पीपीएलका लागि खेलाडीको अक्सन सम्पन्न, ६ टोलीले किने ६९ खेलाडी

 असोज १४, २०७५ आइतबार १७:६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - आसन्न पोखरा प्रिमियर लिगका लागि खेलाडीको अक्सन सम्पन्न भएको छ । कुल १७८ खेलाडी अक्सनमा सहभागी भएकोमा सहभागी ६ टोलीले ६९ खेलाडी खरिद गरेका छन् ।

आइतबार काठमाडौंमा सम्पन्न अक्सनमार्फत काठमाडौं रोयल्सले १०, चितवन राहिनोजले १०, विराटनगर टाइटन्स १२, बुटवल ब्लास्टर्स १३, पोखरा पल्टन ११ र धनगढी ब्लुजले १३ खेलाडी अनुबन्ध गरेका छन् ।  

अक्सनमा राष्ट्रिय टोलीबाट खेलेका, उमेर समूहको राष्ट्रिय टोलीबाट खेलेका र नखेलेका गरी खेलाडीहरुलाई तीन समूहमा बर्गीकरण गरिएको थियो । सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका २९, उमेर समूहको राष्ट्रिय टोलीबाट खेलेका ५७ र नखेलेका ९२ खेलाडीलाई अक्सनमा समावेश गरिएको थियो ।

खेलाडीहरुको वर्गीकरणअनुसार मूल्य पनि फरक फरक तोकिएको थियो ।

राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीका लागि न्यूनतम ५० देखि अधिकतम २ लाख ५० हजार, उमेर समूहमा राष्ट्रिय टोलीबाट खेलेका खेलाडीका लागि न्यूनतम ५० हजारदेखि अधिकतम १ लाख ५० हजार र नखेलेका खेलाडीहरुका लागि न्यूनतम ३० देखि अधिकतम १ लाखसम्मको बोली लगाउन पाइने ब्यबस्था थियो ।

सहभागी टोलीहरुले अक्सनमार्फत प्रति टिम १० देखि १३ खेलाडी खरिद गर्न पाउने र त्यसका लागि १० देखि १३ लाखसम्म खर्च गर्न पाउने नियम तोकिएको थियो ।

अक्सनमा मुख्यतः राष्ट्रिय टोलीका खेलाडीहरु अनुबन्ध गर्न नै सहभागी टोलीबीचको प्रतिस्पर्धा बढी देखियो । सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीहरु रोहितकुमार पौडेल, अनिलकुमार साह, करण केसी, सागर पुन र आरिफ शेखका लागि एक भन्दा बढी टोलीहरुले अधिकतम बोली लगाउँदा उनीहरुको टिमको छिनाफानो गोलाप्रथाबाट गर्नुपरेको थियो ।

सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीहरुमा सञ्जम रेग्मी र दीपेश श्रेष्ठलाई कुनै क्लबले लिएनन् भने सुरुआती अक्सनमा नलिए पनि भेट्रान बलर शक्ति गौचनलाई चितवन राहिनोजले २ लाख १० हजार न्यूनतम मूल्यमा अनुबन्ध गरेको छ ।

अहिलेसम्म कुनै पनि राष्ट्रिय टोलीबाट नखेलेका ९२ खेलाडीमध्ये अभिनाश बोहोरा र हरि चौहान अधिकतम मूल्य १ लाखमा बिके । उनीहरुलाई एकभन्दा बढी टिमहरुले अधिकतम बोली लगाएपछि गोलाप्रथाबाट टिमको छिनोफानो गरिएको थियो ।

पोखरा प्रिमियर लिग आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरामा हुँदैछ । त्यसका लागि ६ टोलीहरु र त्यसको मार्की खेलाडी यसअघि नै घोषणा गरिएको थियो ।

जसअनुसार काठमाडौंमा ज्ञानेन्द्र मल्ल, चितवनमा पारस खड्का, विराटनगरमा सन्दीप लामिछाने, बुटवलमा सोमपाल कामी, पोखरामा शरद भेषावकर र धनगढीमा दीपेन्द्र सिंह ऐरी मार्की (रणनीतिक खेलाडी) छन् ।

नेपाली खेलाडीहरु अक्सनबाट छिनोफानो भएको छ भने बिदेशी खेलाडीको हकमा सम्बन्धित टिमले नै अनुबन्ध गर्नेछन् । यस प्रतियोगितामा टिमहरुले बढीमा दुई विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन् । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया