विश्व मुटु दिवस : मुटु रोगबाट कसरी बच्ने ?

 असोज १३, २०७५ शनिबार १४:२२:४ | विना न्याैपाने
unn.prixa.net

काठमाडौं – आज विश्व मुटु दिवस । ‘मेराे मुटु, तिम्राे मुटु’ भन्ने नाराका साथ आज विश्व मुटु दिवस मनाइएको छ ।

विश्व हृदय महासंघ र विश्व स्वास्थ्य संगठनले सन् १९९९ देखि सेप्टेम्बर २९ तारिखमा यो दिवस मनाउने घोषणा गरेपछि दिवस मनाउन थालिएको हो । शहरीकरण, अव्यवस्थित खानपान, जीवनशैलीमा आएको परिवर्तनले गर्दा मुटुसम्बन्धी विभिन्न जटिलता देखिएको डाक्टरले बताएका छन् ।

विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा विश्वभर मुटु रोगबाट ज्यान गुमाउनेको संख्या बर्सेनि साढे २ करोड पुग्ने अनुमान गरेको छ । विश्व मुटु महासंघका अनुसार मुटुको रोगबाट विश्वभर बर्सेनि १ करोड ७५ लाख जनाको ज्यान जाने गरेको छ । यस्तै, नेपाल लगायतका विकासोन्मुख देशमा हृदयघात भएर मर्नेको संख्या ३५ प्रतिशतभन्दा बढी पुग्ने अनुमान गरिएको छ ।

नेपालमा अहिले २५ प्रतिशत अर्थात झण्डै ७५ लाख नागरिक कुनै न कुनै प्रकारका मुटुरोगबाट पीडित रहेका सरकारी तथ्याङक छ । मुटु रोगीको संख्या नेपालमा १० वर्षयता ५ गुणाले बढेको डाक्टरले बताएका छन् । १० वर्षअघिसम्म ५० वर्ष नाघेपछि मात्र मुटुसम्बन्धी समस्या देखिने गरेकोमा अहिले युवा अवस्थामै मुटु सम्बन्धी समस्या देखिन थालेको डाक्टरले बताएका छन् ।

विश्व मुटु दिवसको अवसरमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा भएको कार्यक्रममा बोल्दै रक्षा मन्त्री ईश्वर पोख्रेलले सन्तुलनको अर्काे नाम नै जीवन भएकाले आहार–बिहारमा सन्तुलन राख्नु पर्ने बताउनुभयो ।

उहाँले समृद्ध नेपाल सुखी नेपाली भन्ने कुरा व्यक्ति धनी भएर मात्रै नहुने बताउनुभयो । उहाँले समृद्ध नेपाल सुखी नेपाली बन्न ‘क्वालिटी अफ लाइफ’ हुनु पर्नेमा जोड दिनुभयो ।

यसै कार्यक्रमलाई सम्बोधन गर्दै मुटुरोग विशेषज्ञ ओम मूर्ति अनिलले ७५ प्रतिशत घरको मुख्य मानिसकाे हृदयघातका कारण ज्यान गइरहेको बताउनुभयो । उनीहरुले परिवार चलाउन धेरै तनाव लिनुपर्ने भएका कारण उनीहरुमा हृदयघातकाे समस्या हुने अनिलले बताउनुभयाे । यसै कार्यक्रमा बोल्दै अन्य चिकित्सकहरुले प्रत्येक वर्ष मुटु रोगीहरुको संख्या बढ्दै गएको बताएका छन् ।

मुटु रोगबाट बच्न र बचाउन  बिलासी जीवनबाट टाढा रहनु पर्ने उनीहरुको सुझाव छ ।

हृदयघातका दश लक्षणहरु :

१. छातीको बीच भागमा दुख्ने, गह्रौ बस्तुले थिचे जस्तो हुने 

२. छातीको दुखाई बायाँ हाततिर सर्नु 

३. पेटको बीचमा अत्याधीक दुखाई हुनु 

४. चिटचिट पसिना आउनु 

५. वाकवाकी लाग्नु तथा बान्ता हुनु 

६. डर लाग्नु तथा मुटुको धड्कन बढेको महसुस हुनु 

७. विशेष गरी मधुमेहका रोगी तथा वृद्धाहरुलाई अचानक असहज तथा स्वाँ–स्वाँ हुनु

८. वृद्धाले अचानक बेसुरको कुरा गर्न थाल्नु र रिंगटा लाग्नु 

९. थोरै गतिविधि गर्दा पनि असहज र थकाई लाग्नु 

हृदयघातबाट बच्ने दश प्रमुख तरिकाहरुः

१. चुरोट र रक्सी–जाँडको सेवन पूर्णरुपमा बन्द गर्ने 

२. कोलेष्टेरोल नियन्त्रण गर्ने 

३. रक्तचापलाई नियन्त्रणमा राख्ने

४. मधुमेहको उचित उपचार

५. तौललाई नियन्त्रणमा राख्ने

६. स्वस्थ आहाराको सेवन (फलफूल, सागसब्जी बढी मात्रामा सेवन गर्ने)

७. मानसिक तनाव र रिस कम गर्ने

८. प्रदुषणबाट बच्ने

९. दैनिक आधा घण्टा हिड्डुल गर्ने

अन्तिम अपडेट: चैत ९, २०८०

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया