समयमै काम नसक्ने ठेकेदार प्रचण्डकै घरधनी भए पनि छाडिन्न : गृहमन्त्री थापा

 जेठ २३, २०७५ बुधबार १६:०:२६ | उज्यालो सहकर्मी

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले समयमै निर्माण कार्य सम्पन्न नगर्ने ठेकेदार जो कोहीलाई पनि कार्वाही गर्ने चेतावनी दिनुभएको छ । 

बुधबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले राज्यको ढुकुटी दुरुपयोग गर्ने ठेकेदार ठूलै नेता भए पनि नछाड्ने चेतावनी दिनुभएको हो । गृहमन्त्री थापाका अनुसार घरधनी, सांसद वा ठूलै नेता भएपनि समयमै कार्य सम्पन्न नगर्ने ठेकेदार अपराधी हुने भएकाले उनीहरुलाई राज्यले कार्वाही गरेरै छाड्नेछ ।

थापाले सरकारले राज्यको ढुकुटी दुरुपयोग गर्ने, आफ्नो जिम्मेवारी पूरा नगर्ने ठेकेदार पुष्पकमल दाहालकै घरधनी भएपनि नछाड्ने दृढता व्यक्त गर्दै कानून उल्लंघन गर्ने जो कोहीलाई कार्वाही गर्न सरकार बाध्य हुने स्पष्ट पार्नुभयो ।

उहाँले सुन तस्करी नियन्त्रणको कामलाई माछा मार्ने कामको रुपमा चित्रण गर्दै भूरा र मझौला माछा पछि अब ठूलै माछा जालमा पर्ने संम्भावना रहेको पनि बताउनुभयो । सरकारले सुन तस्करीमा संलग्नहरुलाई नियन्त्रणका लिएर कार्वाही गर्ने कामलाई निरन्तरता दिने र तस्करीसम्बन्धी अनुसन्धानका लागि गठित समितिको म्याद थप्ने पनि जानकारी दिनुभयो ।

गृहमन्त्री थापाका अनुसार सरकारले समृद्धि र विकासका लागि बाधक तस्करी, अपराधजन्य गतिविधिलाई निष्तेज पार्न विशेष अभियान नै सञ्चालन गरेको छ । साथै उहाँले आफूले विकास र समृद्धिका लागि अनुकूल वातावरण बनाउन सबै प्रदेशमा सुरक्षा गोष्ठी समेत संचालन गरेको पनि स्मरण गराउनुभयो । 

भिडियाे हेर्नुहाेस्

 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया