खै त लिखुरे र सिन्केलाई आरक्षण ?

 असोज १३, २०७५ शनिबार ८:४९:१५ | मिलन तिमिल्सिना
unn.prixa.net

नामको बस्, तर काम भने उठ ! बस नामको वस्तुमा बस्न कम मिल्छ, उभिन धेरै पर्छ । उभिन पनि कहाँ छ र ठाउँ लिखुरे र सिन्केलाई ! सिन्के पीडा त हजुर सिन्कीभन्दा धेरै खाँदिएको छ ।

कसैलाई त मिठै लाग्छ सिन्कीको अचार, तर आफै सिन्के अचार हुँदाको पीडा सिन्केलाई मात्र थाहा हुन्छ । सिन्कीको कुरा सुरु गरौँ मान्छेलाई सिन्की बनाउने बस नामको उठ मेसिनबाट ।  

लामो बस भयो भने त पछिल्तिरको सिटमा यसो बस्न मिल्छ । तर माइक्रो, टेम्पो र मिनीबस चढ्यो भने आफ्नो सिट कहाँ हो र कहाँ बस्ने भनेर छुट्याउनै मुश्किल पर्छ । एकातिर महिला लेखिएको हुन्छ । अर्कातिर अपाङ्ग र अशक्त । बाँकी पछिल्तिरको सिटमा कलेजका ठिटाठिटी ।

आफू महिला, अपांग र अशक्त नभएपछि बस्ने कुरै भएन । तर लाजै नमानीकन कतिपय ठिटाहरु, अधवैंशे जुँगामुठेहरु र हट्टाकट्टा मान्छे महिला तथा अपाङ्ग लेखिएको सिटमा ढसमस्स बसिरहेका हुन्छन् । छेउमा नानी बोकेकी महिला, अशक्त हजुरआमा र लौरो टेकेका बुबा कता समाउने भनेर थर्थर काँप्दै उभिएका हुन्छन् । सिटमा बसेका जुँगामुठेहरु भने झ्यालबाट बाहिर हेरेर सुसेलीरहेका हुन्छन् । 

कसैले एटीएम कार्ड, कसैले नागरिकताको कार्ड, कसैले टीटी खोप लगाएको कार्ड । कसैले बिजुली र टेलिफोनको बिल बुझाएको कार्ड, कसैले वृद्धभत्ता बुझेको कार्ड । कार्ड भनेपछि कार्ड ।

बलिया बाङ्गा र जुँगामुठे ठिटाहरु ढसमस्स बस्नु त राम्रो कुरो हुँदै होइन । तर नबुझेको अर्को कुरा पनि छ । उभिएरै पुग्न सक्ने उस्तै हट्टाकट्टाकी युवती र फू गर्दा पनि ढल्ने कुनै लिखुरे केटो सँगै बसमा चढे । बसमा ब्रेक लगाउँदा लिखुरे उछिट्एिर झ्यालबाटै फुत्कला जस्तो हुन्छ । तर हट्टाकट्टाकी युवतीलाई त्यस्तो केही हुन्न । 

ब्रेक लगाउँदा पनि बेस्ट, नलगाउँदा पनि बेस्ट । हट्टाकट्टा र जवान । अब अघिल्तिर सिट खाली छ भने महिला लेखिएको सिटमा फू गर्दा पनि ढल्ने लिखुरे त बस्न पाएन । तिनै जवान केटी चाहिँ बस्छे । हजुरबा र अशक्तहरुलाई त अर्कोतिर अशक्त अपाङ्ग सिट होला । तर लिखुरेहरुलाई त अन्याय भयो नि ट्राफिक दाइ ।

अनि अर्को कुरा महिला लेखिएकी ठाउँमा पहिलेदेखि नै महिला बसिरहेकी छे । अर्को स्टपबाट उनीजस्तै अर्की महिला चढिन् । बस्ने ठाउँ अन्त छैन । अब ती महिलाले महिला लेखिएको ठाउँमा बस्न नपाउने ? महिला लेखिएको ठाउँमा एकजना महिला चाहिँ बसिरहने, अर्को महिला चाहिँ उभिरहने ! यस्तो पनि नियम हुन्छ ?

आरक्षण सिटले एकातिर महिलालाई अन्याय गरेको छ । अर्कोतिर लिखुरे र सिन्के पुरुषमाथि विभेद गरेको छ । महिला, अपांग र अशक्तलाई त भयो खै बालबालिकालाई आरक्षण ? खै बिरामीलाई ठाउँ ?

अशक्त भनेर लेखिएको सिट खाली रहेछ भने त बिरामीलाई होला । तर बालबालिका चाहिँ कहाँ बस्ने ? काखे बालबालिकालाई त आमाले आफूसँगै राख्छिन् । काखमा पनि बस्न नमिल्ने, उठेर यात्रा पनि गर्न नसक्ने बालबालिकालाई खै सिट ? महिलालाई सिट छुट्याएपछि बालबालिकालाई चाहिँ किन नछुट्याउने ? अपाङ्गता भएका र अशक्त भएकालाई सिट हुन्छ भने लिखुरे र सिन्केहरुलाई चाहिँ किन नहुने ?

आरक्षणपछि अब सहुलियतको कुरा । कार्ड भयो भने ६/७ रुपैयाँ कम पैसा तिर्दा पनि पुग्यो । त्यसैले विद्यार्थी नभए पनि कार्ड बनाउनुपर्छ । हिजोआज बुढा मान्छेहरु पनि कार्ड देखाउँछन् । 

कसैले एटीएम कार्ड, कसैले नागरिकताको कार्ड, कसैले टीटी खोप लगाएको कार्ड । कसैले बिजुली र टेलिफोनको बिल बुझाएको कार्ड, कसैले वृद्धभत्ता बुझेको कार्ड । कार्ड भनेपछि कार्ड । एकपटक एकजना हजुरबा बस चढ्नुभो । सहचालक भाइले भाडा मागे । हजुरबाले बाबु मसित कार्ड छ भने । सहचालक भाइले पिर्लिक्क आँखा पल्टाए । खै कार्ड देखाउनुहोस् भनेर बुढाको सातो लिए । बुढा बाले स्टकोटको भित्री गोजीबाट नागरिकताको कार्ड झिकेर देखाए । 

तर साँच्चैको कार्ड भएका बुढाहरु पनि हुन्छन् है । बुढाहरु पनि स्कुल कलेज पढ्छन् । सबैजना साक्षर भएपछि नपढ्ने को होला ? गाउँगाउँमा टोलटोलमा प्रौढ शिक्षाको लहर चलेको छ ।

प्रौढ शिक्षा पढ्ने सबै हजुरबा, हजुरआमा, जेठा बा, जेठी आमा, काका काकी भएका जति सबै विद्यार्थी भए । त्यसमाथि शहरमा गृहिणीलाई पढाउने स्कुल पनि खुलेका छन् । क्याम्पसमा बुढा भएका अंकल आन्टीहरु पनि पढ्छन् । भनेपछि ती सबै विद्यार्थी भए । विद्यार्थी भएपछि छुट त पाउनुपर्यो नि, कार्ड भए पनि नभए पनि ।

अर्को कुरा हाम्रा सबैजसो विद्यार्थी नेता हजुरबा भैसकेका छन् । विद्यार्थी नेताहरु नै बुढा भएपछि बुढा विद्यार्थीहरुले छुट पाउनुपर्छ । बसवालाले पनि अब बुझ्नुपर्यो । देशका धेरै ठाउँमा निरक्षर उन्मुलन भैसकेको छ । निरक्षर उन्मूलन भनेको सबै साक्षर हुनु हो ।

साक्षर के भएर भइन्छ ? पढेपछि । पढ्ने भनेको को त ? विद्यार्थी । अनि विद्यार्थी छुट सबैले किन नपाउने ? कार्ड नै बनाउनुपर्छ भने भाडा उठाउने सहचालक भाइको कार्ड चाहिँ खै नि ?

उसले म भाडा उठाउने मान्छे भनेर बोल्दैमा हामीले पत्याउनुपर्ने ?सहचालकले चाहिँ हामी विद्यार्थी भनेर भन्दा पत्याउन नहुने ? पत्याउनुपर्छ जसरी पनि । 

अहिले त बस, माइक्रोबस र टेम्पोमा मात्रै छ सहुलियत र आरक्षण । भोलिपर्सि रेल र पानीजहाज चलेपछि त्यहाँ पनि आरक्षण सिट होला । विद्यार्थी र बुढाबुढीलाई सहुलियत दिनुपर्ला ।

अहिले बसमै भएको व्यवस्था अपूर्ण भयो भने लिखुरे, बालबालिका र सबै पढन्ते विद्यार्थीलाई रेल र पानी जहाजमा पनि विभेद हुन सक्छ । त्यसैले लिखुरेहरु र पढन्तेहरु एकजुट होऔं । आरक्षण सिट र सहुलियत भाडाको लागि आवाज उठाऔं ।
 

अन्तिम अपडेट: असोज २२, २०७५

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। उहाँलाई फेसबुकट्विटरमा भेट्न सकिन्छ।

तपाईको प्रतिक्रिया