युएईमा पत्रकारले हुण्डी गर्छु भनेपछि...(भिडियोसहित)

 जेठ २३, २०७५ बुधबार १४:३५:१८ | उमाकान्त पाण्डे
unn.prixa.net

युएई, जेठ २३ – नेपाली दूतावास आबुधाबीमा भएको कार्यक्रममा नेपाली संस्थाका अध्यक्ष र पत्रकार महासंघका सदस्यले नै आफूले ५० प्रतिशत रकम हुण्डीबाट नेपाल पठाउने गरेको बताएपछि केहीछिन कार्यक्रम स्थलको माहोल बदलियो । 

आबुधाबीमा रहेको नेपाली दूतावासले सोमबार गरेको कार्यक्रममा लुम्बिनी वेल्फेयर सोसाइटीका अध्यक्ष तथा पत्रकार महासंघ युएई शाखाका सदस्य गीतामणी पाण्डेले आफूले ५० प्रतिशत रकम हुण्डीबाट पठाउने गरेको र कहिलेकाहीँ साथीभाइलाई पनि सहयोग गर्ने गरेको बताएपछि उहाँ महासंघबाट साधारण सदस्य पनि नरहने गरी निष्काशित भएका छन् । 

पाण्डेले आफूले हुण्डीबाट पैसा पठाउने गरेको बताइरहँदा नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष भुपराज बस्याल छेउमै हुनुहुन्थ्यो । पाण्डेले आफूले हुण्डी गर्ने गरेको बताएपछि दूतावासका श्रमसहचारी मोतिराम भुसालले प्रतिप्रश्न गर्नुभयो ‘तपाईं आँफैले हुण्डी कसरी गर्नुहुन्छ ? जवाफमा पाण्डेले भने ‘यता विदेशमा पैसा आवश्यक पर्दा नेपालमा भएको बैंक खाताबाट दुई चार लाख निकालेर दिनु भनेर भनिन्छ यता एक दुई महिनामा तिरिन्छ, नेपालमा पैसा आवश्यक पर्दा साथीभाइले दिन्छन पछि यता बिस्तारै तिर्छुु ।’   

पाण्डेले भनेका कुरा महासंघका अध्यक्ष बस्यालले नसुन्ने कुरै भएन । त्यसको उत्तर तत्कालै केही आएन । कार्यक्रमका अन्य सहभागीले आफ्नो संस्था वा प्रतिनिधिले हुण्डी गरेको कुरा मौखिक लिखित उजुरी दिए संस्थाबाट कारबाही गर्ने र बाँकी प्रकृयामा सहयोग गर्ने बताए ।

त्यसपछि महासंघ अध्यक्ष बस्यालले सहभागीलाई सोध्नुभयो ‘हुन्डीको प्रमाण के ? जवाफमा सहभागीले भने ‘तपाईँकै साधारण सदस्यले भनेको सुन्नु भएन ? खुलेर भनिरहेका छन त ५० प्रतिशत रकम हुण्डी गर्छु भनेर, सोध्नुहोस न त्यही प्रमाण सम्बन्धित व्यक्तिलाइ नै । 

सहभागीको जवाफ पाएको दुई मिनेटमै समय माग्दै महासंघ अध्यक्ष बस्यालले पाण्डेलाई नेपाल पत्रकार महासंघ युएई शाखाको साधारण सदस्य समेत नरहने गरी कारबाहीको घोषणा गर्नुभयो ।   

कारवाहीको घोषणापछि पाण्डेले आफूलाई धेरै जनाको धेरै कुरा थाहा भएको भन्दै सबैको पोल खोल्ने बताए । तर अध्यक्ष बस्यालले गलत गर्ने कसैलाई पनि महासंघले आरक्षण नगर्ने स्पष्ट पार्नुभयो । 

पत्रकार समेत रहेका संस्थाका अध्यक्षले व्यक्तिले हुण्डी गरिरहेको विषय आपत्तिजनक भएको भन्दै दूतावासकै अधिकारीहरु आपसमा खासखुस गरिरहेका थिए ।       

भिडियो सार्वजनिक नगरिदिन आग्रह 

यसैबिच पाण्डेले आफूले बोलेको भिडियो सार्वजनिक नगरिदन आग्रह गरेका छन् । उनले उज्यालोसँग भने, ‘मैले गल्ती बोलें, मसँग बैंकबाट रेमिट्यान्स पठाएको प्रमाण छ ।’ पाण्डेले पटक पटक आफूले पहिले हुण्डी कारोबार गर्ने गरेको भएपनि अहिले नगरेको दाबी गरे । ‘मैले बोल्नु हुँदैनथ्यो, मैले बोल्दा चिप्लिएर कुरा बिग्रियो’ पाण्डेले भने । 

यसअघि लुम्बिनी वेल्फेयरका उपाध्यक्ष समेत रहेका गुल्मी समाजका पुर्व अध्यक्ष लक्षमण भण्डारी हुण्डी बापत सङ्कलन गरेको चार करोड भन्दा धेरै रकम लिएर युएईबाट भागेका थिए । उनी बुटवलबाट पक्राउ परेर जेल चलान भएका छन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया