झण्डै तीन लाख घर सम्पन्न, १ खर्ब ४८ अर्ब रुपैयाँ अनुदान वितरण

 असोज १२, २०७५ शुक्रबार १८:९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – भूकम्पपछि पुनर्निर्माण कार्य सुरु गरेका मध्ये झण्डै तीन लाख घर निर्माण सम्पन्न भएका छन् । ५ लाख ५५ हजार ६ सय १२ घरमध्ये २ लाख ९६ हजार ५ सय १४ घर सम्पन्न भएका हुन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांक अनुसार २ लाख ५९ हजार ९८ घर पुनर्निर्माण भइरहेका छन् । कम प्रभावित १८ जिल्लाका तथ्यांक प्राप्त हुन बाँकी रहेकोले पुनर्निर्माण भएका घरको संख्या झण्डै साढे तीन लाख पुग्न सक्ने प्राधिकरणको अनुमान छ ।  दसैं तिहारपछि बाँकी घर पुनर्निर्माणको काम थालनी हुने पनि प्राधिकरणको अपेक्षा छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता पिताम्बर घिमिरेले स्थानीय तहलाई दिइएको जिम्मेवारी र केही समयमा स्थानीय तहमा पठाइने वरिष्ठ इन्जिनियरसहितको प्राविधिक सहयोगबाट बन्दै गरेका घरहरुको पुनर्निर्माण छिटो सम्पन्न गर्न सहयोग पुग्नेछ ।

भूकम्पबाट घर क्षति भएकामध्ये अनुदान सम्झौता सम्पन्न लाभग्राही संख्या ७ लाख २३ हजार ७ सय २८ छ । त्यसमध्ये ७ लाख १७ हजार ९ सय ६४ लाभग्राहीले पहिलो किस्ता लिइसकेका छन् । त्यसैगरी, दोस्रो किस्ता लिने लाभग्राहीको संख्या ५ लाख ३ हजार ३६ पुगेको छ । २ लाख ६६ हजार ९ सय ४ लाभग्राहीले तेस्रो किस्ता बुझिसकेका छन् । 

गुनासो फर्छ्याैटपछि कुल लाभग्राही संख्या ८ लाख १० हजार ६ सय ९० पुगेको छ । ६१ हजार ८ सय ९१ प्रवलिकरणको सूचीमा छन् ।

जिल्लागत रुपमा पुनर्निर्माण सम्पन्न भएका घरको संख्याः

सिन्धुपाल्चोक – ४९,५४०
दोलखा – ४४,४६१
गोरखा – ३६,४९०
धादिङ – ३५,६६१
नुवाकोट – २८,१५०
रामेछाप – २३,७३४
काभ्रेपलाञ्चोक – २०,७५२
सिन्धुली – ११,११०
ओखलढुङ्गा – १०,७८७
ललितपुर – ३,४५५
भक्तपुर – ५,५३०
काठमाडौं – ७,४३८
रसुवा – ८,५९१
मकवानपुर – ८,३४६
खोटाङ – १,१९१
सोलुखुम्बु – ४३०
स्याङ्जा – ५२०
गुल्मी – ३१५
अर्घाखाँची – १६
लमजुङ – ७

१ खर्ब ४८ अर्ब अनुदान वितरण

भूकम्पबाट क्षतिग्रस्त भएका निजी आवास निर्माणमा गत आर्थिक वर्षको अन्त्यसम्म १ खर्ब ३८ अर्ब २१ करोड ५२ लाख ९४ हजार ५ सय १८ रुपैयाँ वितरण भएको छ । चालु आर्थिक वर्षका लागि पुनर्निर्माण प्राधिकरणले ८३ अर्ब ४१ करोड ६८ लाख ३ हजार रुपैयाँ विनियोजन गरेको छ । यसमध्ये हालसम्म झण्डै १० अर्ब रुपैयाँ वितरण भइसकेको छ । 

१४ अर्ब ३८ करोड ७७ लाख ८७ हजार ४ सय ५१ आर्थिक वर्ष २०७२-७३ मा वितरण भएको थियो । आर्थिक वर्ष २०७३-७४ मा ३५ अर्ब ३५ करोड ४५ लाख १८ हजार २ सय ५८ वितरण भएको थियो । त्यसैगरी, २०७४-७५ मा ८८ अर्ब ४७ करोड ४० लाख ८८ हजार ८ सय ९ रुपैयाँ बराबरको आवास अनुदान वितरण भयो ।

गुनासो फर्छ्याैट चल्दै लाभग्राही थपिँदै 

भूकम्प अति प्रभावित १४ जिल्लामा छुट तथा पुनजाँच सर्वेक्षण अन्तर्गत सङ्कलित तथ्याङ्क विश्लेषण गरी १ लाख १८ हजार ७ सय ८० गुनासोको सुनुवाइ गरी प्राधिकरणले नतिजा सार्वजनिक गरेको छ । भदौ मसान्तसम्मको तथ्याङ्क अनुसार यसबाट ४२ हजार ४ सय २२ गुनासोकर्ता पुनर्निर्माण लाभग्राही सूचीमा परेका छन् ।

प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेका अनुसार ३५ हजार ५ सय ५ घरधुरी प्रवलीकरण लाभग्राहीमा समावेश भएका छन् भने २८ हजार ५ सय ७४ गुनासोकर्ता लाभग्राही हुन अयोग्य देखिएका छन् । बाँकी गुनासोकर्ताको बारेमा थप छानविनका लागि लागि स्थानीय तहमा पठाइएको छ । प्राधिकरणले गत वर्ष स्थलगत रुपमा प्राविधिक इन्जिनियर परिचालन गरी छुट तथा पुन: जाँच सर्वेक्षण मार्फत १ लाख २९ हजार ४ सय ८ गुनासो संकलन गरेको थियो ।

त्यसैगरी, प्राधिकरणले प्रभावित १६ जिल्लाका २ सय ६३ गुनासोकर्तालाई पुनर्निर्माण लाभग्राही र १३ सय ९५ गुनासोकर्तालाई प्रवलीकरण लाभग्राही कायम गरेको छ । त्यसैगरी, ३ हजार ६ सय १७ गुनासोकर्ताको स्थलगत प्रमाणीकरण गर्ने, २ सय २० जनाको अर्को स्थानमा बस्नयोग्य घर भए-नभएको स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणित गराउने निर्णय पनि गरेको छ ।

अनुदान लिन नयाँ समयसीमा

भदौ २१ गते बसेको प्राधिकरण निर्देशक समितिको निजी घरधनी लाभग्राहीले अनुदानको किस्ता लिइसक्नुपर्ने समयसीमा तय गरेको छ । अब २०७५ असार मसान्तसम्म पहिलो किस्ता प्राप्त गरिसकेका लाभग्राहीले २०७५ पौष मसान्तभित्र दोस्रो र २०७६ वैशाख मसान्तसम्म तेस्रो किस्ता लिइसक्नुपर्नेछ । 

त्यसैगरी, गुनासो सम्बोधनलगायतबाट हालसम्म पहिचान भएका सबै लाभग्राहीहरुसँग अनुदान सम्झौता सम्पन्न गरी प्रथम किस्ता प्राप्त गर्ने समयसीमा २०७५ कार्तिक मसान्त तोकिएको छ । यस्ता लाभग्राहीले २०७५ माघ मसान्तभित्र दोस्रो किस्ता लिनुपर्नेछ भने २०७६ जेठ मसान्तभित्र तेस्रो किस्ता लिइसक्नु पर्नेछ । 

तथापि, आगामी दिनमा गुनासो सुनुवाईबाट लाभग्राही सूचीमा परेका एवं पुनसर्भेक्षण, जोखिम वर्ग, परम्परागत बस्ती एवं बस्ती स्थानान्तरणबाट आउने लाभग्राहीहरुका लागि अनुदान किस्ता प्राप्त गर्ने समयावधि कार्यकारी समितिले निर्धारण गरे बमोजिम हुनेछ ।

प्राधिकरणले सरकारद्वारा बजेट कार्यक्रममार्फत् निर्धारण गरेको लक्ष्य अनुसार लचिलो समयसीमा निर्धारण गरेको छ । पहिलो किस्ता लिएर पनि घर निर्माण सुरु गर्न बाँकी भएका लाभग्राहीले घर निर्माण शीघ्र सुरु गर्न आवश्यक देखिन्छ । यसअघि समयसीमा संशोधन हुने गरेको भए पनि अब त्यसो गर्न निकै कठिन हुने भएकोले बाँकी सबै लाभग्राहीलाई घर निर्माण थाल्न प्राधिकरणले आग्रह गरेको छ ।

निजी घरधनी लाभग्राहीले अनुदानको किस्ता लिइसक्नुपर्ने समयसीमा

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया