‘संसार उज्यालो पार्न आँखाको ज्योति चाहिँदैन’

 असोज १५, २०७५ सोमबार १३:३७:५० | निर्मला खडायत
unn.prixa.net

आफू सधैं अँध्यारोमा रहेर धेरै बालबालिकाहरुलाई शिक्षाको उज्यालो ज्योति बाँडिरहनुभएको छ, रुपा राईले । ७ वर्षको कलिलै उमेरमा आँखाको ज्योति गुम्यो, तर उहाँले साहस गुमाउनुभएन । उहाँ दृष्टिविहीन भएको ४५ वर्ष भैसक्यो । तर उहाँले कहिल्यै आफूलाई अरुभन्दा कमजोर महसुस गर्नु भएन । 

वि.सं. २०२४ सालमा बुवा बमबहादुर राई र आमा इच्छामाया राईको कोखबाट जन्म लिनुभएकी रुपा राईको जन्मथलो मलेसिया भए पनि कर्मथलो नेपाल बन्यो । ६ वर्षको उमेरमा पूख्र्यौली घर भोजपुरको ठूलो दुम्बामा आएपछि उहाँलाई एक्कासी आँखामा समस्या आयो । ७ वर्षको उमेरदेखि अलिअलि आँखाले देख्न छाड्यो । १२ वर्ष पुगेपछि आँखाको ज्योति पूर्ण रुपमा गुम्यो । ‘धानको भुस आँखामा जाने निहुँले म पूर्णरुपमा दृष्टिविहीन बन्न पुगें’ उहाँले भन्नुभयो ।

दृष्टिविहीन हुँदा उहाँ स्कुल जान सुरु गरिसक्नु भएको थिएन । दुई भाइ र दुई दिदी पछिकी रुपालाई दृष्टिविहीन भएकै कारण आमाले विद्यालय पठाउन खोज्नु भएन । जसले रुपाको भागको सम्पत्ति खान्छ, उसैले उनको हेरविचार गर्ने भन्ने कुरो गर्नुभयो । तर रुपाको मनमा भने पढ्ने दृढ इच्छाशक्ति थियो । उहाँले आमाबुवासँग आफूलाई स्कुल भर्ना गरिदिन निकै ढिपी गर्नुभयो ।  

‘बुवाले मेरो आँखाको उपचारका लागि देश विदेश धाउनुभयो, तर कतैबाट केही लागेन’ उहाँले भन्नुभयो । बुवाकै एकजना साथी दार्जिलिङमा दृष्टिविहीनहरुलाई पढाउने विद्यालयको प्रधानाध्यापक हुनुहुथ्यो । ‘उहाँको अनुरोधपछि मैले पढ्नका लागि अवसर पाएँ’ उहाँले भन्नुभयो ।

सात कक्षासम्म दृष्टिविहीन बालबालिकाहरुले पढ्ने विद्यालयसम्म पढेकी उहाँ त्यसपछि भने साधारण विद्यालयमा भर्ना हुनुभयो । उहाँले भन्नुभयो, ‘म सानैदेखि पढ्नमा ट्यालेन्ट थिएँ । त्यसैले सबैले मलाई माया गरे । कहिलेकाहीँ त साथीहरुबीच नै मनमुटाव हुन्थ्यो मलाई सँगै बसाउनका लागि ।’

‘मेरो विद्यार्थी जीवन रमाइलो रह्यो । गुलाबी रंगको स्कर्ट, सेतो रंगको सर्ट, पहेलो रंगको रिबन, पहेलै रंगको स्विटर, निलो मोजा, कालो जुत्ता, चट्ट परेर कालो फित्ता भएको घडी , आहा !  आफूलाई आफैंले निकै स्मार्ट मान्थें म त्योबेला ।’

उहाँले थप्नुभयो, ‘मेरो विद्यार्थी जीवन रमाइलो रह्यो । गुलाबी रंगको स्कर्ट, सेतो रंगको सर्ट, पहेलो रंगको रिबन, पहेलै रंगको स्विटर, निलो मोजा, कालो जुत्ता, चट्ट परेर कालो फित्ता भएको घडी , आहा !  आफूलाई आफैंले निकै स्मार्ट मान्थें म त्योबेला ।’

बाल्यकालका सम्झना कसले पो बिर्सन सक्छ र ? उहाँले पनि एकफेर आफ्नो बाल्यकाल स्मरण गर्नुभयो । १२ वर्षको अल्लारे उमेरसँगैको ‘चार्मिङ फेस’, अनि दुई चुल्ठी, ती दुई चुल्ठीमा सुन्दर गुलाबको फूल सिउरेर विद्यालय गएको रमाइलो सम्झना अझै ताजा रहेको उहाँ बताउनुहुन्छ । ‘त्यो बेला म आफ्नो अनुहार हेरेर आफैं दंग पर्थें’ उहाँ हाँस्नुभयो ।

सात वर्षको उमेरमा अलिअलि आँखाको ज्योति गुमाउन पुगेकी रुपा राई १२ वर्षको उमेरमा पूर्ण दृष्टिविहीन हुनुभयो ।

धरानको महेन्द्ररत्न क्याम्पसबाट प्रमाणपत्र तह पास गरिसकेपछि रुपाले पढाइलाई विश्राम दिनुभयो । र अपांगतासम्बन्धी विभिन्न संघसंस्थामा आवद्ध हुनुभयो । त्यहीबेला उहाँ सेमिनार र गोष्ठीका लागि देश विदेश पुग्नुभयो ।

पछि उहाँ महेन्द्ररत्न क्याम्पस काठमाडौंमा भर्ना हुनुभयो । उहाँलाई पीएचडी गर्ने तीव्र इच्छा थियो । त्यसलाई पूरा गरेरै छोड्नुभयो ।

२०४२ सालदेखि राहत दरबन्दीमा पढाउन सुरु गरेकी रुपा राई अहिले कैलालीको धनगढीस्थित पञ्चोदय माध्यमिक विद्यालयको स्थायी शिक्षक भएर अध्यापन गराइरहनुभएको छ । उहाँले पढाउन थालेको ३० वर्ष भन्दा बढी भैसक्यो ।

उहाँ बिहानै पाँच बजे उठ्नुहुन्छ । बिहान ६ बजेदेखि दिउँसो ११ बजेसम्म विद्यालय धाउनुहुन्छ । त्यस बाहेकको समय पनि उहाँ खाली बस्नुहुन्न । उहाँ राष्ट्रिय अपांगता महासंघ प्रदेश ७ को अध्यक्ष हुनुहुन्छ । अपांगता र दृष्टिविहीनसम्बन्धी काम गर्ने संघसंस्थाको काममा व्यस्त हुनुहुन्छ ।

धेरैले आँखाको ज्योतिलाई जीवनको अस्तित्वसँग दाँज्छन् । हुन पनि आँखा नहुँदा संसार नै अन्धकारजस्तो लाग्छ । तर उहाँले जीवनमा कहिल्यै आफूलाई दृष्टिविहीन भएको आभाष नभएको बताउनुभयो । अपांगता भएका अरुलाई पनि हरेश नखान उत्प्रेरणा दिनुहुन्छ ।

उहाँ पढ्न र अरुलाई सिकाउन तथा उत्प्रेरणा दिन मात्र होइन, मिठो आवाजकी पनि धनी पनि हुनुहुन्छ । साहित्यतिर पनि उहाँको रुची छ । उहाँले आफ्नै शब्दमा ‘सम्झौताको डुङ्गा भित्र’ नामक आधुनिक गीति एल्बम निकाल्नुभएको छ ।

उहाँले आफैँले कोरेका शब्दहरु सुनाउन थाल्नुभयो, उहाँले भन्नुभयो, ‘म कल्पनामा रमेर शब्द कोर्दिन, वास्तविकतामा डुबेर शब्द कोर्छु । कहिलेकाहीँ मनको बह पोख्ने ठाउँ नभएपछि यी शब्दहरुलाई पीडा बिसाउने चौतारी सम्झिन्छु ।’

सम्झौताको डुङ्गा भित्र एक्लै एक्लै डुबेछु
तराजुको जोखाइहरुमा कठै आफूलाई नै भुल्न पुगेछु ।। 
फर्केर नआइदेउ ए अतित दुखेर आउँछ
जे हुनु भैगो सारा सम्झेर कहाली लाग्छ । 
अरुको भन्दा किन तिम्रै धेरै माया लाग्यो
सपनीमा देख्छु फेरि पनि झनै उनको माया लाग्यो ।।

उहाँले भन्नुभयो, “मैले गीति एल्बम निकालेर बाँच्न खोजेकी होइन । तर भावी पिढीलाई मेरो बारेमा सुनेर गर्व होस् भनेर आफ्ना प्रतिभाहरु जोगाएर राख्न खोजेकी मात्रै हुँ । मैले अहिलेसम्म आफूलाई दृष्टिविहीन भएको महसुस गर्न पाइनँ । प्रविधिले सबै कुरा दिएको छ । सफल हुन साङ्ग हुनैपर्छ भन्ने छैन । मानिससँग लगनशील, धैर्यता र दृढ इच्छाशक्ति हुन जरुरी छ ।’ 

तर जीवनमा उहाँलाई सधैं दुईवटा कुराले बिझाइरहन्छन । एउटा भनेको बेला आफूलाई चाहिएको किताब पढ्न पाईंदैन । अनि दोस्रोचाहिँ उहाँले एउटा घटना सुनाउनुभयो । ‘एकदिन म अस्पताल गएकी थिएँ, दुई जना बृद्ध मान्छे मेरो छेउ बसेका थिए । उनीहरुले साथमा एउटा पर्चा बोकेका थिए । मलाई पर्चा हेरेर यो औषधी कहाँ पाइने रहेछ भनेर सोधे । उहाँहरुलाई थाहा थिएन म दृष्टिविहीन हो भनेर । त्यतिबेला उहाँहरुलाई सहयोग गर्न नपाएपछि मन खल्लो भयो ।’

उहाँ भन्नुहुन्छ, ‘जब एक मान्छे अर्को मान्छेको काम लाग्दैन, तब उ जिउनुको अर्थ हुँदैन ।’ त्यसैले उहाँ अरुको सेवा र साङ्ग बालबालिकाहरुलाई शिक्षाको उज्यालो ज्योति छर्दैमा व्यस्त हुनुहुन्छ । 

                      
 

अन्तिम अपडेट: चैत २३, २०८०

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया