‘बकम्फुसे राजा’मा वर्षाको राजा दयाहाङ

 असोज १२, २०७५ शुक्रबार १४:४४:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – छायाँकंन अघि नै चर्चामा आएको चलचित्र हो ‘बकम्फुसे राजा’ । केही समय अघि चलचित्र क्षेत्रका २ नायिका वर्षा राउत र वर्षा सिवाकोटीका कारण यो चलचित्रको चर्चा भएको थियो । 

चलचित्र नगरीमा दुई वर्षाको बेला–बेलामा जुहारी चलिरहन्छ । एक वर्षाले छाडेको चलचित्रमा अर्की वर्षाले काम गर्न स्वीकार गर्ने गरेको उदाहरण धेरै आइसकेका छन् । उनीहरु दुईबीचको सम्बन्धमा समेत पानी बाराबार भएको चर्चा बेला–बेलामा हुने गरेको छ । तर यस चलचित्रको चर्चा भने एकले छाड्ने र अर्कीले लिने भनेर चलेको थिएन । 

दुवै अभिनेत्रीलाई एउटै चलचित्रमा अभिनयका निम्ती अफर गरिएको बताइएको थियो । यसको चर्चा त्यति बेला झन चुलियो जुन बेला दुवै अभिनेत्री चलचित्र ‘बकम्फुसे राजा’ मा अभिनय गर्न तयार रहेको खबर बाहिरियो । तर अन्ततः फेरि पनि पुरानै काण्ड दोहोरियो ।

चलचित्रबाट वर्षा सिवाकोटीले हात झिकिसकेको बताइएको छ । तर अभिनेत्री वर्षा राउत भने चलचित्रका लागि पक्का भइसकेकी छिन् । ‘बकम्फुसे राजा’को मुख्य भूमिकामा दयाहाङ राई र वर्षा राउतले जोडी बाँध्ने बताइएको छ । केही समयअघि एक अन्तर्वार्तामा वर्षाले दयाहाङसँग अभिनय गर्न मन भएको बताएकी थिइन् । वर्षाको यो रहर पनि ‘चलचित्र बकम्फुसे राजा’ ले पूरा गरिदिने भएको छ ।

रंगपत्रकार प्रकाश सुवेदीको डेब्यू निर्देशनमा निर्माण हुन लागेको चलचित्रमा अझै कलाकारको छनौट भैरहेको बताइएको छ । ‘बकम्पुसे राजा’मा निर्देशक सुवेदीले दयाहाङलाई मंहगो रकममा अनुबन्धित गरेको बताइन्छ । चलचित्रमा अभिनयका निम्ती एक नयाँ नायकको खोजी भइरहेको बताइएको छ  । चलचित्रको निर्माण गणेश सुवेदीले गर्न लागेका हुन् ।

‘बकम्फुसे राजा’को छायांकन मंसिरको अन्तिम साताबाट सुरु गर्ने तयारी भइरहेको छ । चलचित्रको अधिकांश छायांकन भारतको हैदराबादमा गरिनेछ । 

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया