विकास बजेटको २० प्रतिशत रोजगारी सिर्जनामा खर्च गर्ने निर्णय गर्छौं : मन्त्री विष्ट

 असोज १४, २०७५ आइतबार १७:६:५९ | उज्यालो सहकर्मी

काठमाडौं – श्रम, रोजागार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले विकास बजेटको २० प्रतिशत रोजगारी सिर्जनामा खर्च गर्ने निर्णय मन्त्री परिषदबाटै पारित गराउने बताउनुभएको छ । 

मन्त्री विष्टले युवालाई रोजगरी सिर्जना गर्न सकिने वातावरणको अध्ययन गरेको समितिले देशभित्रै रोजगारीको पर्याप्त अवसर रहेको प्रतिवेदन बुझाएको भन्दै त्यसका लागि चाहिने नीतिगत निर्णय गर्ने तयारीमा रहेको बताउनुभयो । 

अदक्ष कामदारलाई सीप युक्त बनाएर मात्रै विदेश पठाउने भन्दै मन्त्री विष्टले अदक्ष कामदार नपठाउने बताउनुभयो । कार्यक्रममा सहभागी विभिन्न दलसँग आबद्ध युवा सङ्गठनका प्रतिनिधिले श्रमको सम्मान गर्ने वातावरण बनाउन सरकारलाई सुझाव दिएका छन् । 

वैदेशिक रोजगारीका कारण पछिल्लो समय देशभित्रको श्रमलाई सम्मान नगर्ने परिपाटी बढ्दै गएको भन्दै युवाहरुले श्रमको सम्मान गर्ने वातावरण बनाउन सुझाव दिएका हुन् । प्रधानमन्त्री रोजगार कार्यक्रमका विषयमा आज भएको छलफलमा युवाहरुले प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वय चुनौतीपूर्ण रहेको भन्दै यसमा नीजि क्षेत्रलाई समेत साथमा लिएर अघि बढ्न आग्रह गरे । 

कोष स्थापना गरी रेमिट्यान्सको निश्चित प्रतिशत कोषमा जम्मा गर्न सके त्यसबाट रोजगारी सिर्जनका लागि लगानी गर्न सकिने कार्यक्रमका सहभागीहरुको भनाई थियो । जवाफमा श्रम, रोजागार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आफू देशभित्र पाइने श्रमको सम्मान गर्ने वातावरण बनाउने लागि परेको पनि बताउनुभएको थियो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया