‘जुन सिनेमाले धेरै पैसा बाँडेको हुन्छ मिडियाले त्यसलाई सपोर्ट गर्ने, अरुलाई नगर्ने रहेछन् ’

 असोज १४, २०७५ आइतबार १९:४४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

यो शुक्रबार एक साथ तीनवटा सिनेमा प्रदर्शनमा आए । 

प्रदर्शनमा आएका सिनेमामध्ये अनुराग र कथा काठमाडाैंले औसत कारोबार गरिरहेका छन् । गएको सातादेखि प्रदर्शनमा आएको सिनेमा ईन्टु मिन्टु लण्डनमा केही हलहरुमा दोस्रो साता पनि हाउसफुल रहेको छ । 

यो साता रिलिज भएका सिनेमाको कुरा गर्ने हो भने  छिरिङ अन्य दुइवटा सिनेमाको तुलनामा कारोबारमा पछि परेको छ । 

यो सिनेमाले राम्रो कारोबार नगर्नुमा मिडियाको मुख्य भूमिका रहेको सिनेमाका निर्देशक तथा कलाकार यश कुमारले बताएका छन् । उनले आइतबार गफगाफसँग कुराकानी गर्दै आफूलाई मिडियाको कत्तिपनि सपोर्ट नभएको बताएका छन् । 

खासमा शुक्रबार सिनेमाको प्रिमियर गरिएको थियो । यश कुमारका अनुसार प्रिमियरमा झण्डै २ सय जति मिडियाकर्मीको उपस्थिति थियो । त्यहाँ आएका सबैले सिनेमाको बारेमा सिनेमाका कलाकारहरुसँग बाइट पनि लिए । तर कसैले पनि सार्वजनिक गरिदिएनन् । 

गफगाफ डटकमसँग कुराकानी गर्दै उनले आफूलाई मिडियाको सपोर्ट नभएको गुनासो गरेका छन् । 

उनले भने, ‘मिडियाको पनि गु्रुप हुने रहेछ । जुन सिनेमाले धेरै पैसा बाँडेको हुन्छ त्यसलाई मात्र सपोर्ट गर्ने । हैन भने अरुलाई सपोर्ट नगर्ने रहेछन् ।’ 

मिडियाले प्रचार गरेको खण्डमा मात्रै दर्शक पनि हलसम्म सिनेमा हेर्न आउँछन् । यस हिसाबले छिरिङलाई मिडियाको सपोर्ट नभएका कारण कारोबारमा पछि परेको यश कुमारको भनाई छ । 

अहिलेसम्म सिनेमा हेरेका सबैले सिनेमा राम्रो भएको प्रतिकृया दिएका छन् । यसले भने यश कुमारलाई केही राहत दिएको छ ।

देशभरका ६० वटा हलमा प्रदर्शन सुरु गरेको छिरिङलाई यश कुमारले झण्डै २ करोडको लगानीमा निर्माण गरेका हुन् । 
 
अब यो सिनेमाले नेपालबाट लगानी उठाउन सक्ने सम्भावना कम देखिएको छ । उता विदेशको कुरा गर्ने हो भने पनि नेपालमा राम्रो चलेको सिनेमालाई मात्र विदेशमा माग गरिने गरिएको छ ।
 
यस हिसाबले ‘छिरिङ’ले लगानी उठाउन धौ धौ पर्ने देखिएको छ ।
 
सिनेमालाई दर्शकको खासै साथ नमिलेपछि यश कुमारले नेपालमा राम्रो सिनेमा बनाएर नचल्ने प्रतिकृया दिएका छन् । 

यो सिनेमाले हिमाली प्रदेशको जीवन शैलीलाई देखाएको छ ।  सिनेमामा अमेरिकामा बसेर फर्केर बसेको युवाले गाउँको विकास गर्न चाहन्छ । यहि विषयमा सिनेमा घुमेको छ । यस सिनेमामा यश कुमार, निमा रुम्बा, कामना भुजेलको मुख्य भूमिका रहेको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया