पप्पु कन्सट्रक्सनको बदमासीले बनेन पुल, सप्तरीवासी जोखिमपूर्ण आवागमन गर्न बाध्य

 असोज १२, २०७५ शुक्रबार १८:३५:५४ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – एकदमै कममा बोलकबोल गरेर ठेक्का हात पार्ने तर वर्षौंसम्म कामै नगर्ने निर्माण व्यवसायीको उदाहरण ‘पप्पु कन्सट्रक्सन’ कम्पनी बनेको छ।

त्यस कम्पनीले नै मृत सञ्जीविनी जेभी कम्पनीसँगको सहकार्यमा सप्तरीको राजविराज–कुनौली सडकखण्ड अन्तर्गत तिलाठी कोइलाडी गाउँपालिका मा रहेको खाँडो नदीको पुल निर्माण कार्य थालेको ४ बितिसक्दा पनि काम पूरा गर्न सकेको छैन । 

२०७१ असार ३१ मा साढे ५ करोड रुपैयाँमा सम्झौता भएको त्यस पुल निर्माणको अन्तिम समयसीमा २०७३ असार ३० गतेसम्म निर्धारण गरिएको थियो । 
अन्तिम म्याद बितेको २ वर्ष बितिसक्दासमेत पुल निर्माणका लागि सुरु गरिएको ४ वटा वेल (पिलर) निर्माण समेत पूरा गर्न सकेको छैन । 

ठेकेदार कम्पनीले निर्धारित समयमा काम पूरा गर्न नसक्दा जिल्लाको दक्षिणी भेगका सर्वसाधारणलाई जोखिमपूर्ण आवागमन गर्ने बाध्यता नै परेको छ ।

तिलाठी कोईलाडी–१, तिलाठीका सुभाष झाले निर्माण कम्पनीको बदमासीका कारण पुल निर्माण नहुँदा आफुहरुलाई आउजाउ गर्न ज्यादै नै समस्या हुने गरेको बताउनुभयो ।

‘त्यसमा पनि नदीमा बाढी आएको बेला त आउजाउ गर्ने अवस्था नै हुँदैन’ उहाँले भन्नुभयो ‘डाइभर्सनको पनि अवस्था जीर्ण नै रहेकोले पटक पटक दुर्घटना समेत भएकै हो ।’

विगतमा भएको दुर्घटनाहरु स्मरण गर्दै उनले आफूहरुले जोखिमपूर्ण आउजाउ गरिरहँदा पनि ठेकेदार कम्पनीले पुल निर्माणमा खासै ध्यान नदिएको गुनासो गर्नुभयो ।

‘आफूहरुको चाहना नै हुन्छ सर्वसाधारणलाई गणतव्यसम्म पुर्‍याउने तर सडकमा पुल नहुँदा बीच बाटोमै अलपत्र छोड्नुपर्छ’ सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही बिरपुरका रामचन्द्र यादवले भन्नुभयो  ‘जसका कारणले आफूहरुलाई भाडा समेत पूरा दिँदैनन् र गाली पनि खानुपर्छ ।’

दक्षिणी भेगका सर्वसाधारणलाई सदरमुकाम राजविराज तथा सीमावर्ती कुनौली बजार जाने एकमात्र सडकमा ठेकेदार कम्पनीले आवश्यक डाईभर्सन समेत नबनाईदिएकोले आफूहरुलाई सवारी पार गर्न कठिनाई हुने गरेको दुखेसो गर्नुभयो ।

अर्का टेम्पो चालक गोरगामाका कामेश्वर रायले ठकेदार कम्पनीहरूको लापरबाही तथा सडक विभागलगायत सरोकारवाला निकायको निरीहताका कारण निर्माणाधीन सडकमा आवागमन असहज तथा जोखिमपूर्ण बनेको आरोप लगाउनु भयो ।

उहाँले सडकमा थालिएको पुल निर्माण कार्यलाई तीव्रता दिन पहल गरिदिनुहुन स्थानीय सरकार, सडक विभाग र सरोकारवालालाई आग्रह समेत गर्नुभयो ।
 

अन्तिम अपडेट: चैत २३, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया