पपुवा न्यू गिनी : महिलाहरुका लागि दुनियाको सबैभन्दा ‘खतरनाक देश’

 असोज १४, २०७५ आइतबार ९:१०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

अस्ट्रेलियाका उत्तरमा रहेको ‘पपुआ न्यू गिनी’लाई महिलाहरुका लागि दुनियाको सबैभन्दा ‘खतरनाक देश’ मध्ये एक भएको बताइने गरिएको छ । केही अनुमानहरुका अनुसार यहाँका करिब ७० प्रतिशत महिला आफ्नो जीवनकालमा बलात्कृत अथवा कुनै न कुनै प्रकारको यौन हिंसाको शिकार हुने गरेका छन् ।

बीबीसीले पपुआ न्यू गिनीको राजधानी पोर्ट मोरेस्बीको भ्रमण गरेर केही यस्ता महिलाहरुसँग भेट गरेको छ जहाँ उनीहरु महिला हिंसालाई ठिक मान्ने गर्छन् ।

यो यात्रामा बीबीसीेले केही यस्ता महिलाहरुलाई पनि भेटेको छ, उनीहरु भन्छन्, ‘अब त धेरै भयो ।’ 

पपुआ न्यू गिनी दुनियाँमा सबैभन्दा नराम्रो मुलुकको सूचीमा छ जहाँ घरेलु हिंसा र बलात्कारको दर सबैभन्दा धेरै छ । यो देशमा बलात्कारका घटनामा केही मानिसलाई मात्र सजाय हुन्छ ।

एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार यो देशमा सन् २०१८ को जनवरीदेखि मेसम्म ६००० घरेलु हिंसा र बलात्कारका घटना दर्ता भएका छन् । उनले भने ‘तर पनि यी सबै घटना होइनन् । यस्ता सबै घटना दर्ता हुँदैनन् । 

पपुआ न्यू गिनीमा घरेलु हिंसा र बलात्कारलाई आम कुरा मान्छन् ।  प्रहरी अधिकारीले भने, ‘उनीहरु यो घटनालाई सामान्य रुपमा लिन्छन् । कोही पनि महिला श्रीमती, गर्लफ्रेण्ड वा साथी जो भए पनि उनीहरुमाथि यौन हिंसा हुनु आम कुरा हो ।’

सजिलै शिकार हुन्छन् महिला

पपुआ न्यू गिनीमा स्थानीय बदमाशहरुलाई ‘रास्कल’ भन्ने गर्छन् । यस्ता मानिसहरुलाई बलात्कारका सबैभन्दा धेरै आरोप लागेका छन् । उनीहरुका अनुसार कुनै पनि महिलामाथि सामूहिक बलात्कार गर्नु यहाँको यो समूहको आम कुरा हो । यो विषयमा यिनीहरु खुलेरै कुरा गर्छन् । उनीहरु प्रहरी वा क्यामेरा केहीको पनि डर मान्दैनन् ।

एक रास्कलले बीबीसीसँग भनेका छन्, ‘यहाँ सबैभन्दा सजिलो शिकार महिला हुन्  उनीहरुलाई लुट्न सबैभन्दा सजिलो हुन्छ । उनीलाई पिट्न सजिलो हुन्छ । यदि सडकमा तपाई कुनै महिलालाई पिट्नु हुन्छ भने त्यसको विरोध कसैले पनि गर्दैन ।’ 

हरेक पल डर 

पोर्ट मोरेस्बी सहरमा तपाईं कुनै महिलालाई हेर्नुहुन्छ भने उनीहरुको ‘सचेत आँखा’ हरेरै थाहा हुन्छ उनीहरु सधैँ खतरामा बाँचिरहेका छन् । 

सहरमा यति हिंसा भएको छ की सरकारले यहाँ सेफ हाउससमेत बनाउनु परेको छ । सेफ हाउसमा बीबीसीले एकजना यस्तो मान्छेसँग भेट गरेको छ की जुन गएको दुई महिनादेखि आफ्ना बच्चाहरुसँगै यहाँ बसिरहेकी छिन् । 

सन् २००० मा उनको बिहे भयो । १७ वर्षसम्म उनले घरेलु हिंसा सहिन् । उनले भनिन्, ‘उ मलाई धेरै पिट्थ्यो । यसै वर्ष उसले मेरो हात चिरिदिएको थियो, हत्केलामा ३५ टाँका लगाउनु पर्यो । तर पनि उ मलाई पिट्दै रह्यो, म डराएर घरबाट भागेँ, भग्दा मेरो दाहिना खुट्टा भाँचियो ।’ 

उनको श्रीमान उनलाई आफ्नो ‘सम्पत्ति’ सम्झिन्थ्यो । उसका परिवारका अन्य सदस्यले पनि उसलाई हिंसा गर्नबाट रोक्न सक्दैनथे ।

सेफ हाउसको संस्कृति 

६९ वर्षीया मैरिसाले पनि सेफ हाउसमा शरण मागेकी थिइन् ।

नियमअनुसार यहाँ बस्नका लागि उनको उमेर अलि बढी थियो । सेफ हाउसकी म्यानेजरले उनलाई नियमको बाध्यता सम्झाई र मैरिसा आफ्नो घर जानु पर्यो । 

मैरिसाले बीबीसीसँग भनिन्, ‘मेरो ज्वाई मलाई छालाको पेटीले पिट्छ, उ मसँग यौन सम्बन्ध राख्न चाहन्छ । यो काम म गर्न सक्दिन । मलाई घर जान डर लागिरहेको छ । मेरी छोरीलाई पनि धेरै पिट्छ ।’ 

उनको ज्वाईले उनका अन्य दुई छोरीको पनि बलात्कार गरेको छ । तर उनलाई प्रहरीबाट सहयोग मिलेको छैन । 

कानुनको सहयोग 

जम्मा ५ वर्ष पहिलामात्र पपुआ न्यू गिनीमा ‘फ्याम्ली प्रोटेक्शन एक्ट’ बनेको हो । यो ऐन अनुसार घरेलु हिंसालाई अपराध मानिएको छ । यसका लागि दुई वर्षको जेल वा २ हजार डलर सजाय पनि तोकिएको छ ।

यो एेनका कारण जैनेट जस्ता महिलाको हौसला बढेको छ । जैनेटले केही दिन अगाडि घरेलु हिंसाका कारण घर छोडेकी थिइन् । उनी भन्छिन्, ‘मैले आफ्ना बच्चालाईसमेत छोडेर भाग्नुपर्यो । म प्रहरीको सहयोग चाहान्छु । पपुआ न्यू गिनीमा घरेलु हिंसाका विरुद्ध लड्ने चलन निकै कम छ । तर म कानुनको सहयोगबाट त्यहाँबाट मेरो बच्चा निकाल्न चाहान्छु ।’ 

पपुआ न्यू गिनीको समाज पितृसत्तात्मक समाज हो । यहाँ घरका सबै निर्णय गर्ने अधिकार पुरुषको छ । यस विषयमा पुरुषको राय के ? पुरुषको यो विषयमा धारणा बुझ्न बीबीसीले जैनेटका श्रीमानसँग पनि कुरा गरेको थियो ।

जैनेटका श्रीमानले भने, ‘म जागिरे मानिस हुँ । म एक विद्यालयको शिक्षक हुँ । जैनेटले मलाई थप्पड हानेपछि मैले हात उठाएको थिएँ । मैले उसको मुखमा एकमात्र मुक्का हानेको थिएँ ।’ 

जैनेटका श्रीमानले उनकी श्रीमतीको बेहोरा ठिक नभएको बताए । बेहोरा ठिक नभएको भनाईको मतलब के हो ? यसको जवाफमा उनले भने, ‘उसले मेरो कुरा सुन्दिन । उसलाई जे ठीक लाग्छ त्यही गर्छे । उ बच्चालाई दुधसम्म पिलाउनदिन  । घरको कुनै काम पनि उसलाई आउँदैन ।  उ मलाई भड्काउँछे । म हिंसा गर्न बाध्य भएको हुँ ।’ 

यो कुराकानीको केही समयपछि प्रहरीले जैनेटका श्रीमानलाई गिरफ्तार गरेको थियो । 

जैनेटले आफ्ना बच्चासँग भेटेर श्रीमानमाथि लगाइएको आरोप फिर्ता लिएको उनको परिवारले बताएको थियो । 

बीबीसीले पोर्ट मोरेस्बी सहरको बाहिरी क्षेत्रमा रहेको पपुआ न्यू गिनीको जेलको पनि अवलोकन गर्‍याे । जेलमा कैद रहेका एक समूहसँग बीबीसीले कुरा गरेको थियो । २७ मानिसको यो समूहमा १२ केटाहरुमाथि बलात्कारको आरोप लागेको छ । प्रहरीका अनुसार बलात्कारको सबैभन्दा युवा अभियुक्तको उमेर १३ वर्ष हो ।

जेलमा रहेका २९ वर्षीय कैदी रुबेनसँग पनि बीबीसीकाे कुरा भएको थियो । जसमाथि १० वर्षकी एक बच्चीमाथि बलात्कार गरेको आरोप छ । उसले निकै आत्मविश्वासका साथ बलात्कारको सबै कथा सुनाएको थियो  । उसले भन्यो ,‘त्यो बालिका मेरो घर आएकी थिई ।’ उसले भन्यो, ‘म यसलाई बलात्कार भन्दिनँ, उ मेरो घरमा आएकी थिई, मैले कुनै हतियार देखाएर उसको घर गएर बलात्कार गरेको होइन ।’ ।

पपुआ न्यू गिनीमा बलात्कारको अधिकतम सजाय ५ वर्ष हो । नाबालकलाई सजाय दुई वर्षको मात्र छ । यति सजाय बल्तकार जस्तो अपराधका लागि निकै कम भएको प्रहरी अधिकारीको भनाइ छ  ।

– बीबीसी हिन्दीबाट 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया