कालीगण्डकीमा स्टिमर सेवा बन्द भएपछि ग्रामीण बासिन्दालाई समस्या

 असोज १२, २०७५ शुक्रबार १३:५३:४७ | सन्तोष थापा
unn.prixa.net

पर्वत – कालीगण्डकी जलाशयमा वर्षाका कारण अवरुद्ध भएको जल यातायात (स्टीमर सेवा) वर्षायाम सकिएपछि फेरि सञ्चालन हुन सकेको छैन । 

असोजको दोस्रो सातासम्म पनि नदीमा पानीको बहाव नघटेपछि  नेपाली पानी जहाज समेत भनेर चिनिने स्टिमर सेवा सुरु हुन नसकेको हो । 

वर्षाका कारण नदीमा बहाव बढेपछि दुर्घटना निम्तिने खतराले असारको पहिलो सातादेखि स्टिमर सेवा अवरुद्ध छ ।

कालीगण्डकी ए जलविद्युत गृह मर्मतका लागि एक सातादेखि बाँधका ढोका खोलिएका छन् भने बहाव समेत घटेको छैन । 
विद्युत गृहको मर्मत सक्ने र बहाव घटेपछि मात्रै बन्द स्टिमर सेवा सुचारु हुने सेतीबेणीका व्यवसायी रबि भट्टराईले बताउनुभयो । ‘बाँधको ढोका बन्द नहुँदा र बहाव नघट्दासम्म स्टिमर सुचारु हुन सक्दैन’ उहाँले भन्नुभयो ‘असोजको २० भन्दा अघि सुचारु हुने संभावना देखिदैन ।’ 

जलाशयमा दैनिक रुपमा संचालीत ११ वटा स्टिमर अहिले ठप्प बनेका छन् । पछिल्लो समय स्थानीय बोटे समुदायलाई आयआर्जनका लागि कालीगण्डकी ए जलविद्युत आयोजनाले पनि दुईवटा स्टिमर उपलव्ध गराएको छ । स्टीमरमा २५ जनाले प्रत्यक्ष रुपमा र दर्जनौ व्यक्तिहरुले अप्रत्यक्ष रुपमा रोजगारीको अवसर समेत पाएका छन् । 

सेवा अवरुद्ध हुँदा पर्वत र स्याङजा जिल्लाका ग्रामीण क्षेत्रका बासिदाहरु यातायातको सुविधाबाट वञ्चित भएका छन् । गुल्मी क्षेत्रमा भने कालीगण्डकी करिडोर सञ्चालनमा आएपछि स्टिमरको भर पर्नुपर्ने अवस्था टरेको छ । 

गएको १८ वर्षदेखि व्यावसायिक रुपमा स्टिमर सञ्चालन भएपछि त्यस क्षेत्रका धेरै गाउँका बासिन्दाहरुले ९ महिनासम्म यातायातको प्रत्यक्ष सुविधा उपभोग गर्दै आएका छन् । स्टिमर सेवा वर्षात्को समयमा भने ३ महिना अवरुद्ध हुने गरेको छ ।

दक्षिण पर्वतको विहादी गाउँपालिकामा रहेको वडा नं.–६, साविकको शालिग्राम गाविसदेखि स्याङजाको मिर्मिसम्म करिब आठ किलोमिटरको दूरीमा जलयात्रा सञ्चालनमा आएपछि पर्वतका दक्षिणवर्ती झण्डै डेढ दर्जन साविकका गाविसबासी तथा  गुल्मी र स्याङजाका गरी २५ भन्दा बढी गाविसवासीहरुलाई सहज रुपमा यात्रा गर्ने तथा मालसामान ओसारपसार गर्दै आएका थिए । 

यातायात अवरुद्ध हुँदा दैनिक आधाघण्टामा सकिने यात्रा चार घण्टाको पैदल यात्रा गरेर स्याङजाको मिर्मिसम्म पुग्न बाध्य भएका छन् । कतिपय व्यवसायीले वालिङ्गबाट हुवास हुँदै सामान ल्याउने गरेका छन् भने गुल्मीको अर्बेनीसम्म कालीगण्डकी करिडोरमा सवारीका साधन चल्ने भएकाले त्यहाँबाट भरियालाई बोकाएर पनि सामान ल्याउन थालेका छन् । 

हिँउदको समयमा सस्तो शुल्कमा मालसामान ढुवानी गर्न पाएका व्यावसायीहरु भरिया र खच्चडबाट समेत महङ्गो शुल्कमा सामान ढुवानी गर्न वाध्य भएको गुनासो गरेका छन् । यहाँको एक मात्र भरपर्दो यातयात सेवाको रुपमा सञ्चालित स्टिमरले यस क्षेत्रका बासिन्दाहरुको आर्थिक अवस्थामा समेत सुधार भएको छ ।

वर्षायाममा असारदेखि असोज महिनासम्म पानीको बहाव बढी हुने भएकाले बन्द गरिने भए पनि ९ महिना निरन्तर रुपमा सञ्चालन गरिँदै आएको छ । 

एउटा स्टिमरमा एक सयदेखि १ सय ५० जनासम्म यात्रुहरु एकैपटक ओहोरदोहोर गर्न मिल्छ । सेतीबेणीबाट जलयात्रा सुरु गरि मिर्मीमा पुगेर बस मार्फत यस क्षेत्रका बासिन्दाहरु गन्तव्यमा पुग्दै आएका छन् । 

स्टीमरबाट यात्रा गर्नेमा बढीजसो आन्तरिक पर्यटक नै रहेका छन् । र्‍याफ्टिङ्ग जस्तै भएकाले बाह्य पर्यटकहरुसमेत आउने गरेको वडा अध्यक्ष थापाले बताउनुभयो । 
     
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया