्षण हुन नसक्दा दिन प्रतिदिन गौचरन र स्थानीय केटाकेटीहरुको लागि खेल मैदान बनेको छ । संरक्षणको अभावमा स्तम्भको अस्तित्व खतरामा पर्दै गएको छ । यति ठूलो महत्व बोकेको यो क्षेत्रको संरक्षण र विकास नहुँदा आफूहरु पनि निकै दुखी भएको कपिलवस्तु नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष दिरेप चौधरीले बताउनुभयो ।

‘यसको संरक्षणको लागि ठूलो रकम आवश्यक पर्ने भएका कारण हामीले लुम्बिनी विकास कोष र प्रदेश सरकारलाई अनुरोध गरेका छौँ’, वडा अध्यक्ष चौधरीले भन्नुभयो, ‘यो हाम्रो वडाको महत्वपूर्ण पुरातात्विक पर्यटकीय स्थल हो । यसको विकासका लागि हामी वडाबाट पनि विशेष कार्यक्रम बनाउँछौँ ।’

यस वर्षको कार्यक्रममा लुम्बिनी विकास कोषले गोटिहवा संरक्षणका लागि केही बजेट छुट्याएको र गोटिहवा क्षेत्रमा जग्गा अधिग्रहण एवं अन्य संरक्षणका काम गरिने लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य राजेश ज्ञवालीले बताउनुभयो । 


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया