‘सार्वजनिक स्थलमा रक्सी पिए कारबाही’

 असोज १३, २०७५ शनिबार १८:९:२७ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – सुन्दरबजार नगरपालिका वडा नम्बर २ परेवाडाँडाले रक्सी–जाँड तथा जुवातास नियन्त्रण अभियान सुरु गरेको छ ।

विकृति विसंगति न्यूनिकरण गर्दै सभ्य समाज निर्माणका लागि यस अभियान थालिएको वडाअध्यक्ष जगतबहादुर खड्काले बताउनुभयो । ‘पछिल्लो समय वडामा रक्सी–जाँड सेवनकै कारण घरेलु तथा महिला हिंसाका घटना बढे । घरपरिवार, समाजमा अशान्ति फैलियो । सामाजिक विकृति–विसंगति न्यूनिकरण गर्दै सभ्य समाज निर्माणका लागि हामीहरुले यस अभियान थालनी गरेका हौँ,’ वडाअध्यक्ष खड्काले भन्नुभयो ।  

यस अभियानमा वडालाई स्थानीय तिलक स्मृति युवा क्लब, प्रगतिशिल महिला सञ्जाल लगायत स्थानीयले साथ दिएका छन् । उनीहरुले शनिबार गाउँमा एक सचेतनामुलक र्याली समेत निकालेका छन् । नारासहित देउरालीबाट सुरु भएको र्याली लेकपानी, बडहरे, भुत्याहा, मनकामना टोल, जामुने टोल हुँदै पुनः देउरालीमा नै कोणसभामा परिणत भएको हो । 
र्‍यालीमा सहभागी भएकाहरुले चर्को घामको बेवास्ता गरी ‘जुवातास र जाँडरक्सी निर्मुल गरौँ, सभ्य समाजको विकास गरौँ,’ ‘घरेलु तथा महिला हिंसा अन्त्य गरौँ, सभ्य समाज निर्माण गरौँ’ लगायतका नारा समेत लगाएका थिए ।    

‘गाउँमा केही मान्छेहरु बिहानैदेखी रक्सी खाएर,  जुवातास खेलेर पैसा र समयको बर्वादी गरिरहेका छन् । रक्सी पिएर अबेर घर पुग्ने, झैझगडा गर्ने, महिला हिंसा जस्ता घटना घट्ने पनि गरेका छन् । सामाजिक विकृति–विसंगति अन्त्य हुनु जरुरी छ । त्यसैले समाजमा सबैलाई यसबारे सचेतना जगाउने उद्धेश्यका साथ हामीले र्याली पनि निकालेका हौँ,’ उहाँले थप्नुभयो ।           

अब वडामा बिहान ५ बजेदेखी साँझ ७ बजेसम्म सार्वजनिक स्थलमा रक्सी किनबेच गर्नुका साथै रक्सी पिउन पाइने छैन । ‘कसैले नियमको उल्लंघन गरे कारबाही हुन्छ,’ उहाँले भन्नुभयो । 

वडाअध्यक्ष खड्काका अनुसार बिहान ५ बजेदेखी साँझ ७ भित्रको समयमा सार्वजनिक स्थलमा रक्सी बेचेको पाइएमा पहिलोपटक बेच्नेलाई ५ सय र पिउनेलाई एक हजार रुपैयाँ जरिवाना तोकिएको छ । 

‘तोकिएका यस समयमा एकै व्यक्तिले ३ पटकभन्दा बढी रक्सी पिएको भेटिएमा ५ हजार जरिवाना तोकिएको छ । अझै अटेर गरी नियमको उल्लघंन गरेको पाइए कारबाहीका लागि प्रहरीलाई बुझाइने छ,’ उहाँले जानकारी गराउनुभयो । यस अभियानले समाजमा विकृति–विसंगति न्यूनिकरणमा टेवा पुग्ने स्थानीय शान्ता भुजेलले बताउनुभयो । 

‘रक्सी खाएर, जुवातास खेलेर आउने अनि घरमा महिलाहरुलाई कुटपिट गर्नेजस्ता घटना पनि घट्दै गए । हाम्रो अभियानले पक्कै यस्ता विकृति न्यूनिरकणमा टेवा पुग्ने हाम्रो विश्वास छ,’ र्यालीमा सहभागी हुनुभएकी शान्ताले भन्नुभयो ।     

जाँड–रक्सी तथा जुवातास नियन्त्रण अभियानले गाउँमा सुखशान्ति, समृद्धि आउने स्थानीय विन्दु अधिकारीले बताउनुभयो ।      
 

अन्तिम अपडेट: फागुन २९, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया