म्याग्दीको तातोपानी कुण्डमा बिरामीकाे चाप बढ्दाे, स्नान गर्ने समयतालिका निर्धारण

 असोज १३, २०७५ शनिबार १४:४८:९ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – वर्षायाम सकिएर बिरामीको चाप बढ्दै जान थालेपछि तातोपानी कुण्डमा बिरामीहरुले स्नान गर्नका लागि नयाँ समयतालिका निर्धारण भएको छ । 

प्राकृतिक चिकित्सालयको रुपमा विकसित हुँदै गैरहेको म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गामा रहेको तातोपानी कुण्डमा डुब्न समय व्यवस्थापन गरिएको हो । 

पछिल्लोपटक कुण्डमा आउने बिरामीको चाप बढेपछि तातोपानी कुण्ड व्यवस्थापन समितिद्वारा महिला र पुरुषले स्नान गर्न छुट्टाछुट्टै पालो बनाइएको छ । 

म्याग्दी जिल्लासहित देशका विभिन्न स्थानबाट दिनहुँजसो कुण्डमा नुहाउन भनेर आउने बिरामीको भीड बढ्दै गएपछि महिला र पुरुषले नुहाउन आइतबारदेखि फरक–फरक समय छुट्याइएको तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ । 

दैनिक रुपमा साढे पाँच घण्टाका दरले महिला र पुरुषलाई छुट्टाछुट्टै समयमा तातोपानी कुण्डमा डुबुल्की मार्ने व्यवस्था मिलाइएको तातोपानी कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताउनुभयो । 

हरेक दिन बिहान ६ बजेदेखि बेलुका साढे ४ बजेसम्म कुण्डमा स्नान गर्न सकिने उहाँले जानकारी दिनुभयो । महिला र पुरुष दुवैले पालैपालो हरेक दिन बिहान, दिउँसो र बेलुकाको समयमा स्नान गर्ने गर्दछन् । 


कुण्डमा डुब्नका लागि समितिले टिकटको व्यवस्था गरेको छ । १ दिनका लागि ५० रुपैयाँको टिकट लिए पनि प्रतिव्यक्ति तीनसय रुपैयाँ तिरेमा ११ दिनसम्म डुब्न पाइन्छ । 

कुण्डमा डुब्न भन्दै यसपटक पूर्वी नेपालको मोरङ र सिन्धुपाल्चोक जिल्लाबाट बिरामीहरु आएको कुण्ड व्यवस्थापन समितिका सहसचिव केसीको भनाइ छ । नेपालको विभिन्न जिल्लाका साथै तातोपानी कुण्डमा नुहाउन भारत, जापान र बङ्गलादेशबाटसमेत विदेशीहरु आउने गरेका छन् । 

यसैगरी पछिल्लो समय पर्यटकहरु पनि कुण्डमा स्नान गर्नका लागि आउँछन् । कुण्डभन्दा बाहिर रहेका तातोपानीका धाराहरु २४सै घण्टा खुला रहन्छन् ।

तातोपानीको कुण्डमा डुबुल्की मारेपछि ग्यास्ट्रिक, बाथरोग, गानोगोला, युरिक एसिड, हार्डजोर्नी दुख्ने, हड्डीको दुखाई, सड्केको, मर्केको, बज्रिएकोसहित चिसोका कारणबाट उत्पन्न सबै प्रकारका रोगहरु निको हुने जनविश्वास रहिआएको छ । 

कुण्डमा एकपटक आएर डुबेका बिरामीहरु पटकपटक आउने गरेका छन् । स्वदेश तथा विदेशका ठूला र महङ्गा अस्पतालहरुमा लाखौं रुपैयाँ खर्चिएर पनि रोग निको नभएका बिरामीहरु तातोपानी कुण्डमा आएर डुबेपछि उनीहरु निको भएर फर्कने गरेको कुण्ड व्यवस्थापन समितिले बताएको छ । 

कुण्डमा गएको वर्ष १६ हजार ९७८ जनाले स्नान गरेका थिए । बर्सेनि झण्डै ५० लाख रुपैयाँ आम्दानी हुने तातोपानी कुण्डबाट स्थानीय सरस्वती माध्यमिक विद्यालयमा अध्यापनरत ९ जना निजी शिक्षकको तलब भत्तामा लगानी गर्ने गरिएको छ ।

त्यस्तै बेनी नगरपालिकालाई वार्षिक रुपमा २५ प्रतिशत कर कुण्डले तिर्ने गरेको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले बताउनुभयो । 


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया