डेढ वर्षदेखि प्रमुखविहीन यातायात व्यवस्था कार्यालय

 असोज १४, २०७५ आइतबार ९:५९:५९ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – यातायात व्यवस्था कार्यालय जनकपुर डेढ वर्षदेखि प्रमुखविहीन बनेको छ । दैनिक सबैभन्दा बढी सेवाग्राही आउने यातायात व्यवस्था कार्यालय लामोसमयदेखि प्रमुखविहीन हुँदा निमित्तको भरमा चल्दै आएको छ ।  निमित्त पनि फेरिएको फेर्‍यै छन् । प्रमुखविहीन हुँदा कार्यसम्पादनमा समस्या हुने गरेको सेवाग्राहीहरुले गुनासो गरेका छन् ।

कार्यालय प्रमुख अच्युतप्रसाद रेग्मी २०७३ चैत महिनामा सरुवा हुनुभएको थियो । त्यस पश्चात् २०७४ वैशाखको पहिलो साता तीर्थराज खनाल कार्यालय प्रमुखमा हाजिर हुनुभयो । तर उहाँ झण्डै एक वर्ष कार्यालय प्रमुख हुँदासमेत कार्यालयमा एकसाता पनि बस्नु भएन । र २०७४ वैशाखदेखि नै यातायात व्यवस्था कार्यालय निमितको भरमा चल्दै आएको छ । तीर्थराज खनाल कार्यालय प्रमुख भएपनि उहाँ कार्यालयमा उपस्थित नहुँदा २०७४ वैशाखदेखि झण्डै ९ महिना कार्यालयका शाखा अधिकृत बालकृष्ण हुमागाईं निमित्त भएर कार्यालय सञ्चालन भयो । 

हुमागाईंको सरुवा भएपछि ४ महिनासम्म अर्का शाखा अधिकृत राजन पोखरेल, उहाँको समेत सरुवा भएपछि कार्यालयका अर्का शाखा अधिकृत भक्त विष्ट निमित्त प्रमुख भएर ३ महिना कार्यालय सञ्चालन गर्नुभयो ।  विष्टको समेत सरुवा भएपछि गएको असार महिनादेखि कार्यालयका शाखा अधिकृत इन्जिनियर कोपेन्द्र यादव कार्यालयको निमित्त प्रमुख भएर कार्यालय सञ्चालन गर्दै आउनुभएको छ ।

तर उहाँको निमित प्रमुखको अवधिमा शाखा अधिकृत बासुदेव खतिवडा आएपछि सिनियारिटीको अधारमा १५ दिन निमित प्रमुख हुनुभयो । १५ दिन पश्चात पुनः खतिवडा गएपछि अहिले शाखा अधिकृत एवं इन्जिनियर यादवकै भरमा छ यातायात कार्यालय ।

सेवाग्राहीको गुनासो मात्र होइन कार्यालयको प्रशासनिक कामकाज र अकास्मिक निर्णय गर्न कठिनाई भएको निमित प्रमुख कोपेन्द्र यादवको गुनासो छ । निमित प्रमुख यादवले भन्नुभयो ‘दैनिक कार्यालय सम्पादनको काम हामीले गरिरहेका छौं । तर कार्यालयको विषेश निर्णय र प्रशासनिक काम प्रभावित भएको छ । ’
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया