`सर्वोच्चका न्यायाधीश सुखी नेपाली र समृद्ध नेपाल अभियानका बाधक’

 असोज १३, २०७५ शनिबार १५:८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले सर्वोच्च अदालतका न्यायाधीश प्रधानमन्त्रीको ‘सुखी नेपाली र समृद्ध नेपाल’ अभियानको बाधक भएको बताउनु भएको छ । 

भक्तपुर जिल्लालाई आगामी पाँच वर्षभित्र पूर्ण सरसफाईयुक्त जिल्ला बनाउने योजनासहित पाँच वर्षे खानेपानी तथा सरसफाई रणनीतिक योजना सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले न्यायधीशले सरकारलाई असहयोग गर्ने र सरकारको अभियान असफल पार्ने गरी फैसला गर्ने गरेको उहाँले बताउनुभयो ।  

सडक विस्तारको क्रममा अनिवार्य मुआब्जा दिनुपर्ने गरी भर्खरै गरेको फैसलाको चर्को आलोचना गर्दै बस्नेतले सरकारको ‘सुखी नेपाली र समृद्ध नेपाल’को लक्ष्य असफल बनाउन सर्वोच्च अदालत आफै लागेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘मुआब्जा नदिई सडक विस्तार गर्न नपाइने गरी सर्वोच्च अदालतले गरेको फैसला विकास विरोधी फैसला हो, यो गलत फैसला हो, प्रधानमन्त्रीको समृद्धिको अभियान रोक्न न्यायाधीशहरु लागिरहेका छन्, यस्ता समृद्धिका बाधकलाई हामी पन्छाएर जान्छौ, समृद्धि कसैले रोक्न सक्दैन ।’ 

कार्यक्रममा बोल्दै बस्नेतले सन् २०३० सम्म पूर्णसरसफाईयुक्त देश बनाउने सरकारको लक्ष्य पूरा गर्न भक्तपुरलाई आउदो पाँच वर्षभित्र पूर्ण सरसफाईयुक्त बनाउनु पर्ने बताउनुभयो । उहाँले भक्तपुरमा नयाँ चारवटा आधुनिक शहर बनाएर पाँच लाख नयाँ जनसंख्या भित्र्याउने योजना पूरा भएपछि खानेपानी र सरसफाई निकै चुनौति बन्ने औल्याउनुभयो । 

भविश्यमा आउने चुनौतिको सामना गर्न योजना बनाउनु पर्नेमा जोड दिँदै उहाँले हनुमन्ते सफा नभएसम्म भक्तपुर सफा नहुने भनाई राख्नुभयो । भक्तपुर नगर सफा छ भनिरहँदा नगरसँगै जोडिएको हनुमन्तेमा बगेको ढलको गन्धले नाक थुन्दै पर्यटक प्रवेश गर्दा भक्तपुर नगरपालिका तीनै पर्यटकसँग शुःल्क लिइरहेको उहाँले व्यङ्ग गर्नुभयो । 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया