नगरपालिकाले सुरु गर्‍याे २५ शैयाको नगर अस्पताल

 असोज १३, २०७५ शनिबार ६:३:३१ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – आठबीसकोट नगरपालिकाले नगर अस्पताल सञ्चालन गरेको छ ।

नगरपालिकाको आफ्नै लगानीमा सञ्चालनमा ल्याएको २५ शैयाको नगर अस्पताल शुक्रबार एक कार्यक्रमका बीच पूर्व गृहमन्त्री एवं रुकुम पश्चिमबाट निर्वााचित प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले उद्घाटन गर्नुभएको हो । 

नगर अस्पतालको उद्घाटन गर्दै शर्माले दूर–दराजका जनताले सहज स्वास्थ सेवा पाउने विश्वास व्यक्त गर्नुभयो ।  स्वास्थ्य सेवा जनताको पहिलो प्राथमिकतामा पर्ने भन्दै उहाँले जनतामा यसको सहज पहुँच स्थापित गर्दै सुलभ सेवा दिनका लागि अस्पतालले काम गर्नुपर्ने बताउनुभयो । 

स्थानीय तहले आफ्नै लगानीमा अस्पताल खोलेको यो पहिलो अस्पताल हो । 

कार्यक्रममा राष्ट्रिय सभाका सांसद ठगेन्द्रप्रकाश पुरीले जनताको घर आगनमै सेवा सुविधा दिने आठबीसकोट नगरपालिकालाई धन्यवाद दिनुभयो । यसै गरी अन्य स्थानीय तहले पनि काम गर्न अनुरोध गर्नुभयो ।

नगर अस्पताल उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसी, पर्यटनमन्त्री नन्दसिंह बुढा, कर्णाली प्रदेशका सांसदहरु गोपाल शर्मा र रातो कामी लगायतको सहभागिता रहेको थियो । आठबीसकोट नगरपालिकाका प्रमुख गोर्खबहादुर केसीले नगरपालिकाले गएको आर्थिक वर्षको ८० लाख र चालु आर्थिक वर्षको ४० लाख गरी कूल एक करोड २० लाख लगानीमा अस्पताल सञ्चालन गरेको जानकारी दिनुभयो ।

अस्पतालको निर्माण तथा सम्पूर्ण व्यवस्थापन कार्य सम्पन्न भएपछि गएको ७ गतेदेखि त्यहाँबाट सेवा समेत सुरु गरिएको थियो । अस्पतालबाट विशेषज्ञ सेवा प्रवाह गर्नका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले डाक्टर दिलसाही रोकालाई यहाँ पठाएको अस्पतालले जनाएको छ ।

आठबीसकोट नगरपालिका, जाजरकोटको नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका सेवाग्राहीलाई लक्षित गर्दै  नगर अस्पताल सञ्चालन गरेकोे हो । साविक आठविसकोट स्वास्थ्य चौकी, दीपज्योति आधारभूत विद्यालय र कृषि सेवाको भवनलाई लिएर नगर अस्पताल सञ्चालन गरिएको छ ।
 

अन्तिम अपडेट: चैत ७, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया