जनकपुर अञ्चल अस्पतालको सम्पूर्ण विवरण २४ घण्टाभित्र उपलब्ध गराउन मुख्यमन्त्रीको निर्देशन

 असोज १५, २०७५ सोमबार १३:१३:३३ | शैलेन्द्र महतो
unn.prixa.net

मुख्यमन्त्री लालबाबु राउतले जनकपुर अञ्चल अस्पतालको सम्पूर्ण विवरण २४ घण्टाभित्र प्रदेश सरकारलाई उपलब्ध गराउन निर्देशन दिनुभएको छ ।

अस्पताल सम्बन्धमा विभिन्न गुनासोहरु आउन थालेपछि आकस्मिक निरीक्षण गर्न पुग्नु भएको मुख्यमन्त्री राउतसहितको टोलीले निरीक्षण गर्दै अस्पतालको दरबन्दी, अहिले कार्यरत चिकित्सक तथा कर्मचारीहरुको विवरणसहितको विवरण २४ घण्टा भित्र उपलब्ध गराउन निर्देशन दिनुभएको हो ।

मुख्यमन्त्री राउतले अस्पताल विकास समिति विघटन भई अञ्चल अस्पताल प्रदेश सरकार मातहत आई सकेको अवस्थामा कर्मचारी र अस्पताल व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारको रहेको बताउनुभयो ।

उहाँले विकास समितिमा लामो समयदेखि कार्यगर्दै आएको कर्मचारीलाई व्यवस्थापन गर्ने दायित्व अब प्रदेश सरकारको रहेको उल्लेख गर्नु हुँदै विकास समितिको नाउमा भएको अनियमित भर्नालाई स्वीकार्य गर्न नसकिने समेत बताउनु भयो ।

जनकपुर अञ्चल अस्पताललाई प्रदेशको केन्द्रीय अस्पतालमा मात्र नभई शिक्षण अस्पतालकै रुपमा विकास गर्ने प्रदेश सरकारको रहेको उहाँले उल्लेख गर्नुभयो ।

निरीक्षण टोलीमा समाजिक मन्त्री नवल किशोर साह, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका निमित्त मुख्य सचिव हरिप्रसाद फुयाँलसहितको सहभागिता रहेको थियो ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया