ए डिभिजन लिगको तयारी पूरा

 असोज १२, २०७५ शुक्रबार १७:१७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग फुटबलको तयारी पूरा भएको छ । पाँच वर्षपछि आयोजना हुन लागेको ए डिभिजन लिगमा १४ टिमको सहभागिता छ ।

अखिल नेपाल फुटबल संघ एन्फाको लिग कमिटीले शुक्रबार पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जनाएको हो । सातदोबाटोमा भएको पत्रकार सम्मेलनमा ए डिभिजन लिग खेल्ने सबै क्लबमा प्रशिक्षकहरुलाई बोलाइएको थियो ।

पत्रकार सम्मेलनमा सबै क्लबका प्रशिक्षकहरुले पालैपालो आफ्नो धारणा राख्दै लिगको उपाधिमा आफ्नो क्लबको दाबेदारी प्रस्तुत गरेका थिए ।

न्यूरोड टिम (एनआरटी)का प्रशिक्षक महेश्वर मुल्मीले ए डिभिजन लिगलाई आफूहरुले राम्रो सदुपयोग गर्ने बताए । उनले तयारीका लागि खेल मैदान, गोलपोस्टको अभाव भएको बताउँदै लिग तालिकामा पाचौं वा छैटौं स्थानमा रहने उल्लेख गरेका थिए । सबै जना नयाँ खेलाडीको भरमा एनआरटी मैदान उत्रने पनि उनले जानकारी दिए ।

नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले लिग जित्ने लक्ष्यका साथ तयारी गरिएको बताए । नेपाल पुलिस क्लबमा राम्रा खेलाडीहरुको बाहुल्यता रहेकाले लिग जित्नेमा विश्वस्त रहेको पनि उल्लेख गरे ।

ब्रिगेड ब्वाइज क्लबका प्रशिक्षक उज्ज्वल श्रेष्ठले लिगमा ब्रिगेड ब्वाइज पनि नयाँ खेलाडीकै भरमा रहेको बताए । तालिकाको ८औं स्थानमा रहने लक्ष्य रहेको बताउँदै विगतको लिगमा भन्दा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरेका थिए ।

फ्रेन्ड्स क्लबका प्रशिक्षक रमेश महर्जनले मैदान अभावका कारण प्रशिक्षण राम्रो हुन नसकेको स्वीकार गर्दैै नयाँ तथा यू–१८ का खेलाडीको भरमा मैदान उत्रने बताए । उनले रक्षा पंक्ति बलियो रहेकाले फ्रेन्ड्स क्लबले अरु क्लबलाई चुनौती दिन सक्ने बताउँदै तालिकाको ६ देखि ८ औं स्थान सम्म रहने विश्वास व्यक्त गरे ।

जावलाखेल युथ क्लबका राजकुमार घिसिङले ६ देखि ९औं स्थानमा रहने विश्वास व्यक्त गरेका थिए । उनले लिगका लागि तयारी भएपनि खेलाडीको अभाव भने रहेको बताए । स्ट्राइकरको अभाव जावलाखेललाई हुने बताएका घिसिङले उमेर समूहका खेलाडीबाट राम्रो अपेक्षा गरेको सुनाए ।  

आर्मीका प्रशिक्षक मेघराज केसीले यसपटकको लिगमा आफ्ना खेलाडी पूर्ण रुपमा फिट रहेको र जितका साथ प्रतियोगिता सुरु गर्ने लक्ष्यमा रहेको बताए ।

उनले एनआरटीलाई कमजोर टिमका रुपमा नलिने बताउँदै विपक्षी टिमलाई राम्रो संज्ञा दिए पनि आर्मी नै बलियो रहेको उल्लेख गरे । 'यसपटकको लिगको उपाधिका लागि नै हामी मैदानमा उत्रने छौँ’, आर्मीका लागि हरेक खेल कठिन हुने र कुनै पनि टिमलाई कमजोर नआँक्ने उनले बताए ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया