हाउसफुल ४ को सेटबाट नाना पाटेकर गायब, बलिउडका थुप्रै कलाकारले दिए तनुश्रीलार्इ साथ

 असोज १४, २०७५ आइतबार १५:२०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउडका चर्चित अभिनेता नाना पाटेकर र अभिनेत्री तनुश्री दत्ताबीचको विवाद दिनानुदिन बढ्दै गइरहेको छ । 

तनुश्रीले १० वर्षअघि नाना पाटेकरले फिल्म ‘हर्न ओके प्लीज’ को सेटमा आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै आइरहेकी छिन् । उनी बलिउड फिल्म उद्योगमा नाना पाटेकर जस्ता खराब व्यक्तिहरुलाई बहिस्कार गर्नु पर्ने माग गरिरहेकी छिन् । 

उता नाना पाटेकर तनुश्रीले आफूमाथि लगाएका सबै आरोप झूटो रहेको र उनीविरुद्ध कानुनी कार्बाही गर्ने बताइरहेका छन् ।

केही दिनअघि फिल्म ‘हाउसफुल ४’ को छायाँकनको क्रममा भारत बाहिर रहेका नाना पाटेकर लगायत अन्य कलाकारहरुसँगको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । यो फोटो निर्देशक फराह खानले पोष्ट गरेकी थिइन् । 

तर हालै सार्वजनिक खबरहरुका अनुसार नाना पाटेकर फिल्म ‘हाउसफुल ४’ को सेटमा देखिएका छैनन् । यस अघिसम्म निरन्तर छायाँकनको काम गरिरहेका उनी यसै विवादका कारण सेटबाट टाढिएका छन् । जसका कारण उनले गर्नुपर्ने छायाँकनको काम बीचैमा रोकिएको छ । 

खबरहरुका अनुसार यस फिल्मका निर्देशक साजिद खानले नाना पाटेकरको छायाँकनको कामलाई पछाडि धकेलिदिएका छन् । फिल्म ‘हाउसफुल ४’ मा अभिनेता अक्षय कुमार, बबी देवल, कृति सेनन र पूजा हेगडे मुख्य भूमिकामा देखिनेछन् । 

तनुश्रीले एक अन्तरवार्तामा भनेकी थिइन, ‘बलिउडमा नाना पाटेकरले महिलामाथि पहिलेदेखि नै दुर्व्यवहार गर्दै आइरहेका छन् । यो कुरा बलिउडमा काम गर्ने अधिकाँशलाई थाहा भएको बताएकी थिइन् । 

तनुश्रीले नाना पाटेकरले आफूमाथि यौन दुव्र्यवहार गर्नुका साथै गुण्डा लगाएर आफुू र आफ्नो परिवारलाई धम्क्याएको आरोप लगाएकी छिन् । 

अहिले बलिउडका कैयौ व्यक्तिहरु तनुश्रीको पक्षमा बोलिरहेका छन् । अभिनेत्री प्रियंका चोपडा, सोनम कपूर, परिणीति चोपडा, ट्वींकल खन्ना, रिचा चड्डा, स्वारा भास्कर र अभिनेता फरहान अख्तर लगायतका कैयौं कलाकारहरु तनुश्रीको साथमा छन् ।  

यसैबीच अभिनेत्री कोयना मित्राले पनि तनुश्रीको समर्थनमा बाेलेकी छिन् ।

उनले भनिन, ‘यो गुण्डागर्दी अब बन्द हुनुपर्छ । बलिउड उद्योगमा पुरुषहरुको मनोमानी रोक्नु जरुरी छ । म न त म्यान हेटर हुँ न म नारीवादी हुँ । तर म लामो समयदेखि यस फिल्म उद्योगमा काम गरिरहेकाले मलाइ थाहा छ यहाँ कसरी काम हुन्छ । पुरुषप्रधान उद्योगमा काम गर्ने अभिनेत्री भएकाले म खुलेर भन्न सक्छु कि यहाँ पुरुषको अधिनमा रहेर काम गर्नुपर्छ ।’

अभिनेत्री कंगना रनावतले पनि तनुश्रीको पक्षमा आफ्नो विचार राखेकी छिन् । उनले भनिन, ‘तनुश्रीमाथि गलत भएको छ, म त्यसविरुद्ध आवाज बुलन्द बनाउनका लागि उनको समर्थन गर्छु । आफूमाथि भएको अत्याचारविरुद्ध खुलेर बोल्न पाउनु उनको अधिकार हो ।’

उनले अगाडि भनिन्, ‘राजापुत्रलाई नाईंको मतलब थाहा हुनुपर्थ्याे । उनलाई यो बताउन जरुरी छ कि मौलिक अधिकार महिला र पुरुष दुवैका लागि बराबर छ । यो गलत गर्ने सबैलाई एउटा पाठ हुनेछ । जुन रुपमा बलात्कार, शोषण र दुर्व्यवहारका खबरहरु हामी दिनानुदिन सुनिरहेका, देखिरहेका छौं, त्यस हिसाबले यी राक्षसहरु मानव भन्न लायक नै छैनन ।’

अहिले एकपछि अर्को गर्दै बलिउडकर्मी तथा मिडियाकर्मीसमेत तनुश्रीको पक्षमा बोलिरहेका छन् । 
 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया