नेपालगञ्जमा सडक अतिक्रमण हटाउन सुरु

 असोज १२, २०७५ शुक्रबार १५:५५:८ | गोविन्द शर्मा
unn.prixa.net

नेपालगञ्जको सुर्खेत रोडमा सडक अतिक्रमण हटाउँदै नगर प्रहरी

बाँके – नेपालगञ्ज उप–महानगरपालिकाले मुख्य सडक क्षेत्रमा भएको अतिक्रमण हटाउन सुरु गरेको छ । 

यात्रुहरुले यात्रा गर्ने सडकपेटीमा ठेला तथा पसलेले सामान राखेपछि आवागमनमै असहज भएपछि शुक्रबारदेखि अतिक्रमण हटाउन सुरु गरिएको उपमेयर उमा थापा मगरले जानकारी दिनुभयो । 

शुक्रबार उपमेयर थापा, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेल नेतृत्वको टोलीले सुर्खेत रोडबाट अतिक्रमण हटाउन सुरु गरेको हो । 

नेपालगञ्जमा कतिपय स्थानमा पसल संचालकहरुले सडक समेत अतिक्रमण गरी व्यापार व्यवसाय गरेका कारण लामो समयदेखि सडक अतिक्रमण हटाउनुपर्ने आवाज उठ्दै आएको छ । 

पटक–पटक सम्झाई बुझाई गर्दा पनि अतिक्रमण यथावत रहेपछि शुक्रबार सुरक्षाकर्मी परिचालन गरी अतिक्रमण हटाइएको उपमेयर थापाले बताउनुभयो । 

‘पहिलो चरणमा मुख्य सडक क्षेत्रमा भएको अतिmक्रमण हटाउन सुरु गरेका छौँ’, उपमेयर थापाले भन्नुभयो, ‘यसपछि शहरका अन्य क्षेत्रमा भएको अतिक्रमण पनि हटाइने छ ।’
 
नेपालगञ्जको सुर्खेतरोडसँगै घरबारीटोल, सदरलाइन, फुल्टेक्रालगायतका बजार क्षेत्रमा पनि सडक तथा पेटी अतिक्रमण गरिएको छ । 

पछिल्लो समय चार लेन सडकमै सडक अतिक्रमण भई पैदल आवागमनमा कठिनाई भएको जनगुनासो आएपछि उप–महानगरपालिकाले अतिक्रमण हटाउन थालेको हो । 

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया