तराई पुगेर भारतीय पेट्रोलियम मन्त्रीले भने - तीन वर्षभित्र पाइपलाइनबाट तेल आउँछ

 असोज १३, २०७५ शनिबार १४:५३:४० | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – नेपालको दुई दिने भ्रमणमा रहनुभएका भारतीय सरकारका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधानले भारतबाट निर्बाध रुपमा पेट्रोल नेपाल आओस् भन्ने चाहेको बताउनुभएको छ ।

शनिबार बिहान जानकी मन्दिर दर्शनका लागि जनकपुर आउनुभएका मन्त्री प्रधानले नेपाली नागरिकको सुविधाको लागि निर्बाध रुपमा पेट्रोल पठाउन मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको काम भइरहेको बताउनुभयो ।
 
‘अहिलेसम्म ट्यांकरमा तेल आयात भइरहेको छ । प्राकृतिक विपदको बेला पेट्रोल आयत गर्न समस्या हुन्छ’, मन्त्री प्रधानले भन्नुभयो ‘इण्डिया आयल कर्पोरेशनको ३ सय २२ करोडको लगानीमा धमाधम पाइपलाइन निर्माण भइरहेको छ । काममा राम्रो प्रगति देखिएकाले तीन वर्षभित्र नेपाली नागरिकका लागि पाइपलाइनबाट सहजरुपमा तेल आउछ ।’  

नेपाल भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधनामन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको ६९ किलोमिटर पाइपालाइन निर्माणको कार्यको समीक्षा गर्न आफू दुईदिने भ्रमणमा नेपाल आएको मन्त्री प्रधानले जानकारी गराउनुभयो ।

मन्त्री प्रधानले पाइपालाइनबाट तेल आउन लागेपछि भारत र नेपालको सम्बन्ध अझै उचाईमा पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो ।  

भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री प्रधानसँगै जनकपुर आउनुभएका नेपाल सरकारका उद्योगा बाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले पाइपलाइनबाट पेट्रोलियम पदार्थको आयात हुन थालेपछि आयल निगमको क्षेत्रमा रहेको सबै प्रकारको विकृति र झन्झट हट्ने बताउनुभयो ।
उहाँले अन्तर्राष्ट्रिय स्तरको परियोजना अन्तर्गत सबैभन्दा पहिला मोतिहारी–निजगढ पाइपलाइनको काम सम्पन्न हुने बताउनुभयो ।
 
मन्त्री यादवले भन्नुभयो, ‘ निर्माणको कामको लक्ष्य तीन वर्ष रहेको छ । तर जुन गतिमा काम भइरहेको छ । यसले मलाई लाग्छ एक वर्षमा पेट्रोलियम पदार्थ पाइपलाइनबाट आयातको काम हुन्छ ।’

उहाँले पाइपलाइनबाट तेल आउन थालेपछि सबैप्रकारको झमेलाबाट मुक्त हुनुको साथै पेट्रोलियम पदार्थको मूल्य घट्ने बताउनुभयो । मन्त्री यादवले ग्यास आउने पाइपलाइनको समेत सम्भाव्यता अध्ययन भइरहेको जानकारी गराउनुभयो ।

दुवै मन्त्रीले जानकी मन्दिरमा पूजाअर्चना समेत गर्नुभएको छ भने दुवै मन्त्रीलाई जानकी मन्दिरमा सहमहन्त रामरोशन दासले स्वागत गर्नुभएको छ । जनकपुर आउनु अघि धनुषाको धनुषाधाममा पुगेर विदेशमा गाडी चलाउन जाने युवाहरुलाई दिइने ड्राइभिङ तालिम केन्द्रको उद्घाटन गर्नुभएको थियो ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया