आज प्रदेश २ मा ५० हजार बिरुवा रोपियो, विकासका नाममा रुख काट्न नदिने मन्त्रीहरुको चेतावनी

 असोज १२, २०७५ शुक्रबार १५:४७:१२ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – शुक्रबार प्रदेश २ मा एकसाथ ५० हजार बिरुवा रोपेर हरित प्रदेश अभियान प्रारम्भ गरिएको छ । प्रदेश २ का आठ जिल्लामा शुक्रबार बिहानै मुख्यमन्त्री तथा मन्त्रीहरुको सहभागितामा विभिन्न प्रजातिका ५० हजार बिरुवा रोपेर अभियानको आरम्भ गरिएको हो ।

प्रदेश सरकारको आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रममा रहेको हरित प्रदेशको योजना कार्यान्वयन गर्न शुक्रबार प्रत्येक जिल्लामा ७ देखि ८ हजार बिरुवा रोपेर हरित प्रदेश अभियान प्रारम्भ गरिएको छ ।

पर्साको पर्सागढीमा रहेको रहेको सबैया साझेदारी वनमा भएको वृक्षरोपण कार्यक्रममा  मुख्यमन्त्री लालबाबु राउत र भौतिक पूर्वाधार विकास राज्य मन्त्री डिम्पल झा सहभागी हुनुभएको थियो । यस्तै बाराको फेटा गाउँपालिकामा रहेको खैतारीमाई सामुदायिक वनमा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, रौतहटको चन्द्रपुर नगरपालिका ६ मा रहेको दाबरी रंगपुर साझेदारी वनमा भएको वृक्षरोपणमा भूमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र यादव सहभागी हुनुभएको थियो ।

सर्लाहीको लालबन्दी नगरपालिकामा भएको वृक्षरोपणमा पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय, महोत्तरीको मठिहानीमामा समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, धनुषाको धनुषाधाम नगरपालिकामा रहेको धनुषाधाम संरक्षित वनमा भएको वृक्षरोपणमा आन्त्रिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव, सिरहाको लहान गरपालिका ३ मा रहेको बलान खोला सन्यासी सार्वजनिक वनमा आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव र पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल र सप्तरीको सुरुंगा नगरपालिकामा भएको वृक्षारोपण कार्यक्रममा आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादव सहभागी हुनुभएको थियो ।

पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा आठ वटै जिल्लामा भएको वृक्षरोपण कार्यक्रममा प्रदेशका मन्त्री, राज्यमन्त्री, प्रदेश सांसद, मन्त्रालयका मुख्य सचिव, सचिव, स्थानीय जनप्रतिनिधि , कर्मचारी लागायतको सहभागिता रहेको थियो । जिल्ला वन कार्यालयसँग रहेको बिरुवाहरु रोपिएको र आफ्नो निजी तथा पर्ती जग्गामा रोप्नको लागि सर्वसाधारण नागरिकलाई समेत वितरण गरको मन्त्रालयले जनाएको छ ।

शुक्रबार रोपिएको ५० हजार बिरुवाको १५ दिनसम्म निरन्तर रेखदेख, पानी सिञ्चित र अनुगमन गर्ने एवं विरुवा सुकेको ठाउँमा पुनः रोपिने पर्यटन, वन तथा वातावरण मन्त्रालयका मन्त्री रामनरेश राय यादवले बतानउनुभयो ।

गएको सोमबार बसेको प्रदेश २ मन्त्री परिषद बैठकले असोजले हरित प्रदेश योजना कार्यान्वयन गर्न  असोज १२ गते आठ वटै जिल्लामा ५० हजार विरुवा रोप्ने निर्णय गरेको थियो ।

विकासको नाउँमा रुख काट्न पाइदैन : मुख्यमन्त्री राउत

मुख्यमन्त्री लालबाबु राउतले गृहजिल्ला पर्साको पर्सागढी गाउँपालिकाको सबैया वनमा वृक्षारोपण गरेर हरित प्रदेश अभियानको शुभारम्भ गर्दै निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थल निर्माण एवं विकासको नाममा रुख काट्न नमिल्ने बताउनु भएको छ ।

प्रदेश सरकार विकास विरोधी नभएको तर विकासको नाउँमा रुख कटान नहुने मुख्यमन्त्री राउतको भनाई छ । लाखौ रुख काटेपछि प्रदेशमा पर्यावरणीय संकट उत्पन्न हुने बताउँदै उहाँले यसतर्पm गम्भीर हुनुपर्ने आवश्यकक्ता औंल्याउनुभयो ।

जंगल फडानी गरेर विमानस्थल कुनै हालतमा स्वीकार हुँदैन : कानुनमन्त्री यादव

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जंगल फडानी गरेर बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नु आफूहरुलाई मान्य नहुने बताउनुभएको छ । धनुषाधाम संरक्षित वनमा वृक्षरोपण कार्यक्रमको उद्घाटन गर्दै उहाँले प्रदेश २ विपद् व्यवस्थापनबाट सबभन्दा बढी प्रभावित रहेकाले वातवरणीय विनास गरेर गरिने विकास आफूहरले कुनै पनि हालतमा स्वीकार नगर्ने बताउनुभयो ।

उहाँले विमानस्थल निर्माणका लागि प्रदेश सरकारले जग्गा उपलब्ध गराउन तयार रहेको बताउँदै उहाँले भन्नुभयो, ‘प्रदेश २ विपद व्यवस्थापनबाट सभबन्दा बढी प्रभावित प्रदेश हो । त्यसैले हामी समयमै सचेत भएर वातावरण संरक्षण गर्नुपर्छ ।’

निजगढमा साढे २४ लाख रुख बिरुवा काटेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु विकासको नाममा ठूलो विनास हुने र यसले आउँदो दिनमा विकराल रुप लिन मन्त्री यादवको भनाई छ ।  

मधेसमा विकासको नाममा पटक पटक जंगलको विनास गर्ने गरेकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले अब प्रदेश सरकार यसका लागि गम्भीर रहेको बताउनुभयो । चुरे संरक्षणका लागि पनि प्रदेश सरकारले छिट्टै कदम उठाउने भन्दै  वातावरण संरक्षण तथा सन्तुलनका लागि हरित प्रदेश योजना ल्याएको मन्त्री यादवले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

1 Comments

  • Bhakta bahadur bista

    Sept. 28, 2018, 4:15 p.m.

    Good job

  •  0 Reply

तपाईको प्रतिक्रिया